• १६ वैशाख २०८२, मङ्गलबार

सरकारले शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाओस् : सांसद खतिवडा

blog

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख १६ गते । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रूपमा व्यवस्थापन नगरी विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले शिक्षकहरू कांग्रेस, एमाले र माओवादीका मात्र नभई समग्र देशका भएको उल्लेख उहाँले शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भीर हुन जरुरी रहेको बताउनुभयो । उहाँले शिक्षकहरूका जायज माग सम्बोधन गर्ने विषयमा नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले संसदमा जवाफ दिने वातारण बनाउनुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘‘शिक्षक नेपाली कांग्रेस, एमाले र माओवादीका मात्र होइनन् सम्पूर्ण देशका हुन् र सबैलाई पढाउने शिक्षक हुन् । उहाँहरूलाई दिनैपिच्छे बानेश्वरको किनारमा जुलुस निकाल्ने, पानीको फोहोरा खुवाउने र गीत गाउने रूपमा व्यवस्थापन नगरियोस् । तुरुन्त विद्यालयमा पठाउने व्यवस्था गरियोस् । उहाँका मागहरू सम्बोधन गर्नतिर सरकार लागाेस् र नवनियुक्त शिक्षामन्त्रीले यहाँ आएर त्यसको जवाफ दिने वातावरण सिर्जना होस् ।’’

उहाँले गभर्नर नियुक्त नभएर अर्थतन्त्रमा परेको असरबारे व्याख्या गर्नै नसक्ने स्थिति सिर्जना भएको बताउनुभयो । उहाँले सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेर गभर्नर नियुक्त गर्नुपर्ने बताउनुभयो ।