• १२ साउन २०८१, शनिबार

एउटै सडकको काम गर्न चार टुक्राको आयोजना

blog

तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत कालोपत्रेका लागि भइरहेको काम । तस्बिर: हरिप्रसाद

हरिप्रसाद कोइराला 

उर्लाबारी, फागुन १ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीदेखि नेपाल भारतको दशगजा क्षेत्रलाई जोड्ने उर्लाबारी– आमवारी–गाईघाट– सिजुवा –भद्र चौक सडक जिल्लाको सबैभन्दा पुरानो सडक मानिन्छ । नेपाल भारत सीमाको ३८ नं. पिलर हुँदै भारतको डोरियासँग जोड्ने यो सडक निर्माण कथा जस्तै बनिसकेको छ ।  

पञ्चायत काल, बहुदल हुँदै गणतन्त्रका डेढ दशक बितिसक्दा पनि यो सडक बन्न सकेको छैन । नेपाली काङ्ग्रेस सरकारमा रहँदा जीपी राजमार्गको रूपमा सडक विस्तार गर्ने योजना बन्यो । काङ्ग्रेस सरकारबाट हटेपछि सोही सडकको नाम फेरिएर मदन भण्डारी राजमार्ग बन्यो । नाम फेरिएपछि काम हुनेमा स्थानीय आशावादी थिए । तर निर्माणको काम भने कछुवाको गतिमा अघि बढिरहेको छ । यो सडकले खासगरी मोरङको सबैभन्दा पूर्वी क्षेत्रका गाउँहरूलाई छुन्छ । उत्तरमा उर्लाबारी नगरपालिकाभित्र १२ किलोमिटर र दक्षिणतर्फ रतुवामाई नगरपालिकाभित्र १७ किलोमिटर गरी यो सडक  कुल २९ किलोमिटर लम्बाइको छ । उर्लाबारी क्षेत्रमा सङ्घीय सरकारको तराई मधेश समृद्धि आयोजना,सङ्घीय सहरी विकास आयोजना, कोशी प्रदेश सरकारको प्रदेश सहरी विकास आयोजना र प्रदेश पूर्वाधारको बेग्लाबेग्लै आयोजनाबाट कालोपत्रेको काम भइरहेको छ । 

एउटै सडकमा सङ्घ र प्रदेश सरकारका विभिन्न निकायले काम गर्दा प्राविधिक रूपमा समस्या आइरहन्छन् । तर टुक्रा टुक्रा गरेर भए पनि निर्माणाधीन सडक सम्पन्न गर्नुपर्ने भएकोले सबै आयोजनामा उर्लाबारी नगरपालिकाले सहकार्य गरिरहेको छ । उर्लाबारी–९ का वडाध्यक्ष नरबहादुर मोक्तानले भन्नुभयो–उर्लाबारी–बरडंगा सडकभन्दा २० वर्ष पुरानो सडक भरखर निर्माण सुरु भएको छ । उर्लाबारी खण्डमा १२ किमीमध्ये ३ किमी सडक निर्माणका लागि अझै बजेटको सुनिश्चितता भएको छैन । वडाध्यक्ष मोक्तानका अनुसार तराई मधेश सडक समृद्धिको ५० लाख रुपियाँमा ४ सय मिटर, सङ्घीय सहरी विकास आयोजनाको १ करोड रुपियाँमा ६२५ मिटर, प्रदेश पूर्वाधारको २ करोड रुपियाँबाट ११६२ मिटर सडक कालोपत्रे भइरहेको छ । 

५ वर्षअघि निर्माण सुरु भएको कालोपत्रेको प्रारम्भिक चरणमा गरेको कालोपत्रे भत्किन थालेको छ । तर सडक पूर्णरूपमा बन्ने कुनै योजना छैन ।  मोरङ १(क) का कोशी प्रदेश सदस्य उमाकान्त गौतमले भन्नुभयो –चालु आवमा ३ किलोमिटर कालोपत्रे गर्ने गरी प्रदेश र सङ्घीय सरकारले १ करोड रुपियाँ विनियोजन गरेको छ । बजेटको सुनिश्चित भएर यो काम अघि बढेको हो । यो काम सम्पन्न भएपछि उर्लाबारी खण्डको ३ किमी मात्र कालोपत्रे गर्न बाँकी रहनेछ । उहाँले यो वर्ष थक्लुङ चौकसम्म कालोपत्रे हुने बताउनुभयो । 

रतुवामाई खण्डका सडक किनारका उपभोक्ताले धुलो र हिलो भोग्न थालेको ६० वर्ष हुन लाग्यो । सडकको नाम फेरियो । सडक विस्तारका लागि स्थानीयले ३० फिटको बाटोलाई ५० फिट बनाउनका लागि मुआब्जा नलिई जग्गा दिए । हरेक चुनावमा ठुला दलको एजेन्डा बन्छ, सडक कालोपत्रे गर्ने । २०४८ को निर्वाचनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालादेखि हालका सांसद ऋषिकेश पोख्रेलसम्मले सडक विस्तारको आश्वासन दिनुभयो । तर सडकको अवस्था उस्तै छ । 

रतुवामाई नगरपालिकाका प्रवक्ता भुलबहादुर कार्कीले भन्नुभयो– सडक विस्तारका लागि सर्भे गर्न ९० लाख रुपियाँ विनियोजन भएको छ । तर,काम सुरु भएको छैन । स्थानीय स्रोतले गर्न सकिने योजना होइन । त्यसैले हामीले सङ्घ र प्रदेशलाई गुहार्ने बाहेक विकल्प छैन । ३० फिटको सडक फराकिलो बनाउन स्थानीयले दुवैतर्फ १०÷१० फिट जग्गा पनि दिए । तर सरकारले कुनै महत्त्व दिएन । 

रतुवामाई १० सातमेडिका ७७ वर्षीय भीमप्रसाद पोख्रेललाई सडक कालोपत्रे हुन्छ भन्ने विश्वास लाग्न छोडेको छ । उहाँले भन्नुभयो –२६ साल यता हरेक वर्ष कहिले दुरबिनले त कहिले फित्ताले सडक नाप्छन् । कहिलेकाहीँ डोजर घुमाउँछन् । तर काम गर्दैनन् । रतुवामाई ७ सिंजुवाका ७४ वर्षीय टीकाधारी साहले भन्नुभयो– पछि ट्याक खुलेका सडकहरू कालोपत्रे भए । तर  जिल्लाकै पुरानो सडक कालोपत्रे हुन सकेको छैन । आफ्ना पालामा कालोपत्रे सडक हेर्न पाइन्न होला, साहले भन्नुभयो ।