सिराज खान
नेपालगन्ज, फागुन २ गते । पश्चिम नेपालको सबैभन्दा ठुलो नाकाका रूपमा रहेको नेपालगन्ज नाकाबाट गत केही वर्षदेखि घट्दै गएको जडीबुटी निकासी चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा उल्लेख्य रूपमा वृद्धि भएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार गत आव २०७९/८० को छ महिनाको तुलनामा चालु आवको छ महिनामा जडीबुटी निकासी ३६ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले दिएको जानकारी अनुसार गत आव २०७९/८० को छ महिना महिनामा यो नाकाबाट २५ करोड ५२ लाख ९७ हजार रुपियाँको जडीबुटी निकासी भएकोमा चालु आव २०८०/८१ को साउनदेखि पुस महिनासम्म छ महिनाको अवधिमा ३४ करोड ८९ लाख ३६ हजार रुपियाँको जडीबुटी निकासी भएको छ ।
उहाँले भन्नुभयो, “चालु आवको छ महिनामा नौ करोड ३६ लाख ३८ हजार रुपियाँभन्दा बढीको जडीबुटी निकासी भएको छ । गत आवको सुरुको छ महिनाभन्दा चालु आवको सुरुको छ महिनामा ३६.३८ प्रतिशतले जडीबुटी निकासी वृद्धि भएको हो ।” उहाँले विगत धेरै वर्षदेखि घट्दै गएको जडीबुटी निकासी यस पटक वृद्धि भएको बताउनुभयो । उता जडीबुटी व्यवसायीको सङ्गठन नेपाल जडीबुटी व्यवसायी सङ्घको नेपालगन्जस्थित केन्द्रीय कार्यालयले पनि जडीबुटी निकासीमा सहज भएपछि निकासी वृद्धि हुन थालेको जनाउँदै अझै केही विषयमा सहजता हुन बाँकी रहेको जनाएको छ ।
नेपाल जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले भारतले विगत धेरै वर्षसम्म ट्रान्जिट परमिटको नाममा जडीबुटी निकासीमा अवरोध गर्दै आएकोमा व्यवसायीले गरेको लामो सङ्घर्ष, मुद्दा मामिला र विरोधपछि त्यो समस्या समाधान भएकाले निकासी वृद्धि हुन थालेको बताउनुभयो ।
उहाँले अझै पनि जटामासी मार्क, अमला, सिकाकाईलगायत नेपालका मुख्य १२ वटा जडीबुटीलाई भारतको प्लान्ट क्वारेन्टाइनको सूचीमा सूचीकृत नगरिएकाले ती जडीबुटी निकासी गर्न नसकिएको बताउनुभयो । भारतीय प्लान्ट क्वारेन्टाइनमा सूचीकृत नभएका १२ वटा जडीबुटी सूचीकृत गरिएलगत्तै नेपालगन्ज नाकाबाट जडीबुटी निकासी ठुलो परिमाणमा बढ्दै जाने सङ्घका अध्यक्ष शर्माले बताउनुभयो । जडीबुटी निकासीसँगै राजस्व सङ्कलन पनि बढेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।