• ८ असार २०८२, आइतबार

अर्गानिक आँप बिक्री गरेर लाखौं आम्दानी

blog

रूखबाट झारेको आँप टिप्दै मजदुर महिलाहरू । तस्बिरः सुधा देव

सुधा देव

भारदह (सप्तरी), असार ८ गते । सप्तरीको कञ्चनरूप नगरपालिका–१२ रूपनगर, बस्तीपुरका कृषकहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरी बिक्री गरेर लाखौं रुपियाँको आम्दानी गर्न सफल भएका छन् ।  

स्थानीय युवाहरूले उपभोक्ताको स्वास्थ्यको ख्याल गरेर २०७९ सालमा बस्तीपुर म्याङो फार्मिङ एग्रिकल्चर प्रालि सञ्चालन गरेर बिषादीरहित अर्गानिक आँपको खेती गर्न थालेपछि यहाँको आँपको माँग बढेको हो । 

काठमाडौ, झापा, विराटनगर, गाईघाट, धरानलगायत मुलुकको विभिन्न ठाउँबाट उपभोक्ताहरू आँप किन्न आउने गरेको प्रालिका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँलगायत पूर्वको अधिकांश भाटभटेनीमा हाम्रो आँप जाने गरेको छ ।” 


हाम्रो समितिमा भएकाहरूको आफ्नै २० बिघा र अर्काको २० बिघा क्षेत्रफलमा आँपको बगैँचा रहेको र लिजमा लिएर ४० विघामा आँप उत्पादन गरेर बिक्री सुरू गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुुभयो, “बिषादीरहित अर्गानिक आँप उत्पादन गरेर उपभोक्तालाई आँप दिन पाउँदा र भनेजस्तो आम्दानी हुँदै आएकाले हामी सन्तुष्ट छौं ।”

आँपको सिजनमा बजारमा विषादीयुक्त आँपका कारण सर्वसाधारणको स्वास्थ्यमा नराम्ररी असर परिरहेका बेला अर्गानिक आँप उत्पादन हुन थालेपछि बगैँचामै आँप किन्न आउनेको भिड लाग्दै आएको उहाँले बताउनुभयो । 

गत वर्ष ८० लाखको आँप बिक्री भए पनि यस वर्ष करिब १ करोडको आँप बिक्री गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । दैनिक बगैँचाबाट तीन सयदेखि पाँच सय टन आँप बिक्री हुँदै आएको उहाँले बताउनुभयो ।

आँपको राजधानीको रूपमा सप्तरी जिल्ला प्रख्यात मानिन्छ । जिल्लामा सबैभन्दा बढी रूपनगरमा आँप उत्पादन हुँदै आएको छ । यहाँ करिब पाँच सय बिघा आँप उत्पादन हुँदै आएको स्थानीयको भनाइ छ ।

 वैशाखदेखि आठ जना बगैँचा रूँगने कामदारलाई मासिक आठ हजारदेखि अठार हजारसम्म मासिक तलब दिएर राख्दैआएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वैशाखदेखि साउन दोस्रो हप्तासम्म बगैँचामा काम गर्ने मजदुरलाई एघार लाख ज्याला मात्र दिँदै आएको छु ।”

आँप तौल गर्ने प्याकिङ गर्ने लोड गर्ने ६ जना भारतीय मजदुरले मात्र मासिक १५ देखि २० हजार भारू रुपियाँ तलब लिँदै आएको छ । जेठ अन्तिम हप्तादेखि साउन पहिलो हप्तासम्म दैनिक आँप टिप्ने र बटुल्ने मजदुरमात्र सोह्रदेखि २८ जना मजदुरले दैनिक खाना र खाजासहित जनही ६ सय लिँदै आएका छन् ।“

बगैचामा माल्दह, बम्बै, दसहरी, अम्रपाली, सिपी, कलकतिया, कृष्णभोग लगायतको आँप भए पनि माल्दह आँपको सबैभन्दा बढी माग रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।


पाकेको आँपमात्र बेच्नुभन्दा आँपको रूखबाट झर्ने टिकुला र पाकेर आफै झर्ने आँपबाट कसरी प्रोडक्ट तयार गरेर बजारीकरण गर्ने तयारीमा प्रालि लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रो आँप त सबैले किन्छ । खेर जाने आँपको प्रोडक्ट तयार गर्न सक्यो भने सबैखाले आँपको सदुपयोग हुन्छ र आम्दानी पनि राम्रो हुन्छ ।”

आँप किन्न बगैँचामा आउनुभएका सुनसरी इटहरी नगरपालिका–१२ का ६८ वर्षिय रामप्रसाद अर्यालले विषादी भएको आँप बजारमा छ्यापछ्याप्ती भए पनि विषादी प्रयोग नभएको स्वास्थ्यकर आँप किन्न आएको बताउनुभयो ।