• १२ पुस २०८१, शुक्रबार

पाठका लेखक भेटेपछि

blog

कक्षाकोठामा विभिन्न विधाको पाठ पढाउँदा शिक्षकले लेखकका बारेमा पनि पढाउनुहुन्छ । लेखकका बारेमा पढ्दै गर्दा लेखकचाहिँ कस्ता हुन्छन् होला भन्ने जिज्ञासा हुन्छ हाम्रो मनमा र भेट्ने चाहना हुन्छ अन्तरमनमा । हाम्रो मनको त्यो चाहना मनमा नै रहन्छ, कहाँ प्रत्यक्ष भेट्ने अवसर मिल्छ र लेखकसँग  तर गत वर्ष विद्यालयले त्यो अवसर जुराइदियो । हामीले आफूले पढ्नुपर्ने पाठका लेखकसँग प्रत्यक्ष भेट्ने र अन्तर्क्रिया गर्ने अवसर पायौँ । नेपाली विषयका गुरु केशरी अम्गाईले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा रहेको राजेन्द्रमान डङ्गोलको नियात्रा ‘कञ्चनजङ्घालाई नियाल्दा’ पढाउने क्रममा समय मिल्यो भने लेखकसँग प्रत्यक्ष संवाद गराउने वाचा गर्नुभएको थियो । लेखकसँग भेट्दा कस्तो होला ? हामी उत्सुक र उत्साहित थियौँ । 

‘हामीले केही दिन अघि पाठका लेखकसँग भेट्न पाउने हर्षले हामीमा बेग्लै उत्त्साह जागेको थियो । लेखकसँग हामी झन्डै तीन घण्टा बस्यौँ । 

उहाँसँग सम्बन्धित थुप्रै जिज्ञासा हामीले राख्यौँ । उहाँले नियात्रा लेख्दा ध्यान दिनुपर्ने आधारभूत कुरा सिकाउँदै कतै घुमेपछि नियात्रा लेख्न अभिप्रेरित पनि गर्नुभयो ।  लेखकका बारेमा हामीले उनकै मुखबाट सुन्यौँ । राजेन्द्रमान डङ्गोलको जन्म विसं २०२५ चैत २४ गते भएको रहेछ । उनी पर्यटन व्यवसायी रहेछन् । पर्यटकलाई घुमाउने क्रममा उनी आफू पनि देशका विभिन्न भागमा पुग्ने गरेका रहेछन् तर नियात्रा भने लेख्दा रहेनछन् । लेख्ने सोच पनि रहेनछ पहिला त । उनको दाजु कवि आर.एम. डङ्गोलले ‘तिमी यति धेरै ठाउँमा घुम्छौ, नियात्रा लेख्न कोसिस गर’ भनेर सुझाव दिएपछि लेख्न थालेका रहेछन् । 

उनको पहिलो नियात्रा ‘यात्राको पाइला’ रहेछ र दोस्रो ‘पैतालामा हिउँ आँखामा हिमाल’ रहेछ । ‘कञ्चनजङ्घालाई नियाल्दा’ नियात्रा ‘यात्राको पाइला’ सङ्ग्रहबाट साभार गरिएको रहेछ । 

उनले हामीलाई नियात्रा कसरी लेख्न सकिन्छ भनेर सिकाउँदै नियात्रा लेखन गर्न निजात्मक अनुभूति हुनुपर्ने, वर्तमान कालमा लेखिनुपर्ने, स्थानीय भूगोल, संस्कृति र इतिहासलाई समावेश गर्न सकिने तर कोरा कल्पना गरेर नियात्रा लेख्न नहुने आदि कुरा बताए । नेपाली साहित्यका राम्रा नियात्राकार राजेन्द्रमान डङ्गोलसँगको भेट र उप्रेरणाले म आफ्नो जीवनमा नियात्रा लेख्न सकौँला या नसकौँला, त्यो बेग्लै कुरो हो तर कक्षाकोठामा पढ्ने पाठका लेखकसँग भेटेर प्रेरणा लिन पाउनु विद्यालय जीवनमा एउटा बेग्लै अनुभूति सँगाल्ने अविस्मरणीय अवसरका रूपमा लिएको छु मैले ।