• ६ माघ २०८१, आइतबार

रेल्वे स्टेसनमा सशस्त्र सुरक्षा बेस

blog

महोत्तरीको पिपराढी स्टेसनमा सशस्त्रको रेल्वे सुरक्षा बेस कार्यालयको उद्घाटन गरिँदै । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दीबास, माघ २२ गते ।
नेपाल रेल्वे कम्पनीको पिपराडी स्टेसनमा सशस्त्र प्रहरीले सुरक्षा बेस स्थापना गरेको छ । रेल्वेको जनकपुर बिजलपुर खण्डस्थित पिपराढी स्टेसन परिसरमा सशस्त्रले रेल्वे सुरक्षा बेस स्थापना गरेको हो ।

सुरक्षा बेसको लोहरपट्टी नगरपालिकाका उपप्रमुख सरिता शर्मा, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल तथा सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेड क्वार्टर महोत्तरीका एसपी लेखनाथ खनालले वोर्ड अनावरण गरी सोमबार संयुक्त उद्घाटन गर्नुभएको हो ।

लामो प्रतीक्षापछि सञ्चालित रेल्वेको सुरक्षा र यात्रुको सुविधाका लागि सशस्त्र प्रहरीले पुर्‍याएको योगदानको चर्चा गर्नुुहुँदै उपप्रमुख शर्माले सशस्त्र बेस स्थापनाले रेल्वे सेवा र यात्रुको सुरक्षामा थप योगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले शान्ति सुरक्षाका हरेक मोर्चामा क्रियाशील सशस्त्र प्रहरीको सहयोगमा स्थानीयतह प्रतिबद्ध रहेको बताउनुभयो ।

रेल्वे स्टेसन परिसरमा बेस क्याम्प स्थापनाले सशस्त्र प्रहरीलाई थप प्रभावी र विश्वसनीय सेवा प्रवाह गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो ।

नेपाल सरकारको २०७७ साल पुस १५ गतेको निर्णयअनुसार रेल्वे सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले स्टेसन तथा हल्टहरुमा गत साउन १ गतेदेखि सुरक्षा परिचालन गर्दै आएको छ । सोही क्रममा पिपराढी स्टेसनमा सशस्त्र बेस स्थापना गरिएको सशस्त्र हेड क्वार्टर महोत्तरीका एसपी खनालले बनाउनुभयो । उहाँका अनुसार पिपराडी रेल्वे बेसमा असइको कमाण्डमा सुरक्षा परिचालन गरिएको छ ।

गत असार ३१ देखि सञ्चालित जनकपुर बिजलपुरा रेल्वे सेवाअन्तर्गतका स्टेसन तथा हल्टहरुमा सशस्त्र प्रहरीले सुरक्षा परिचालन गर्दै आएको छ । सधैँ भीडभाड हुने मूल स्टेसन जनकपुरमा भने डिएसपीको कमाण्डमा यसअघि नै रेल्वे सुरक्षा बेस स्थापना गरी सेवा प्रवाह गर्दै आएको सशस्त्रले जनाएको छ ।