• २६ फागुन २०८२, मङ्गलबार

सहज बन्दै आँखा उपचार : आठ स्थानीय तहमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

blog

धुर्कोट गाउँपालिका र नेपाल नेत्र ज्योति संघबिच आँखा उपचार सम्झौता हुँदै । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, (गुल्मी), मङ्सिर २२ गते ।
सत्यवति गाउँपालिका–२ की ८६ वर्षीया वृद्धा कृष्णा कुवँरको आँखा बन्द भएपछि बुढेशकालको जीवन निकै कष्टपूर्ण रह्यो । एक जीवनमा सहज उपचारको मेसो नमिलेका कारण लामो समय पीडा खेप्नु भएको कुँवर गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर आँखा देख्ने हुनुभयो । उहाँले भन्नुभयो, “मैले आँखा देखौँला भनेर कल्पना पनि गरेकी थिइन । बाँचेपछि सबै देख्न पाइने रहेछ । भगवानसँग आँखा देख्दा–देख्दै मर्न पाइयोस् भनेर कामना गरेकी छु ।”

चन्द्रकोटको आँखा शिविरमा आएर बरेङ्ग गाउँपालिका–५ बाग्लुङ्गका ८६ वर्षीय लालबहादुर क्षेत्रीले पनि आँखाको शल्यक्रिया गर्नुभयो । आँखाको उपचारले जीवन सहज मात्रै भएन । टाढाको यातयातको कष्ट र खर्च झेल्नु परेन् । मोतियाबिन्दुको कारण दुवै आँखा बन्द भएर कष्टकर दिन बिताउनुभएका इस्मा गाउँपालिका–३ दर्लामचौरकी ९७ वर्षीया रत्नकला खरालले समेत शल्यक्रियापछि आँखा देख्न थाल्नुभयो । दाहिने आँखा बन्द भएको लामो समयपछि देब्रे आँखा पनि नदेख्ने रत्नकला उपचारको लागि अस्पताल पुग्नुभयो ।

मोतियाबिन्दुको शल्यक्रिया गरेको रकम गाउँपालिकाले उपलब्ध गराउने भएकाले कुनै खर्च नभएको रत्नकलाका छोरा केशवराज खरालले बताउनुभयो । उहाँले जिल्लामै हुने उपचार र शल्यक्रिया तथा स्थानीय तहले दिने सहुलियले बास्तवकै गाउँ–गाउँमा सिंहदरवारको अनुभूति गराएको बताउनुभयो ।

गुल्मीका आठ स्थानीय तहले आफ्ना नागरिकको मोतियाबिन्दुको शल्यक्रियाको उपचार निःशुल्क गर्ने गरेका छन् । नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्रमा मासिक रुपमा नियमति ११ र १२ गते शल्यक्रिया हुँदै आएको छ । लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा अनुन्धान केन्द्रका डाक्टहरु मार्फत बिरामीहरुको उपचार र शल्यक्रिया हुने गरेको छ ।

अहिलेसम्म रेसुङ्गा नगरपालिका, इस्मा गाउँपालिका, गुल्मीदरवार, छत्रकोट, धुर्कोट, सत्यवति, रुरुक्षेत्र र चन्द्रकोट गाउँपालिकाले मोतियाबिन्दुको शल्यक्रिया हुँदा लाग्ने नागरिकको सात हजार रुपियाँ व्यहोर्ने गरेको नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्र गुल्मीका सूचना अधिकारी बिर बहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार मुसिकोट नगरपालिकाले आँखा उपचारको बिलका आधारमा भुक्तानी गर्ने गरेको छ । त्यस्तै मालिका, मदाने, रुरु, कालिगण्डकी र मुसिकोट नगरपालिकाले आँखा उपचार केन्द्रहरुमा जनशक्ति व्यावस्थापन र कार्यालय व्यावस्था तर्फ सहयोग गर्दै आएको कार्कीले बताउनुभयो ।

जिल्लामा स्थायी रुपमा २०४५ सालबाट आँखा उपचार सेवा र २०४९ सालबाट शाखा स्थापना भएको नेपाल नेत्रज्योति संघका अहिले सदरमुकामदेखि गाउँ–गाउँमा उपचार केन्द्रहरु रहेका छन् । नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्रले सदरमुकाममा नियमित सेवा दिएको छ । भने दुर्गम गाउँहरुमा समेत मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया शिविरहरु गर्ने तथा प्राविधिक सहयोग गर्ने गरिरहेको नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्रका प्रमुख सुर्य बहादुर बस्नेतले बताउनुभयो ।

जिल्लाका १२ वटै स्थानीय तहले आँखा उपचार केन्द्रसँग समन्वय गरेर शिविर सञ्चालन गर्दा दुर्गममा वर्षौसम्म आँखाको समस्या झेलेर बसेकाहरु पनि उपचारको पहुँचमा आउन थालेको नेपाल नेत्रज्योति संघका सचिव पदम प्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्रका अनुसार वार्षिक ३३ हजारको आँखा परीक्षण तथा पाँच सय बढी मोतियाबिन्दुको शल्यक्रिया गर्ने गरिएको छ । २०८१ साउन १ गतेबाट नेपाल नेत्र ज्योति संघ पनि स्वास्थ्य बिमामा आवद्ध भएको छ । जसले आँखा उपचारमा स्वास्थ्य बिमाले धेरै नागरिकलाई सहज भएको संस्थाका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले बताउनुभयो ।

स्थानीय तहले नागरिकको पक्षमा सानो निर्णय गर्दा पनि ठुलो प्रभाव पर्ने गरेको छ । त्यसैकारण गाउँ–गाउँमा सिंहदरवारको परिकल्पना भएको हो । धुर्कोट गाउँपालिका आँखा उपचारको क्षेत्रमा भर्खरै जोडिएको छ । धुर्कोट गाउँपालिकाले आफ्ना नागरिकको मोतियाबिन्दुको शल्यक्रियामा लाग्ने नागरिकको रकम एकमुष्ठ बुझाउने र हरेक महिनाको पहिलो शनिबार आँखा जाँच शिविर गर्ने गरेर नेत्र ज्योति संघसँग सम्झौता गरेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताउनुभयो । यो कामले नागरिकको आँखाको उपचार सेवालाई सहज बनाउने भएकाले पीडा खेपेर घरमा नवस्न नागरिकलाई पोख्रेलले आग्रह गर्नुभयो । यो वर्ष धुर्कोट, छत्रकोटसँगै चन्द्रकोट गाउँपालिकाले नेत्रज्योति संघसँग सम्झौता गरेका छन् ।