• १२ साउन २०८१, शनिबार

फरार प्रतिवादी भटाभट पक्राउ

blog

कोहलपुर प्रहरीले पक्राउ गरेको तिलक खप्तरी मगर र पूर्णबहादुर कुमाल । तस्बिर: नेपाल प्रहरी

खजुरा, माघ २९ गते । इलाका प्रहरी कार्यालय कोहलपुरले चालु आर्थिक वर्षमा विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका विभिन्न १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले चालु आर्थिक वर्षमा हालसम्म विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेस गरिएको बताउनुभयो । उहाँले उनीहरूबाट १२ वर्ष ५ महिना २६ दिन कैद सजाय र ८० हजार रुपियाँ जरिवाना असुल उपर गरिएको जानकारी दिनुभयो ।

यस क्रममा अदालतबाट कैद सजाय तथा जरिवाना तोकिई हालसम्म फरार रहेका दुई जना फरार प्रतिवादीहरूलाई शनिवार पक्राउ गरेको प्रनाउ तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँके जिल्ला अदालतबाट २०७० माघ ९ गतेको आदेश अनुसार ज्यान कसुर मुद्दामा २ वर्ष १० महिना ३ दिन कैद सजाय तोकिएका राप्तीसोनारी गाउँपालिका १ का पूर्णबहादुर कुमाललाई इलाका प्रहरी कार्यालय तुलसीपुर दाङको सहयोगमा दाङबाट कोहलपुर प्रहरीले पक्राउ गरेको छ ।

त्यसै गरी बाँके जिल्ला अदालतबाट २०७८ मङ्सिर २७ गतेको आदेशबाट जातीय विभेद मुद्दामा ५० हजार जरिवाना तोकिएका बैजनाथ गाउँपालिका वडा नं. ४ का तिलक खप्तरी मगरलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई बाँके जिल्ला अदालत बुझाइएको प्रहरीले जनाएको छ ।

कैद सजाय तथा जरिवाना तोकिई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी प्रभावकारी फैसला कार्यान्वयन गर्नका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले सञ्चालन गरेको विशेष अभियानसँगै इलाका प्रहरी कार्यालय कोहलपुरले पनि उनीहरुको खोजतलास गर्ने कार्यलाई तीव्र पारिएको प्रनाउ तिवारीले बताउनुभयो ।

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।