• १२ साउन २०८१, शनिबार

विद्यार्थीलाई आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना

blog

जगत ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई आत्महत्या न्यूनीकरणका विषयमा सचेतनामूलक प्रशिक्षण दिनुहुँदै प्रसनि हिकमतबहादुर रेग्मी । तस्बिर : गजेन्द्र गुरुङ

खजुरा, माघ ४ गते । पछिल्लो समय आत्महत्याको सङ्ख्या बढ्दो रूपमा रहेको तथ्याङ्कले देखाएको छ । यसको न्यूनीकरणका लागि सम्बन्धित निकायहरूले पहल सुरु गर्नु पर्ने देखिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले विद्यालयका विद्यार्थीहरूलाई आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रमका साथै प्रशिक्षण कक्षा सञ्चालन गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ स्थित श्री जगत ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई बिहीबार आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना प्रदान गर्नुका साथै प्रशिक्षण कक्षा सञ्चालन गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरी बहादुर बिसीले जानकारी दिनुभयो ।

सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको सहकार्यमा उक्त विद्यालयका विद्यार्थी, कर्मचारी तथा शिक्षक शिक्षिकालाई वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक हिकमतबहादुर रेग्मीले आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिनुभएको उहाँले बताउनुभयो ।

डिप्रेसन, घरेलु हिंसा, व्यक्तिको मानसिकता, सामाजिक, आर्थिक तथा व्यक्तिगत लगायतका विभिन्न कारणबाट मानिसले आत्महत्याको बाटो रोज्ने गरेको पाइएकाले आत्महत्या रोकथामका लागि कारणहरू पहिचान गरी सम्बन्धित सरोकारवाला निकायले समयमै प्रभावकारी ढङ्गले सचेतनामूलक लगायतका कार्यक्रमहरू समाजमा दिन सके आत्महत्याको दरमा कमी आउन सक्ने प्रहरी निरीक्षक बिसीले जानकारी दिनुभयो ।

विद्यार्थीहरूलाई यस सम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गरी घर वरपर समाजमा यस्ता घटनाहरू नघटुन् भन्ने विश्वासले विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले पछिल्लो समयमा सामुदायिक प्रहरी सेवा केन्द्रसँगको समन्वयमा घरेलु हिंसा, बेचबिखन, लागू औषध दुर्व्यसन विरुद्धका विभिन्न कार्यक्रमहरूका साथै सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ ।

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।