- रेमिट्यान्स कारोबार र धरौटी रकम भुक्तानी नगरेको आरोपमा प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर । दुई कम्पनीलाई पनि समान तीन कसुरमा समान बिगो कायम ।
- ३८ सहकारीको छ करोड ५२ लाख ५५ हजार ४२० रुपियाँसमेत भराउन माग ।
गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १८ गते । देशका ३८ सहकारी संस्थामार्फत भएको रेमिट्यान्स कारोबार र धरौटी रकम भुक्तानी नगरेको आरोपमा प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, आपराधिक विश्वासघात र हुन्डीसमेतको कसुरमा उहाँहरूविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । प्रतिवादी पाँचै जना र दुई कम्पनीलाई समान तीन कसुरमा समान बिगो कायम गरेर मुद्दा दायर भएको छ ।
विभिन्न सहकारी र प्रभु मनी ट्रान्सफर तथा प्रभु म्यानेजमेन्टको सम्झौता अनुसार भुक्तानी नपाएको भन्दै सहकारी संस्थाले दिएको जाहेरीका आधारमा अनुसन्धानपछि मुद्दा चलाइएको हो । प्रभु म्यानेजमेन्टमार्फत सहकारी संस्थालाई भुक्तानी दिनुपर्ने रकम उपलब्ध नगराई ठगी र आपराधिक विश्वासघात तथा राष्ट्र बैङ्क अन्तर्गतको कसुर गरेको जिकिर अभियोगपत्रमा लिइएको छ ।
मुद्दामा रामबाबुप्रसाद जयसवाल, हेमकुमार महाजु, देवीप्रकाश भट्टचन, कुसुम लामा, रामेश्वर सापकोटा, श्रुतिका लामा, सन्तोषकुमार लामालाई प्रतिवादी बनाइएको छ । यस्तै प्रभु मनि ट्रान्सफर र प्रभु मेनेजमेन्ट प्रालिलाई पनि विपक्षी कायम गरिएको छ । जयसवाल, महाजुलाई मुद्दासाथ उपस्थित गराइएको छ र भट्टचनबाहेकलाई फरारका रूपमा मुद्दा दर्ता गरिएको छ । पक्राउ परी हाजिरी जमानतमा रिहा हुनुभएका भट्टचनलाई अनुपस्थितका रूपमा मुद्दा चलाइएको छ ।
अभियोगपत्र अनुसार प्रतिवादी पाँचै जनालाई समान तीन कसुरमा समान बिगो कायम गरिएको छ । ठगी र प्रभु मनी ट्रान्सफरको कसुरको हकमा फरक फरक छ करोड ५२ लाख ५५ हजार ४२१ रुपियाँ बिगो दाबी गरिएको छ । यस्तै प्रभु मेनेजमेन्टबाट रेमिटको नाममा भएको हुन्डी कारोबारमा छ करोड १० लाख सात हजार १५० रुपियाँ बिगो दाबी गरिएको छ । यस्तै सरकारीको दाबी अनुसार छ करोड ५२ लाख ५५ हजार ४२० रुपियाँ क्षतिपूर्ति भराउन माग गरिएको छ । यस्तै अपराधपीडित कोषमा समेत रकम भराउन माग गरिएको छ ।
कसुर ठहर भएमा प्रतिवादीलाई मुलुकी अपराधसंहिता २०७४ को दफा २४९ को व्यवस्था अनुसार ठगीमा सात वर्षसम्म कैद र ७० हजार रुपियाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ । यस्तै नेपाल राष्ट्र बैङ्कले जारी गरेको निर्देशनविपरीत काम गरेमा दफा ९५ अनुसार कसुर भएमा दफा ९६ अनुसार सजाय हुने छ । जसमा व्यक्तिको हकमा बिगो जफत गरी तीन गुणासम्म जरिबाना वा सात वर्षसम्म तथा दुवै सजायसमेत हुन सक्ने व्यवस्था छ ।
कति छ दाबी ?
सहकारीले प्रभु म्यानेजमेन्टको सम्झौतामा एजेन्ट भई काम गरेको तर व्यक्तिलाई भुक्तानी दिएको रकम र धरौटी नपाएको भन्दै जाहेरी दिएका थिए । भुक्तानी रकम र धरौटी गरी ३८ सहकारीको छ करोड ५२ लाख ५५ हजार ४२० रुपियाँ र सोको ब्याजसमेत भराउन माग गरेर जाहेरी दिएका थिए । भुक्तान रकम, धरौटी र ब्याजसमेत भराइदिन जाहेरीमा माग गरिएको छ ।
गुण समूहका अध्यक्ष शाक्य पक्राउ
यसैबिच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । बैङ्किङ कसुरको अभियोगमा सिआइबीको टोलीले शाक्यलाई काठमाडौँबाट पक्राउ गरेको प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रभु म्यानेजमेन्ट कम्पनीको रकम हिनामिना गरेको आरोपमा सिआइबीले प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन, बैङ्का प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र कर्जा प्रमुख अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सिआइबीका अनुसार बैङ्किङ कसुरसम्बन्धी राष्ट्र बैङ्कको प्रतिवेदनका आधारमा प्रभु बैङ्क तथा प्रभु म्यानेजमेन्ट समूहका पदाधिकारी तथा कर्मचारीमाथि अनुसन्धान भइरहेको छ ।
प्रभु बैङ्कका सिइओ अशोक शेरचनसँग जोडिएको मुद्दामा अनुसन्धानका लागि गुण समूहका अध्यक्ष शाक्यलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । यसअघि सिआइबीले गत कात्तिक २२ गते प्रभु बैङ्कको प्रमुख कार्यालय बिजुली बजारमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।