• १२ मंसिर २०८१, बुधबार

दैनिक चौध घण्टा लोडसेडिङ

blog

हुम्ला समाचारदाता

हुम्ला, फागुन ७ गते । हिल्दुम विद्युत् वितरण केन्द्रले सदरमुकाम सिमकोटमा दैनिक १४ घण्टा लोडसेडिङ गरेको छ । विद्युत्का लागि आवश्यक पर्ने पानीको स्रोत कम भएको हुँदा लोडसेडिङ अवधि बढाइएको जनाइएको छ ।

विद्युत् वितरण केन्द्रका प्रमुख शङ्करप्रसाद हमलाले पानीको स्रोत कमी भएका कारण विद्युत् उत्पादन कम भएपछि लोडसेडिङ तालिका बढाएर दैनिक १४ घण्टासम्म पुगेको बताउनुभयो । सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको केन्द्रले हाल दैनिक १४ घण्टासम लोडसेडिङ गरेको छ । केही दिनअघिसम्म दैनिक चारबाट बढाएर आठ घण्टा लोडसेडिङ गरेको थियो । 

उहाँले पहिलेको हिउँ पग्लिसकेको, केही दिनअघि परेको हिउँ पनि धेरै नभएको र त्यो पनि बिलाइसकेका कारण आवश्यक पानीको स्रोत कम भएको बताउनुभयो । माघ लागेसँगै ९० किलोवाट विद्युत् उत्पादन हुने गरेको छ । पाँच सय किलोवाट उत्पादन क्षमता भएको केन्द्रमा हाल सामान्य र पिक हावरमा एक सयदेखि १२० किलोवाटसम्म विद्युत् उत्पादन हुने गरेको जनाइएको छ । जबकि हाल सिमकोटमा एक मेगावाटभन्दा बढी विद्युत्को माग रहेको छ । 

लोडसेडिङ बढेपछि फर्निचर उद्योग बन्द भएका छन् । सेवाग्राहीले इलेक्ट्रोनिक्सका सामान प्रयोग गर्न छोडेका छन् । बिहान र बेलुकाको समयमा विद्युत् आपूर्ति नहुने भएपछि सेवाग्राहीले दाउरा खपत बढाएका छन् । लोडसेडिङबाट तीन हजारभन्दा बढी सेवाग्राही समस्यामा परेको जनाइएको छ ।