• २३ वैशाख २०८१, आइतबार

जनसङ्ख्याको दुई प्रतिशतमा दुबी : यसरी हुन्छ उपचार

blog

काठमाडौं, माघ २३ गते । धेरैलाई छालामा सेतो दाग आउने समस्याले सताउने गर्छ । शरीरका विभिन्न भागमा सेतो वा खैरो रङको दाग आउने समस्यालाई दुबी भनिन्छ । छालारोग विशेषज्ञ डा. ईशा पौडेल कोइरालाका अनुसार छालाको रङ्ग बनाउने मेलानोसाइट्स कोषको नष्ट भएपछि दुबी हुन्छ । दुबी फैलिने र नफैलिने गरी दुई प्रकारका हुन्छन् । 

उहाँ भन्नुहुन्छ, “शरीरमा टिसेल नामक कोष हुन्छ जसलाई रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता भनिन्छ । टिसेलले मेलनासाइट नष्ट गरेपछि दुबी हुन्छ ।”

यो समस्या देखियो भन्दैमा हामीले खान बार्नुपर्दैन । रबर, प्लाष्टिकबाट बनेको टाइट बेल्ट, जुत्ता, लुगा लगाउनुहुँदैन । दुबी भएको ठाउँमा कन्याउन हुँदैन । दुबी भएमा मानिस धेरैबेर घाममा नबस्न, नकन्याउन, घाउ हुन नदिन चिकित्सकको सुझाव छ ।

नेपालमा यकिन तथ्याङ्क नभए पनि छालामा समस्या भएर अस्पताल आउने ३० देखि ४० जनामध्ये दुई जनामा दुबीको समस्या देखिने चिकित्सक बताउँछन् । विश्वमा जनसङ्ख्याको दुई प्रतिशतमा दुबी भएको अनुमान गरिएको छ । 

सेतो दाग दुबी नहुन पनि सक्छ ?

चिकित्सकका अनुसार हरेक सेतो दाग दुबी हुँदैन । छालामा सेतो दाग घाउ निको भएर, छालामा क्यान्सर हुनुभन्दा पहिले पनि छालामा सेतो दाग हुने डा. कोइराला बताउनुहुन्छ । यो समस्या देखिँदैमा नआत्तिन उहाँको सुझाव छ । डा. कोइरालाका अनुसार दुबी हुँदा छालामा सेतो, कालो दाग देखा पर्दछन् । चिकित्सकले छाला जाँच गरेपछि मात्र दुबी भए नभएको पत्ता लगाउन सकिने डा.कोइराला बताउनुहुन्छ । 

दुबीले अन्य अङ्गमा असर गर्दैन 

दुबी कुनै रोग होइन यो छालाको समस्या हो । यसले अन्य अङ्गमा असर नगर्ने चिकित्सक बताउँछन् । डा.कोइरालाका अनुसार दुबी छुँदैमा सर्दैन ।

रोगप्रतिरोधात्मक क्षमताको कमी, वंशाणुगत, मेलनाइट्स कमीले दुबी हुन्छ । दुबी हातखुट्टाका औला, ओठ, कपाल, परेला, घाउ भएको ठाउँमा आउने सम्भावना बढी हुन्छ । 

छालामा सेतो र खैरो गरी दुई प्रकारका हुन्छन् । उहाँका अनुसार खैरो दुबी मान्छेको ढाडमा, घाँटीमा कपडाले छोप्ने भागमा हुन्छ । यो ढुस्सी (फंगल) इन्फेक्सनले गर्दा हुने गर्छ । यस्तो दुबी एक महिना उपचारपछि निको हुँदै जान्छ । 

डा.कोइरालाका अनुसार हातखुट्टाको दुबी उपचारपछि पनि निको नहुने सम्भावना बढीहुन्छ । उहाँ भन्नुहुन्छ, “शरीरका अन्य भागमा आएको दुबीभन्दा हातखुट्टामा आएको दुबी निको बनाउन गाह्रो हुन्छ ।” 

 समयमै उपचार गरिएन भने शरीरका विभिन्न भागमा फैलिने सम्भावना हुन्छ । यो समस्या सबै उमेर समूहका मानिसलाई देखिए पनि २० देखि ४० वर्षको उमेरमा बढी देखिने चिकित्सक बताउँछन् । 

उपचार 

दुबी विस्तारै निको हुने समस्या हो । समस्याको प्रकृति अनुसार एक महिनादेखि दुई वर्षसम्म समय लाग्ने सक्ने डा.कोइराला बताउनुहुन्छ । चिकित्सकको परामर्शमा मात्रै औषधी उपचार गर्न डा. कोइरालाको सुझाव छ । उहाँका अनुसार दुबीको औषधी लगाउने मलम, खाने औषधी हुन्छन् । कुनै मलम लगाएर घाममा देखाउनुपर्ने हुन्छ । खाने र लगाउने औषधीले निको नभएमा फोटो थेरापीको माध्यमबाट उपचार गर्न सकिन्छ । सबै मेडिकल उपचारबाट भएन भने भिटिलिगो शल्यक्रिया आवश्यक पर्ने डा. कोइराला बताउनुहुन्छ । छाला दुबी भएको ठाउँमा टाँस्ने, मेलानोसाइट्स प्रत्यारोपण गरेर पनि दुबीको उपचार गर्न सकिन्छ । 

यो समस्या देखियो भन्दैमा हामीले खान बार्नुपर्दैन । रबर, प्लाष्टिकबाट बनेको टाइट बेल्ट, जुत्ता, लुगा लगाउनुहुँदैन । दुबी भएको ठाउँमा कन्याउन हुँदैन । दुबी भएमा मानिस धेरैबेर घाममा नबस्न, नकन्याउन, घाउ हुन नदिन चिकित्सकको सुझाव छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।