• ७ जेठ २०८१, सोमबार

स्मार्ट लाइसेन्स छपाइ अझै अन्योल, सकिएन गुणस्तर परीक्षण

blog

काठमाडौँ, माघ २५ गते । दुई हप्ता अघि आएको छ लाख थान स्मार्ट कार्ड लाइसेन्सको छपाई कार्य अझै सुरु हुन सकेको छैन । स्मार्ट कार्ड लाइसेन्सको ल्याब परीक्षण कार्य नसकिएका कारण छपाइको काम सुरु हुन नसकेको यातायात व्यवस्था विभागले जनाएको छ । 
विभागका महानिर्देशक उद्धव रिजालका अनुसार जर्मनबाट आएको उक्त कार्डको ल्याब टेस्ट गर्नुपर्ने र गुणस्तर जाँच गरेपछि मात्र विभाले छपाई कार्य सुरु गर्नेछ । उहाँले भन्नुभयो, “दुई हप्ता अघि नेपाल आइपुगेको छ लाख स्मार्ट कार्ड लाइसेन्सको छपाइ कार्य यसको गुणस्तर जाँच सकेपछि मात्र गछौँ, अहिले यसको ल्याब टेस्ट र गुणस्तर जाँच नै सकिएको छैन ।” यातायात व्यवस्था विभागले गत आर्थिक वर्षमा जर्मनीको भूलवर्ग  कम्पनीसँग स्मार्ट लाइसेन्स छपाइका लागि १२ लाख थान स्मार्ट कार्ड उपलब्ध गराउने विषयमा सम्झौता भएको थियो । 
सोही बमोजिम जर्मनीको भूलवर्ग कम्पनीले पहिलो चरणमा छ लाख थान स्मार्ट लाइसेन्स नेपाल पठाएको हो । ल्याब टेस्ट र गुणस्तर  जाँच सकेर विभागलाई हस्तान्तरण गरे लगतै द्रुत गतिमा लाइसेन्स छपाइको काम थालिने उहाँको भनाइ छ । 
उहाँले भन्नुभयो ,“कार्डको ल्याब टेस्ट र गुणस्तर जाँच सकेर प्राप्त भए लगत्तै द्रुत गतिमा लाइसेन्स छपाइ थाल्छौँ ।” अहिले विभागसँग एउटा मात्र छपाइ मेसिन भएका कारण छपाइ प्रक्रिया केही लम्बिन सक्ने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार नेपालस्थित जर्मन दूतावासले दुई दिनमा कार्डको ल्याब टेस्ट र गुणस्तर जाँच गरेर विभागलाई हस्तान्तरण गर्ने जनाएको छ ।  
कार्डमा केही समस्या देखिए दुवै तर्फका प्राविधिक बसेर यसको समाधान गरिने उहाँले बताउनुभयो । 
थप छ लाख कार्ड आउँदै 
विभागका महानिर्देशक रिजालका अनुसार सम्झौता बमोजिमको थप छ लाख थान कार्ड नेपाल आउँदै छ। उहाँका अनुसार उक्त कार्ड अहिले नेपाल आउने चरणमा नै रहेको छ । विभागका अनुसार हाल करिब १४ लाखप्रति लाइसेन्स छपाइ गर्न बाँकी रहेको छ । नवीकरण, हराएको लाइसेन्स र नयाँ गरी दैनिक पाँच हजारको हाराहारीमा लाइसेन्सको माग रहेको छ । 
यस्तै विभागले १५ लाख प्रति कार्ड र एउटा स्मार्ट छपाई मेसिनका लागि विभागले नयाँ टेन्डर आश्वासन गरेको छ । आगामी साउनबाट नियमित छपाइमा लैजानेगरि तयारी भइरहेको महानिर्देशक रिजालले बताउनुभयो । 
तर नयाँ टेन्डरमा कार्ड र मेसिन एउटै कम्पनीबाट ल्याइने भएकाले विगतको समस्या झेल्नु नपर्ने रिजालले बताउनुभयो । छाप्न बाँकी रहेका लाइसेन्स छापिएको वा नछापिएको जानकारी मोबाइलमा म्यासेजमार्फत दिइन्छ । जसका लागि अनलाइन फारम भर्दा वा नवीकरण गर्दा आफ्नो मोबाइल नम्बर राख्नुपर्ने हुन्छ । लाइसेन्स छापेर सम्बन्धित कार्यालयमा पुगे नपुगेको जानकारी विभागको वेबसाइटबाट पनि लिन सकिन्छ ।
२०७२ सालमा स्मार्ट लाइसेन्स लानुभएपछि छपाइको काम बाँकी रहँदै आएको छ । परीक्षा पास गरेपछि दुई वर्षसम्म लाइसेन्स कार्ड कुर्नुपर्ने बाध्यता छ । विभागले श्रम र अध्ययनमा विदेश जाने, शान्ति मिसनमा जाने नेपाली सेना एवं नेपाल प्रहरीका सवारी चालकलाई भने निवेदन दिएको दुई तीन दिनमै लाइसेन्स उपलब्ध गराइँदै आएको छ ।
Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।