• १६ वैशाख २०८२, मङ्गलबार

‘एक वडा एक पक्की सडक’ अभियान

blog

दोलखा समाचारदाता

दोलखा, फागुन ५ गते  ।  दोलखाको वैतेश्वर गाउँपालिकाको ‘एक वडा एक पक्की सडक’ निर्माण अभियान अन्तर्गत चौथो वर्ष आर्थिक वर्ष २०८०/८१ को बजेटबाट बुस्ती–पुतलीकाठ मिर्गे सडकखण्डको थुम्कीमा एक किलोमिटर ७० मिटर सडक ढलान निर्माण भएको छ । 

वडा नम्बर २ गैरीमुदी र वडा नम्बर ३ मिर्गेलाई सदरमुकाम चरीकोटसम्म जोड्ने मुख्य ग्रामीण सडकका रूपमा रहेको यस सडकखण्डमा गाउँपालिकाले आफ्नै लगानीमा थप सडक ढलान सम्पन्न गरेको हो । गाउँपालिकाले यस आवमा सङ्घ र प्रदेश सरकारले समपूरक अनुदान उपलब्ध नगराएका कारण आफ्नै आन्तरिक स्रोत दुई करोड रुपियाँ बजेटबाट यो सडक ढलान गरेको गाउँपालिकाका अध्यक्ष छवि लामाले बताउनुभयो ।

पालिकाले अभियान अन्तर्गत आफ्नै स्रोतमा जोरमाने खण्डमा थप १२ सय १० मिटर सडक ढलान गर्न दुई करोड रुपियाँ पालिकाबाटै विनियोजन गरेर टेन्डरमार्फत ढलान सुरु गरेको छ । यो सडकमा हालसम्म करिब साढे चार किलोमिटर सडक ढलान गरिसकिएको छ । थप १२ सय मिटर सडक ढलान गर्दा अब साढे पाँच किलोमिटर सडक निर्माण पूरा हुने पालिकाले जनाएको छ । 

सदरमुकाम चरीकोटदेखि गाउँपालिका जोड्ने सबैभन्दा छोटो सडक नाम्दु–पाँडुडाँडाको स्तरोन्नति यस आवमा करिब सक्ने गरी गाउँपालिकाले ठेक्कामार्फत ढलान गर्न लागेको छ । यो सडक ढलान गर्न सङ्घीय सरकारको ७५ लाख अनुदानमा थप गरी एक करोड २५ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । यो आवमा यस सडकखण्डमा १२ सय ६० मिटर सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भइसकेको वैतेश्वर गाउँपालिकाका प्राविधिक प्रमुख इन्जिनियर युधिष्ठिर केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार यस आवमा गाउँपालिकाको केन्द्रनजिक ढलान आइपुग्ने गरी सडक ढलान गर्न ठेक्का सम्झौता भएको हो । तीन वटा मुख्य ग्रामीण सडक स्तरोन्नति गर्न प्रदेश तथा सङ्घीय सरकारले उपलब्ध गराएको ५० प्रतिशत अनुदानलाई चालु आवमा रोकेपछि गाउँपालिकाले आफ्नै स्रोतबाट साना टुव्रmे योजनालाई रोकेर तीन वटै सडक बुस्ती–पुतलीकाठ, गोपी–जोरमाने र मैनापोखरी–क्षेत्रपा सडक स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिएको अध्यक्ष लामाले जानकारी दिनुभयो । 

गत चार वर्षअघिबाट ढलान सुरु गरिएको यो सडकखण्डमा हालसम्म करिब पाँच किलोमिटर सडक स्तरोन्नति भइसकेको छ । हालसम्म वडा नम्बर ६ को बुस्ती हुँदै पुतलीकाठसम्म करिब पाँच किलोमिटर पिच तथा ढलान गरिएको छ । यस आवमा दुई करोड रुपियाँको ठेक्का लगाएर थुम्की गोलाइदेखि गौरीशङ्कर आधारभूत विद्यालय घोरेढुङ्गासम्म एक किलोमिटर ७० मिटर सडक ढलान भएको छ । वडा नम्बर ३, ४ र ५ को मुख्य सडक मैनापोखरी ज्यामिरे–बगरमजुवा सडकखण्डमा यस आवमा थप ७८० मिटर सडक ढलान सम्पन्न गरिने छ । ज्यामिरेदेखि बगर सडकखण्डमा ५५२ मिटर सडक ढलान सकिएको छ भने बाँकी २३५ मिटर सडक ढलान थालिएको छ । 

गाउँपालिकाका मुख्य व्यापारिक केन्द्र र स्वास्थ्य क्षेत्रलाई जोड्ने मैनापोखरी–अस्पताल–गाउँपालिका सडकको ढलान भएसँगै बजारदेखि करिब तीन किलोमिटर दुरीमा रहेको अस्पताल पुग्न सहज भएको छ । गत आवको प्रदेश सरकारको अनुदान तथा गाउँपालिकाको यस आवको बजेटमार्फत अस्पतालको गेटसम्म पक्की सडक निर्माण गरिएको छ । पालिकाले थप ७५५ मिटर सडक ढलान गरेपछि अस्पताललाई पक्की सडकले छोएको हो । मैनापोखरी र वडा नम्बर ८ को क्षेत्रपा हुँदै छिमेकी गौरीशङ्कर गाउँपालिकालाई जोड्ने मैनापोखरी–क्षेत्रपा सडक ढलान गर्न दुई करोड रुपियाँको टेन्डर आह्वान गरिएको छ । यो सडकलाई पालिकाकै महत्त्वपूर्ण कृषि सडकका रूपमा स्तरोन्नति गर्न लागिएको हो । यो आवमा यस सडकखण्डमा सात सय मिटर सडक ढलान हुने छ ।