बुटवल समाचारदाता
बुटवल, फागुन १ गते । रुपन्देहीको पुरानो सूर्यपुरा हाटबजारमा आर्थिक मन्दीको प्रभाव देखिएको छ । यहाँका व्यापारीले गत दुई वर्षदेखि हाटबजारमा आउने ग्राहकको सङ्ख्यामा भारी कमी आएको र त्यो क्रम अहिलेसम्म कायमै रहेको बताएका छन् । हरेक बुधबार लाग्ने उक्त हाटमा १० हजार बढी ग्राहक घरायसी सामान खरिद गर्न आउने गर्थे तर अहिले मुस्किलले दुई हजार ग्राहक आउने गरेका व्यापारी रमेश मल्लाहले बताउनुभयो ।
व्यापारी मल्लाहका अनुसार ग्राहक हाटबजारमा आए पनि पहिले जस्तो सामान नकिन्ने र बजार हेरेर फर्कने गरेका छन् । उता रुपन्देहीकै पुरानोमध्येकै फर्साटिकर बजारको अवस्था पनि उस्तै रहेको व्यापारीको गुनासो छ । उक्त बजारमा ग्राहकको सङ्ख्या घट्दै गएको र ग्राहक आए पनि थोरै सामान किनेर फर्किने गरेका स्थानीय व्यापारी सीता भण्डारीको गुनासो छ । जुत्ता चप्पल पसलमा एक डेढ वर्षअघिसम्म दिनमा आठ हजार रुपियाँसम्मको बिक्री हुन्थ्यो । अहिले मुस्किलले एक हजार हुने गरेको भनाइ ज्ञवालीको छ ।
कपडा व्यापारी सुरेश यादव हाटबजारको अवस्था विगत डेढ दुई वर्षदेखि सुस्त रहेको बताउँदै आफूहरू बजारमा चहलपहल आउने प्रतीक्षामा बसेको बताउनु हुन्छ । उता रुपन्देहीको सैनामैना नगरपालिका–६, कलौनीको हाटबजारको व्यापार पनि ७५ प्रतिशत भन्दा बढीले सुकेको छ । किराना व्यापारी रामु घिमिरेले विगत एक वर्षअघिदेखि हाटबजारमा ग्राहकको सङ्ख्या घट्दै गएकाले व्यापारी मर्कामा परेको गुनासो गर्नुभयो ।