• २२ मङ्सिर २०८२, सोमबार

बिरुवामा बन्यो आधारभूत अस्पताल

blog

बिरुवा निर्माण भएको आधारभूत अस्पताल । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर २२ गते ।
बिरुवा गाउँपालिकाले वडा नं.– ६ चिन्नेवासमा बिरुवा आधारभूत अस्पताल बनेको छ ।  सविक चिन्नेवास गाविसमा रहेर हाल विभिन्न ठाउँमा छरिएर बसेका व्यक्तिहरु संगठित भएर बनेको सामाजिक विकासका लागि सहयोगी हातहरु नामक संस्थाले अस्पताल सञ्चालन गर्न सुविधा सम्पन्न भवन निर्माण गरेर चिन्नेवास स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको थियो ।

स्वास्थ्य चौकीलाई आवश्यक पर्ने थप भौतिक पूर्वाधार गत आर्थिक वर्षमा बिरुवा गाउँपालिकाले आफ्नै स्रोतबाट निर्माण गरेर १० बेडकोको अस्पताल सञ्चालनमा ल्याएको हो ।

सात रोपनी क्षेत्रफलमा फैलिएको अस्पताल समग्रमा सहयोगी संस्था र पालिकाले एक करोड ७४ लाख ८० हजार रुपियाँमा निर्माण भएर प्रयोगमा आएको हो ।

स्वास्थ्य सेवा विस्तार गर्दै गाउँमै ओपीडी, आकस्मिक, एक्स–रे, भिडियो एक्स–रे, सिवीसी, एलएफटी, आरएफटीलगायतका प्रयोगशाला परीक्षण सेवाहरू सञ्चालनमा ल्याएको हो ।

गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले अस्पतालमा स्वास्थ्य सेवा विस्तार भएपछि सामान्य उपचारका लागि समेत पोखरा लगायत राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

गाउँमा स्वास्थ्य चेतना, सहज पहुँच र आपतकालीन अवस्थामा तत्काल उपचार सुनिश्चित गर्न अस्पताल सञ्चालन गरेको कुँवरले बताउनभुयो ।

अस्पताललाई आधुनिक उपकरण र दक्ष जनशक्तिबाट थप सुदृढ बनाउँदै लैजाने बताउदै कुँवरले जसले बिरुवाको जनस्वास्थ्यमा दीर्घकालीन सुधार ल्याउने बताउनुभयो ।

स्वस्थ नागरिक नै विकासको मेरुदण्ड भएको बताउदै कुँवरले अस्पताललाई आधुनिक उपकरण र दक्ष जनशक्तिबाट सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अस्पतालमा एमविविएस डाक्टर, रेडियोग्राफर सुपरभाइजर, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन,  स्टाफ नर्स, अनमी, अहेव र फर्मेसी सुपरभाइजर गरी नौ जना स्वास्थ्यकर्मी रहेको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेलले जानाकारी दिनुभयो ।

विशेषगरी आकस्मिक उपचार, गर्भवती महिला र बालबालिकाको स्वास्थ्य परीक्षण गाउँमै उपलब्ध भए पछि जनजीवनमा सहजता समेत आएको छ ।

गाउँपालिकाले आगामी वर्ष अस्पतालका सेवाहरु थप गरी अल्ट्रासोनोग्राफी तथा दन्त सेवा थप्ने तयारी गरेको पोखरेलले बताउनभुयो ।

अस्पतालको शुभारम्भ गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले अस्पतालको सेवा विस्तारका लागि चाहिने उपकरण तथा अन्य आवश्यक भौतिक पूर्वाधारमा गण्डकी प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता गर्नुभयो ।