राजन रावत
हुम्ला, फागुन ५ गते । विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो कपडा सहयोग गरिएको छ । चिसोबाट बचाउनका लागि आर्थिक स्रोत न्यून भएका ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरिएको हो । गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सो सहयोगमा प्रदान गरिएको हो ।
सिमकोट गाउँपालिका–८ का वडा अध्यक्ष कमल बुढाका अनुसार वडाका पाँच जना आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकलाई न्यानो कपडा सहयोग गरिएको छ । वडाका खोल्सी, स्याँडा, साँता र याङ्गु गाउँका छनोट गरिएका ज्येष्ठ नागरिकलाई न्यानो कपडा सहयोग गरिएको हो ।
गाउँपालिका महिला तथा बालबालिका शाखाका कर्मचारी निमा लामाले सात वटा वडाका प्रति वडा पाँच जना र वडा नम्बर ७ बाट छ जनाका दरले ४१ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा सहयोग गर्ने कार्य भएको बताउनुभयो । न्यानो कपडा पाउनेमा ७० वर्षभन्दा माथिका ४१ जना नागरिक रहेका छन् ।