• २१ वैशाख २०८१, शुक्रबार

उपचारमा ढिलाे गरे जन्मजात मुटुरोग निको पार्न गाह्रो हुन्छ : डा. शर्मा

blog

काठमाडौं, फागुन २ गते । बालबालिकामा जन्मजात विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गर्छन् । तीमध्ये जन्मजात मुटुरोग पनि एक हो । बालमुटु रोग विशेषज्ञ डा. पुनम शर्मा विश्वमा जीवित जन्मिएकामध्ये एक प्रतिशतमा जन्मजात मुटुरोग हुने बताउनुहुन्छ ।

उहाँका अनुसार जन्मँदै असाधारण स्वास्थ्य अवस्थामा रहेका बालबालिकाको मृत्यु हुने प्रमुख कारणमध्ये जन्मजात मुटुरोग एक हो । बाल मुटुरोग विशेषज्ञ डा. शर्माका अनुसार मुटुको कोठामा, भित्तामा, धमनीहरूमा समस्या आएमा जन्मजात मुटुरोग भनिन्छ ।

उहाँ भन्नुहुन्छ, “गर्भमा नै शिशुमा मुटुभित्रको विभिन्न भाग तथा मुटु बाहिरका धमनीहरूको बनावटमा गडबडी हुने, मुटुका भल्ब खुम्चिने ,मुटुका नसाहरूको विकास नभएको, मुटुमा निस्कने धमनीहरूमा समस्या जन्मजात मुटुको रोगमा पर्छ ।” 

विश्वमा एक हजार बच्चामध्ये आठदेखि १० जनामा जन्मजात मुटुको समस्या लिएर जन्मने बाल मुटुरोग विशेषज्ञ डा. शर्मा बताउनुहुन्छ । 

उहाँका अनुसार ९० प्रतिशतमा के कारणले जन्मजात मुटुरोगको समस्या निम्तिन्छ कारण पत्ता लाग्न सकेको छैन ।

उहाँ भन्नुहुन्छ, “१० प्रतिशतको कारण पत्ता लागे पनि, ९० प्रतिशत जन्मजात मुटुरोग के कारण हुन्छ भन्ने पत्ता लाग्न सकेको छैन ।”

कारण पत्ता लागेकोमा आमा बुबा नजिकको नातेदार, जन्मजात मुटुरोगी, नजिकको नातेदारभित्रको वैवाहिक सम्बन्ध अन्य कारणमा अनौठो रूप लिएर बच्चा जन्मनु, बच्चामा क्रोमोजोमको गडबडीले गर्दा जन्मजात मुटुरोग हुने गर्छ ।

जन्मजात मुटुरोग नीलो हुने र नीलो नहुने गरी दुई किसिममा वर्गीकरण गरिएको डा. शर्माको भनाइ छ । डा. शर्माका अनुसार नीलो हुने रोगहरू जटिल प्रकृतिका हुन्छन् ।

जन्मजात मुटुरोग मुटुका पर्दाहरूमा प्वाल पर्ने, मुटुका मुख्य धमनीहरू साँघुरिने तथा भल्बहरू आंशिक वा पूर्णरुपमा बन्द हुने, मुख्य धमनीहरू उल्टोपाल्टो भएर निस्कने, मुटुका दायाँ वा बायाँ भाग अविकसित हुने जस्ता जन्मजात मुटुरोगमा पर्ने डा. शर्मा बताउनुहुन्छ ।

उमेर अनुसार तौल नबढ्ने, कमजोर भइरहने, छाती दुख्ने, बेहोस हुने, जीउ दुख्ने,जन्मँदै नीलो भएर जन्मिने वा जन्मेको केही समयपछि नीलो भएर आउने । सास छिटो छिटो फेर्ने, बेहोस हुने, हिँड्दा छिटो थाक्ने जस्ता लक्षण देखा पर्दछन् । जन्मजात मुटुरोग छातीको एक्स–रे, इसिजी, इकोकार्डियोग्राफी गरेर पत्ता लगाउन सकिने उहाँको भनाइ छ ।

भिडियोः मनोजरत्न शाही

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।