कुस्मा समाचारदाता
कुस्मा, (पर्वत) असार १४ गते । पर्वतलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणासँगै खोप लगाउने बालबालिकाको सङ्ख्या बर्सेनि घट्दै गएको छ । जिल्लामा घट्दो बालजन्मदरका कारण बालबालिकालाई लगाइने खोपको मात्रा प्रयोग हुनेभन्दा खेर जाने बढ्दै गएको छ । बालबालिकालाई जन्मनेदेखि एक महिनाभित्रमा क्षयरोगविरुद्ध लगाइने बिसिजी खोप, दादुरा रुबेलाविरुद्ध लगाइने एमआर खोप, जापानिज इन्सेफ्लाइटिसविरुद्धको जेई खोपलगायत केही खोप सत्तरी प्रतिशतभन्दा बढी खेर जाने गरेको पाइन्छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्ण खोप अन्तर्गत पर्ने १४ खोपमध्ये बिसिजी खोप लगाउने बालबालिकाको सङ्ख्या एक हजार १७३, पाँच वटा रोगविरुद्ध लगाइने पेन्टा खोप लगाउने सङ्ख्या एक हजार ७७५ र दादुरा रुबेला खोप लगाउनेमा पहिलो पालो एक हजार आठ सय जना र दोस्रो पालो एक हजार ६६२ जना छन् ।
आव २०८०/८१ मा खोप लगाउनेको सङ्ख्या घटेर बिसिजी खोप लगाउने ८८९ जना, पेन्टा खोप एक हजार ३८८ जना र दादुरा रुबेला खोप पहिलो चरणमा एक हजार ४९७ र दोस्रोमा एक हजार ५७१ जनाले लगाएका छन् । यस आवको जेठ मसान्तसम्म खोप लगाउनेको सङ्ख्या घटेर बिसिजी खोप ६९० जना, पेन्टा एक हजार ९७ जना र दादुरा रुबेला खोप पहिलो चरणमा एक हजार ११३ जना र दोस्रो चरणमा एक हजार २६६ जना छन् ।
खोप कार्यक्रम स्रोतव्यक्ति नारायणप्रसाद रेग्मीका अनुसार प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतलाई गत अघिल्लो वर्ष प्राप्त भएको बिसिजी खोपको डोज ३४ हजार ७४० रहेको थियो । प्राप्त भएको खोपमध्ये १४ हजार ७६० डोज खोलिएकोमा जम्मा एक हजार १७३ डोज प्रयोग भएको थियो भने बाँकी एक हजार ५८७ डोज खेर गएको थियो । त्यसै गरी सोही वर्ष पेन्टा खोप १६ हजार १४० डोज प्राप्त भएकोमा प्रयोगका लागि खोलेको १० हजार पाँच सय डोजमध्ये पाँच हजार ४२३ डोज प्रयोग भई बाँकी रहेको पाँच हजार ७७ डोज खोप खेर गएको थियो । यसै गरी गत वर्ष स्वास्थ्य संस्थामा प्राप्त भएको बिसिजी खोप डोज जम्मा ३५ हजार १४० रहेकोमा प्रयोगका लागि खोलेको १२ हजार ४८० मध्ये जम्मा प्रयोग भएको डोज ८८९ थियो । खोलिएको पेन्टा खोपमध्ये चार हजार ३८८ डोज प्रयोग भएको थियो भने पाँच हजार २१२ डोज खोप खेर गएको थियो ।
यस आवको जेठ मसान्तसम्मको खोपको तथ्याङ्क हेर्दा स्वास्थ्य संस्थामा प्राप्त खोपको डोज २४ हजार ५२० मध्ये प्रयोगका लागि खोलिएको नौ हजार २८० डोज थियो । खोलिएको मध्ये ६९० डोज खोप प्रयोग भएको थियो भने आठ हजार ५९० डोज खोप खेर गएको थियो । खोप कार्यक्रम स्रोतव्यक्ति रेग्मीले भन्नुभयो, “बिसिजी खोप एक बोतलमा २० डोज बराबर आउँछ भने जेई खोप पाँच डोज र एमआर १० डोज बराबर आउँछ । खोपको मात्रा अलग गरी भण्डारण गर्न मिल्दैन ।
अलग गरी राख्न नमिल्ने हुँदा एक जनालाई एक डोज दिइसकेपछि बाँकी रहेको डोज खेर जान्छ । बिसिजी खोप २० जना बालबालिकालाई लगाउन सकिने भए पनि सङ्ख्या कम हुने गरेको छ । स्वास्थ्य खोप निर्देशिका अनुसार खोप एकै समयमा प्रयोग गरिसक्नुपर्ने हुन्छ । गाउँघरमा एक जना मात्रै शिशु जन्मेको छ भने पनि लगाइनुपर्ने हुँदा बाँकी खोपको डोज खेर जान्छ ।”
स्वास्थ्य कार्यालयका प्रमुख बद्रीराज आचार्यले गाउँघरमा बालबालिकाको सङ्ख्या कम हुँदा खोपको डोज खेर जानु खोप कार्यक्रमको बाध्यता भएको बताउनुभयो । स्वास्थ्य प्रमुख आचार्यका अनुसार एक जना बच्चाका लागि सबै खोपको मात्रा पूरा गर्दासम्म सरकारको करिब ४० हजार रुपियाँ खर्च हुन्छ ।