• १५ वैशाख २०८२, सोमबार

सहरेका विभिन्न बस्तीमा खानेपानीको समस्या

blog

सुजन काफ्ले 

चरीकोट, माघ २९ गते । दोलखाको तामाकोसी गाउँपालिका ५ सहरेमा खिम्ती १ जलविद्युत आयोजनाले खानेपानीको पाइपलाइन काटेपछि सो गाउँका विभिन्न बस्तीमा खानेपानीको समस्या भएको छ। गाउँलेहरूले उपभोग गर्दै आएको पानीको आयोजनाले काटिदिएपछि खानेपानीको समस्या भएको हो ।

गाउँपालिका-५ सहरे गाउँका ५ ओटा बस्तीमा २ सातादेखि खानेपानीको समस्या भएको स्थानीयहरुकाे गुनासो गरेका छन् । २०७२ सालको गएको विनाशकारी भूकम्पका कारण गाउँमा पानीका मुहानहरू सुकेका थिए । मुहान सुकेपछि जलविद्युत कम्पनीको सुरुङबाट आफैँले पाइपमार्फत गाउँलेलाई खानेपानी उपभोग गर्न दिएको थियो । तर हाल वैकल्पिक व्यवस्था गरेर पानी वितरण गर्न भन्दै सो भेगका स्थानीयहरुलाइ हिमाल पावर लिमिटेडले डिप बोरिङबाट पानी निकाल्न ५० लाख रुपियाँ दिएको थियो, सोहीअनुसार माघ १५ गते आयोजनाले दिएको पानीको लाइन काटेको स्थानीय चन्द्र प्रसाद सुवेदीले बताउनुभयो ।

उपभोक्ता समितिमार्फत डिप बोरिङबाट वैकल्पिक खानेपानी निर्माण भइसकेको दाबी सहितको सहमति पछि खानेपानीका लाइन काटिएको थियो । तर वैकल्पिक व्यवस्था भनिएको डिप बोरिङबाट धमिलो र पहेँलो पानी आइरहेको र उक्त पानी पशु चौपायाका लागी समेत खान योग्य नरहेको उहाँको भनाइ छ ।

छिमेकी रामेछापसँग सीमा जोडिएको सहरे गाउँको बिचबाट खिम्ती १ जलविद्युत आयोजनाको बिजुली बाल्ने ‘टर्बाईन’ घुमाउन पानी हिँड्ने सुरुङ छ । पावर हाउस जाने त्यही सुरुङ वरपरका बस्ती सुक्खा भएपनि २०७२ को भूकम्प अघिसम्म गाउँमा पानीको खासै हाहाकार हुँदैनथ्यो । गाउँलेले सुरुङ माथि रहेका झन्डै आधा दर्जन मुहानबाट पानी खाइरहेकै थिए । 

झन्डै २८ वर्षअघि नर्वेजियन कम्पनीले खिम्ती १ जलविद्युत आयोजनाको सुरुङ खन्न विस्फोट गराउँदा हल्लिएका गाउँका मुहानहरू भुईँचालोको थप खलबलिए सोही कारण कम्पनले सबै मुहान सुकेपछि गाउँमा पानीको समस्या हुन थाल्यो । भूकम्पपछि फुयालथुम्काका ३, ज्यामिरेको एक, पौवा खिम्तिडाँडा र च्यानडाँडाका ५ वटा मुहान सुकेको स्थानीयले बताएका छन् । 

स्थानीयहरूको पहलमा बृहत् सहरे खानेपानी योजनाका लागी डिपिआर बनेको थियो । छिमेकी रामेछाप तर्फको हलुवा खोलालाई गाउँको पुछारमा रहेको गोगनटारमा तारेर सिचाई गर्न ल्याइएको पानीलाई लिफ्टीङ गरेर सहरेमा चढाउने योजना अघि सारिएको थियो ।  

यो योजनामा पालिका र सरकारको ठुलो रकम लगानी भए पनि पुरा भएको छैन । योजनामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा मुद्दा समेत परेको थियो । यस्तै, गाउँपालिकाको ५० लाख लगानीमा डिप बोरिङमार्फत पानी निकाल्ने काम सुरु गरिएको थियो । विद्युत कम्पनीले समेत गाउँकै खेल मैदान नजिक डिप बोरिङबाट पानी निकाल्न भन्दै अर्को ५० लाख रकम सहयोग गरेको थियो । डिप बोरिङको पानी परीक्षण गरियो । तर पानी पहेँलो र असाध्यै धमिलो आयो स्थानीय भुवन केसीले बताउनुभयो ।  

यता गाउँलेलाई सुरुङबाट पानी दिएका कारण बिजुली उत्पादनमा असर परेको भन्दै विद्युत कम्पनीले पानी बन्द गर्ने भन्दै दबाब बढाउन थाल्यो । ५० लाख रुपियाँ भुक्तानी दिएको र डिप बोरिङमार्फत काम भएको भन्दै माघ १५ गतेबाट लाइन काटेको हो । लाइन काटेपछि गाउँमा खानेपानीको चरम अभाव भएको स्थानीय चन्द्र सुवेदीले जानकारी दिनुभयो ।

सुरुङ मार्गबाट वितरण गरिएको पानी सहरेको फुयालथुम्काका २२, पौवाका ११, खिम्तिडाँडाका २२, ज्यामिरेका ९ र च्यानडाँडा बस्तीका ४ गरेर ६४ घरधुरीका स्थानीयहरूले प्रयोग गर्दै आएका थिए । तर आयोजनाले खानेपानीको लाइन काटिदिएपछि अहिले ती बस्तीहरू काकाकुल उहाँको भनाइ छ ।

हिमाल पावर लिमिटेडको खिम्ती १ जलविद्युत केन्द्रका प्लान्ट म्यानेजर श्याम भट्टले वैकल्पिक व्यवस्थापछि मात्रै आयोजनाले सुरुङको पानी बन्द गरेको बताउनुभयो । हामीले गाउँपालिका अध्यक्ष, वडा अध्यक्षको उपस्थितिमा नै पानीको लाइन काट्ने सहमति गरेर पानी बन्द गरिएको बताउनुभयो ।

"भुईँचालोले मुहान सुकेपछि हामीले सुरुङबाट दिएको पानी पनि खान योग्य हैन, खाने प्रयोजनका लागी नभई खेत तथा करेसाबारीका लागी पानी दिएका हौँ" उहाँले भन्नुभयो, "अहिले हाम्रै ५० लाख सहयोगमा डिप बोरिङ मार्फत पानी निकालिएपछि पानी बन्द गरेका हौँ ।"