• १३ साउन २०८१, आइतबार

जनकपुर प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा

blog

जनकपुर प्रादेशिक अस्पताल । फाइल तस्बिर

गोदार (धनुषा), फागुन ५ गते । मुख्यमन्त्री सरोजकुमार यादवले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको जनकपुर प्रादेशिक अस्पतालमा जडान गरिएको क्याथ ल्याबको आज उद्घाटन गर्नुभएको छ ।

मुटु रोगको उपचारका लागि अत्यावश्यक मानिएको क्याथ ल्याबको स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवका अवसर पारेर मुख्यमन्त्री यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रकुमार सिंहले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार विकासमा मधेस प्रदेशले फड्को मारेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले दक्ष जनशक्तिको व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

स्वास्थ्यमन्त्री सिंहले मुटु रोगको विशिष्टीकृत उपचारका लागि थप विशेषज्ञ व्यवस्था गर्न प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिनुभयो । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.अङ्कुर साहले क्याथ ल्याब सञ्चालनमा आएपछि मुटु रोगीहरूलाई उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । मधेस प्रदेशमा सरकारीस्तरमा पहिलो क्याथ ल्याब सञ्चालनमा आएको हो । रासस