• २३ वैशाख २०८१, आइतबार

जीवित जन्मिने बच्चामध्ये आठदेखि दश जनामा जन्मजात मुटुरोग

blog

काठमाडौँ, माघ २६ गते । पछिल्लो समय जन्मजात मुटुको समस्या लिएर अस्पतालमा आउनेको सङ्ख्या बढ्दै गएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका बालमुटुरोग विशेषज्ञ डा.उर्मिला शाक्यले जन्मजात मुटुको समस्या लिएर आउनेको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ ।  

डा.शाक्यका अनुसार सन् २०२२ मा ११ हजार ५७९ जना बिरामीले विभिन्न जन्मजात स्वास्थ्य समस्या लिएका अस्पतालबाट सेवा दिएका थियो । यो सङ्ख्या बढेर सन् २०२३ मा १२ हजार ३३७ जनाले सेवा लिएको तथ्याङ्कमा उल्लेख छ । सेवा लिनेमा ६८.५ प्रतिशत पुरुष छन् । 

अस्पतालको इमर्जेन्सीमा सेवा लिनेको सङ्ख्या पनि बढ्दो छ । सन् २०२२ मा ३९६ जनाले सेवा दिएका थिए भने यो सङ्ख्या बढेर सन् २०२२ मा ४०८ जनाले सेवा लिएको अस्पतालको तथ्याङ्कले देखाउँछ । इमर्जेन्सीमा आएमामध्ये ४८ प्रतिशत गम्भीर समस्या लिएर आएको अस्पतालको भनाइ छ । 

हजार जना जीवित जन्मिने बच्चामध्ये आठदेखि दश जनामा जन्मजात मुटरोग देखिने गर्छ । डा.शाक्यका अनुसार समय नपुग्दै जन्मिएका बच्चाहरूमा यसको सम्भावना बढी हुन्छ । 

जन्मजात मुटुरोग कस्तो समस्या हो ?

डा.शाक्यका अनुसार आमाको गर्भमा हुँदै मुटुभित्रको विभिन्न भाग तथा मुटुबाहिरका धमिनीहरूको बनावटमा गडबढी हुने जन्मजात मुटुको रोग समस्या हो । जन्मँदै असाधारण स्वास्थ्य अवस्थामा रहेका बालबालिकाको मृत्यु हुने प्रमुख कारणमध्ये एक जन्मजात मुटुरोग पर्दछ । 

जन्मजात मुटुरोग नीलो हुने र नीलो नहुने गरी दुई किसिममा वर्गीकरण गरिएको डा.शाक्य बताउनुहुन्छ । डा.शाक्यका अनुसार नीलो हुने रोगहरू जटिल प्रकृतिका हुन्छन् । 

डा.शाक्यका अनुसार जन्मजात मुटुरोग मुटुका पर्दाहरूमा प्वाल पर्ने, मुटुका मुख्य धमनीहरू साँगुरिने तथा भल्भहरू आंशिक वा पूर्णरुपमा बन्द हुने, मुख्य धमनीहरू उल्टोपाल्टो भएर निस्कने, मुटुका दायाँ वा बायाँ भाग अविकसित हुने जस्ता जन्मजात मुटुरोगमा पर्दछन् । 

कारण  

१० प्रतिशत जन्मजात मुटुरोगमा मात्र कारण पत्ता लाग्ने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार ९० प्रतिशत रोगका कारण अझै पत्ता लागेको छैन । 

जन्मजात मुटुरोगका मुख्य कारणहरूमा वंशाणुगत तथा वातावरणीय कारण रहेका छन् । डा. शाक्यका अनुसार आमा, बुबा, नजिकको नातेदार, जन्मजात मुटुरोगी, नजिकको नातेदारभित्रको वैवाहिक सम्बन्ध अन्य कारणमा अनौठो रूप लिएर बच्चा जन्मनु, बच्चामा क्रोमोजोमको गडबढी हुनु । 

लक्षण 

मुटुको पर्दामा सानो प्वालदेखि  लिएर धेरै जटिल विकृतिहरू हुन सक्दछ । करिब २/३को लक्षण जन्मेको एक महिनाभित्र देखा पर्ने डा. शर्मा बताउनुहुन्छ । १/३ नवजात  शिशुको समयमै उपचार नभएमा जन्मेको केही दिनभित्रमा मृत्यु हुन सक्ने चिकित्सक बताउँछन् । कुनै जन्मजातका लक्षणहरू नदेखिने कारण धेरै वर्षसम्म पनि रोग पत्ता नलाग्ने हुन्छ । यदि जन्मजात मुटुरोग गम्भीर समस्या भएमा जन्मेको केही समयदेखिनै लक्षणहरू देखापर्दछन् । 

लक्षण

उमेर अनुसार तौल नबढ्ने, कमजोर भइरहने, छातीको बायाँ भागमाथि उठ्ने, छाती दुख्ने, बेहोस हुने जीउ दुख्ने, जन्मँदै नीलो भएर जन्मिने वा जन्मेको केही समयपछि नीलो भएर आउने । रुने बेलामा वा बल प्रयोग गर्दा नीलोपना झन् बढ्ने, सास छिटो छिटो फेर्ने, बेहोस हुने हिँड्दा छिटो थाक्ने जस्ता लक्षण देखा पर्दछन् । 

जन्मजात मुटुरोग छातीको एक्स-रे, इसिजी, इकोकार्डियोग्राफी गरेर पत्ता लगाउन सकिने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार गर्भावस्थाको १८ हप्तादेखि भ्रूणको मुटुको भिडियो एक्स-रे गरे पनि पत्ता लगाउन सकिन्छ । 

उपचार 

सानो प्वाल र समस्या रहित रोगमा विशेष उपचारको आवश्यकता नपर्ने चिकित्सक बताउँछन् । यस्तो अवस्थामा चिकित्सकको निर्गरानीमा बस्न चिकित्सकको सुझाव छ । 

औषधी उपचार (हार्ट फेलर, निमोनिया रक्तअल्पता, इन्टरभेन्सन-शल्यक्रिया नगरी उपचार गर्ने) शल्यक्रिया गरिने । शल्यक्रियापछि रोगमा निरन्तर औषधीको सेवनको साथै जिन्दगीभर चिकित्सकको निगरानी बस्नुपर्ने हुन सक्छ । 

रोकथाम गर्ने उपाय 

जन्मजात मुटुको रोग हुन नदिन गर्भावस्थामा मधुमेह, उच्च रक्तचाप नियन्त्रणमा राख्ने, धूमपान, मद्यपान नगर्ने, पौष्टिक खानेकुरा खाने, तनावमुक्त रहने, जथाभावी औषधी नखाने, नातेदारमा वैवाहिक सम्बन्ध नराख्न र विभिन्न किसिमका विकिरणबाट टाढै रहन चिकित्सकको सुझाव छ । अस्पतालमा १५ वर्षमुनिका बालबालिकामा देखिने मुटुरोगको निःशुल्क उपचार गरिंदै आएको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।