रमेश विश्वकर्मा
गुल्मी, वैशाख १५ गते । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार लागेको बताउनुभएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति पालिका एवम् पूर्णखोप दीगोपना पालिका घोषणा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
आमनागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचमा ल्याउन लुम्बिनी प्रदेश सरकार ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारासहित अगाडि बढेको स्वास्थ्य मन्त्री सारुले बताउनुभयो । स्वास्थ्य प्रदायक संस्थाहरूबाट गुणस्तरीय सेवा प्रवाह गर्नका लागि सबै लाग्न जरुरी रहेको भन्दै उहाँले स्वास्थ्य सेवालाई नागरिकको पहुँच ल्याउन स्वास्थ्यकर्मी सबै लाग्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनका लुम्बिनी प्रदेश सरकारले विशेष जोड दिएको उहाँको भनाइ छ । लुम्बिनी प्रदेश सरकारले पूर्ण संस्थागत प्रसूति सेवा मापदण्ड–२०८० जारी गरेको छ । सोही अनुसार अहिले लुम्बिनी प्रदेशका स्थानीय तहलाई पूर्ण संस्थागत प्रसूति पालिकासँगै पूर्णखोप सुनिश्चितता र दीगोपना घोषणा कार्यक्रम अगाडि बढाइएको छ ।
लुम्बिनी प्रदेशका १०९ वटा स्थानीय तहमध्ये हालसम्म २० वटा स्थानीय तहको पूर्ण संस्थागत प्रसूति पालिका घोषणा गरिएको उहाँले बताउनुभयो । “धेरै अस्पतालहरू स्थानीय सरकारअन्तर्गत रहेका छन् ।,” उहाँले भन्नुभयो, “अस्पताल सञ्चालनका लागि वार्षिक करिब पाँच करोडभन्दा बढी खर्च लाग्ने भएकोले सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वय र सहकार्य जरुरी छ ।”
स्थानीय तहमा बनेका अस्पतालहरूलाई व्यवस्थित गर्न लुम्बिनी प्रदेश सरकार लागेको भन्दै मन्त्री सारुले दुर्गम र ग्रामीण भेगका स्वास्थ्य संस्थालाई व्यवस्थित गर्न अहिलेको आवश्यकता रहेको बताउनुभयो । त्यस्तै, स्वास्थ्य बिमा आमनागरिकको हितमा रहेको भन्दै उहाँले यसलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । सुशासन, जवाफदेहिता र भ्रष्टाचार न्यूनीकरणसँगै गुणस्तरीय सेवा प्रवाहमा सबैले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
त्यस अवसरमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले स्वास्थ्य क्षेत्रलाई तिनै तहका सरकारले निकै महत्त्वका साथ हेर्नुपर्ने बताउनुभयो । आम नागरिकले पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्न जरुरी रहेको भन्दै उहाँले खानपिनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । स्वास्थ्यका क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्छ । पालिकालाई पूर्ण संस्थागत प्रसूति र पूर्णखोपलाई दीगोपना बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।