• १३ साउन २०८१, आइतबार

विमानस्थल बनाउनभन्दा चलाउन कठिन : मन्त्री किराती

blog

सगरमाथा विमानस्थल निर्माण क्षेत्रमै आयोजित कार्यक्रमा सम्बोधन गर्नुहुदै संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती । तस्विर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल

गाईघाट, माघ २६ गते । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम तत्काल अगाडि बढाउने बताउनुभएको छ । 

उदयपुरको त्रियुगा नगरपालिका –२ जोगिदहस्थित विमानस्थल निर्माण क्षेत्रको शुक्रवार स्थलगत निरीक्षण गर्नुहुँदै मन्त्री किरातीले सो कुरा बताउनुभएको हो । उदयपुरमा सगरमाथा विमानस्थल निर्माणका लागि भनेर त्रियुगा नगरपालिका –१ र २ को जोगिदहस्थित कङ्ग र मोथियाही सामुदायिक वनको करिब १४ हजार सखुवाका रुख कटान गरेर धावनमार्ग निर्माण गर्ने क्षेत्रको जग्गा खाली गरिएको छ । बजेट अभावले निर्माणको काम प्रभावित भइरहेको अवस्थामा मन्त्री किरातीले कार्यक्रम स्थलबाटै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई निर्माणसम्बन्धी प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो ।  

मन्त्री किरातीले नेपाल सरकारले आर्थिक वर्ष २०८०–८१ मा सो विमानस्थलको भौतिक पूर्वाधार निर्माणका लागि कुनै पनि शीर्षकमा रकम विनियोजन नगरेको तर नागरिक उड्ययन प्राधिकरणमार्फत आफूले विमानस्थलको निर्माणसम्बन्धि कामलाई निरन्तरता दिन पाँच करोड रकम  व्यवस्था गरेको बताउनुभयो । 

सो रकमबाट कटान गरिएका रुखको जरा उखेल्ने, खोल्सी व्यवस्थापन गर्ने र पुगेसम्म घेरवार गर्ने कार्य गर्न सकिने उहाँले बताउनुभयो । यद्यपि मन्त्री किरातीले सीमित स्रोत साधनको कारण हाम्रोजस्तो मुलुकमा विमानस्थल निर्माण गर्न भनेजस्तो सजिलो नभएको र बनाउनभन्दा सञ्चालन गर्न समस्या हुँदैआएको छ, भन्नुभयो ।  

नेपालमा अन्य अरु २२ वटा विमानस्थल निर्माण सम्पन्न भएर पनि सञ्चालन गर्न नसकिएको नजिर प्रस्तुत गर्नुहुँदै मन्त्री किरातीले उदयपुर र भोजपुर खोटाङका केही ठाउँका स्थानीयलाई लक्षित गरी मात्र सगरमाथा आन्तरिक विमानस्थल चल्न नसक्ने भएकाले क्रसबोर्डर फ्लाइट र माउन्टेन फ्लाइट गर्न सकियो भने यो विमानस्थल राम्ररी सञ्चालन गर्न सकिन्छ, भन्नुभयो ।  

सो अवसरमा विमानस्थल निर्माण समितिका अध्यक्ष वीरेन्द्र बस्नेतले हिउँदको समयमा हुस्सु नलाग्ने र वर्षातको समयमा कुहिरो नलाग्ने हुँदा जनकपुर, राजविराज र विराटनगरलगायतका विमानस्थलभन्दा यहाँको विमानस्थल सदाबहार सञ्चालन हुनसक्ने प्राकृतिक अवस्था रहेको बताउनुभयो । 

वन तथा भू–संरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सगरमाथा आन्तरिक मानस्थलको भौतिक पूर्वाधार निर्माण गर्न वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने भनि २०७८ माघ २४ गते सम्झौता सम्पन्न भएअनुसार नागरिक उड्डयन प्राधिकरणले रुख कटानको काम सम्पन्न गरिसकेको उहाँले बताउनुभयो ।

नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माण गरिने क्षेत्रको मोतियाही सामुदायिक वन उपभोक्ता समूहको ६२.३० हेक्टरको चार हजार ३५७ वटा र कङग सामुदायिक वन उपभोक्ता समूहको ४२.८० हेक्टर क्षेत्रमा रहेको बिभिन्न जातको नौ हजार २८० वटा गरी १३ हजार ६३७ वटा सखुवाका रुख कटान गरी घाटगद्दी गरेर सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिले धमाधम काठ बिक्री गरिरहेको अध्यक्ष बस्नेतको भनाइ छ ।

विगतमा भएको “एक जिल्ला एक विमानस्थल, एक गाउँ एक हेलिप्याड” निर्माण गर्ने नेपाल सरकारको पूर्व घोषित नीतिअनुसार नै उदयपुरको त्रियुगा नगरपालिका वडा –१ र २ को जोगीदहमा एटिआर ७२ डिजाइनको जेटस्टिम एप्रो विमान उडान र अवतरण गर्न सक्ने क्षमताको विमानस्थल निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । 

यसका लागि एक हजार सातसय ५० मिटर लामो र ३० मिटर चौडाइ भएको धावन मार्ग, दुईसय मिटर लामो र ६० मिटर चौडाइको एप्रोनसहितको टर्मिनल भवन, कर्मचारी भवन र ट्याक्सी गुड्ने दुईवटा सडक समेतका लागि १५६.११ हेक्टर वन क्षेत्रको जग्गा अधिग्रहण गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।