• १२ जेठ २०८२, सोमबार

कालिगण्डकीमा पुल निर्माण अघि बढेन

blog

कालिगण्डकी नदीमा निर्माण गरिएको मोटरेबल पुल साँघुरो भएकाले गाडी वारपार गर्न समस्या भएको छ । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, वैशाख १६ गते । कालिगण्डकी नदीमा पुल निर्माण प्रक्रिया रोकिएको छ । अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरेपछि राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोर सडकमा पर्ने म्याग्दीको सदरमुकाम बेनी र पर्वत जोड्ने कालिगण्डकी नदीमा पुल निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । 

कालिगण्डकी कोरिडोर सडक आयोजनाले पुल निर्माणका लागि डिजाइन स्टिमेट तयार पारी करिब २४ करोड रुपियाँ बराबर लागत अनुमान गरी स्रोत सुनिश्चितका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत अर्थमन्त्रालयमा योजना लगेको थियो । तर अर्थ मन्त्रालयले सहमति नदिएपछि पुल निर्माणको प्रक्रिया अघि बढाउन नसकिएको कालिगण्डकी कोरिडोर सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईले बताउनुभयो ।  

करिब दुई दशक अघि बेनी नगरपालिका ८ कालिपुल स्थित कालिगण्डकी नदीमाथि फुटपाथसहित ६ मिटर चौढाई र ७६.४ मिटर लामो पक्की मोटरेबल पुल निर्माण गरिएको थियो । 

राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजना विस्तारसँगै उक्त पुलले बढ्दो सवारीचापलाई धान्न सकिरहेको छैन । मुस्ताङ जाने पर्यटकको संख्यामा वृद्धि भएसँगै दैनिक रुपमा सयौंको संख्यामा सवारीसाधनले उक्त पुल वारपार गर्दछन् । साना गाडीहरु मुस्किलले दोहोरो रुपमा वारपार गर्न मिलेपनि ठूला सवारी साधनले भने पुल वारपार गर्न पालो पर्खिनुपर्ने समस्या छ  । 

तत्कालिन समयमा पुल निर्माण गर्दा ध्यान नदिएकाले यो समस्या आएको कालिगण्डकी कोरिडोर सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी  चापागाईले बताउनुभयो। कालिगण्डकी नदीमा नयाँ पुलको आवश्यकता महशुष गरेर आयोजनाले पुल निर्माणको प्रस्ताव गरेको उहाँको भनाइ छ । 

"मुस्ताङ भ्रमणमा जाने पर्यटकको संख्यामा वृद्धि भएसँगै पछिल्लो समय सडकमा सवारीसाधनको चाप बढ्दो छ, यो पुलले सवारीसाधनको चापलाई थेग्न सक्दैन", उहाँले भन्नुभयो, "आयोजनाले यसै स्थानमा नयाँ पुल निर्माणका लागि डिजाइन स्टिमेट तयार गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा स्रोत सुनिश्चितका लागि पठाएपनि चालु आ.व. मा अर्थबाट स्रोत सुनिश्चित नभएपछि पुल निर्माणको प्रक्रिया अगाडी बढाउन सकिएन ।"

नयाँ बन्ने पुल ११ मिटर चौढाई, ८० मिटर लामो र फुटपाथ सहित डबल लेन हुने डिजाइन गरिएको उहाँले बताउनुभयो । कालिगण्डकी कोरिडोर सडक म्याग्दी हुँदै मुस्ताङको कोरला नाका सम्म विस्तार भएको सँगै पछिल्लो समय सडकमा सवारी चाप अत्यन्तै वृद्धी हुनु र मुस्ताङ हुँदै डोल्पा सडक विस्तार भएकाले अहिलेको पुलको विकल्पमा नयाँ पुल निर्माण गर्नुपर्ने आवश्यकता भएको आयोजनाका इन्जिनियर चापागाईंले बताउनुभयो ।