• १४ असार २०८२, शनिबार

स्वास्थ्यमन्त्री पौडेल र विश्व स्वास्थ्य सङ्गठन क्षेत्रीय निर्देशक वाजेदबिच वार्ता

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र सङ्गठनका दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक साइमा वाजेदबिच भेटर्वार्ता । तस्बिर : मन्त्री पौडेलको सचिवालय

काठमाडौँ, असार १४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आगामी विश्व स्वास्थ्य सङ्गठनमा नेपालका तर्फबाट प्रस्ताव गरिएको श्रमिकको स्वास्थ्य रक्षाका मुद्दालाई प्रभावकारी बनाउन विश्व स्वास्थ्य सङ्गठनसँग सम्वाद बढाउनुभएको छ ।

सङ्गठनको कार्यकारी समिति सदस्य समेत रहेको नेपालले यस मुद्दा आगामी महासभामा लैजान गृहकार्य गरिरहेको छ । यसै सन्दर्भमा थाइल्याण्डको बैंककस्थित राष्ट्रसङ्घीय सम्मेलन केन्द्रमा मन्त्री पौडेलले सङ्गठनकी दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक साइमा वाजेदसँग नेपालको एजेण्डाको तयारी र यसमा जुटाउन सकिने विश्व समर्थनबारे छलफल गर्नुभएको छ ।

‘‘हाम्रा धेरै श्रमिक अहिले रोजगारीका क्रममा बाहिर छन् । उनीहरुको स्वास्थ्य समस्या हाम्रा लागि चिन्ताको विषय बनेको छ,’’ उहाँले भन्नुभयो, ‘‘सबै श्रमिक देशका साझा समस्यालाई सम्बोधन गर्न पर्याप्त गृहकार्य आवश्यक छ ।’’

जवाफमा निर्देशक वाजेदले नेपालको एजेण्डामा समर्थन जुट्ने विश्वास गर्दै आफ्ना तर्फबाट समन्वयात्मक पहल हुने प्रतिबद्धता जनाउनुभयो ।

हालै सम्पन्न विश्व स्वास्थ्य सङ्गठनको महासभामापछि नेपालले आगामी महासभामा नेपाली श्रमिकले भोगिरहेको स्वास्थ्य समस्या सम्बोधन गर्न सबै श्रमिकको स्वास्थ्यको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने प्रस्ताव पठाएको थियो । जसलाई आगामी महासभामा नेपालका तर्फबाट पेश गरिनेछ ।

मन्त्री पौडेलले हालै मात्र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विदेशबाट फर्किएका श्रमिकको निःशुल्क परीक्षण तथा नियमित भर्चुअल स्वास्थ्य सेवा दिन गरेको निर्णय कार्यान्वयनमा आइसकेको छ ।