• २३ वैशाख २०८१, आइतबार

हरेक वर्ष २० हजार क्यान्सरका बिरामी थपिन्छन्

नेपालमा ११ प्रतिशतको मृत्युको कारण क्यान्सर

blog

काठमाडौं, माघ २१ गते । नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मानिसको मृत्यु क्यान्सरले हुने गरेको एक अध्ययनले देखाएको छ । 

विश्व क्यान्सर दिवसको अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ११.११ प्रतिशत मानिसको मृत्युको कारण क्यान्सर बनेको जानकारी दिनुभएको हो । 

नेपालमा ४० प्रतिशत भन्दा बढी मृत्यु फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा हुन्छ । डा. मरासिनीका अनुसार नेपालमा प्रत्येक वर्ष करिब २० हजार भन्दा बढी क्यान्सरका नयाँ बिरामी थपिने गर्छन् । 

डा. रुद्र मरासिनीका अनुसार नेपालमा प्रत्येक वर्ष करिब २० हजार भन्दा बढी क्यान्सरका नयाँ बिरामी थपिने गर्छन् । 

सन् २०२० मा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो । नेपालमा सबैभन्दा बढी देखिएको क्यान्सरमा फोक्सो, पाठेघरको मुख, स्तन, आमाशय (पेट) र आन्द्राको क्यान्सर रहेका छन् । 

फोक्सोको क्यान्सर १२, पाठेघरको मुखको क्यान्सर ११, स्तन क्यान्सर १०, आमाशयमा हुने क्यान्सर ८, आन्द्रामा हुने क्यान्सर ५ र अन्य क्यान्सर ५४ प्रतिशत रहेको छ । 

विश्वमा सबैभन्दा बढी मृत्यु गराउने रोग मध्ये क्यान्सर एक हो । विश्वको तथ्यांकअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरकै कारण हुने गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक वर्षमा विश्वमा दुई करोड क्यान्सरका नयाँ बिरामी थपिने गर्छन् । सोही अवधिमा ९७ लाख ३६ हजार ५२० जनाको मृत्यु हुन्छ ।

विश्वमा सबै भन्दा बढी फोक्सो, स्तन, कलेजो, पाठेघरको मुखको क्यान्सर देखिने गर्छ । पुरुषमा फोक्सोको क्यान्सर र महिलामा पाठेघर र स्तन क्यान्सरको समस्या बढी देखिएको छ । क्यान्सरको एक तिहाइ कारक सुर्तीजन्य पदार्थको प्रयोग, मद्यपान र शारीरिक निष्क्रियता रहेको छ।

विश्वमा सबैभन्दा बढी मृत्यु गराउने रोग मध्ये क्यान्सर एक हो । विश्वको तथ्यांकअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरकै कारण हुने गरेको छ।

कसरी हुन्छ क्यान्सर ? 

क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विवेक आचार्यका अनुसार हाम्रो शरीरमा हजारौँ कोषिका हुन्छन् । कोषिकाको समूहको अस्वाभाविक वृद्धिका कारण क्यान्सर हुन्छ ।

सामान्यतया कोष बढ्ने र उमेर पुगेपछि झर्ने गर्दछन् । कोषिकामा खराबी उत्पन्न भयो भने अनियन्त्रित गाँठागुठी निस्कने गर्दछन् । क्यान्सरलाई अबुर्दरोग पनि भन्ने गरिन्छ । अत्यधिक मद्यपान र सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थकर आहार, विकिरणको प्रभाव, वंशाणुगत कारण, जीवाणुका कारण, वातावरणीय प्रदूषणका कारण क्यान्सर हुने चिकित्सकको भनाइ छ ।

नियमित रूपमा स्वास्थ्यको जाँच गरेर क्यान्सर प्रारम्भिक चरणमै पत्ता लागेमा उपचार तथा रोकथाम गर्न सकिने डा. आचार्य बताउनुहुन्छ ।

नेपालमा तेस्रो र चौथो अवस्थामा बिरामी अस्पतालमा पुग्ने हुँदा जोखिम बढेको उहाँको भनाइ छ । पहिलो चरणमा पत्ता लागे ९० प्रतिशत, दोस्रो चरणमा ७० प्रतिशत र तेस्रो चरणमा पत्ता लागे ५० प्रतिशत र चौथो चरणमा पत्ता लागे पाँच प्रतिशतको क्यान्सर निको हुन्छ । 

क्यान्सर रोग नियन्त्रण गर्न क्यान्सर सम्बन्धी काम गर्ने विभाग छुटाउनुपर्नेमा डा. आचार्यले जोड दिनुभयो ।  

नियन्त्रणमा सरकारको प्रयास 

सरकारले ७७ जिल्लामा स्वास्थ्यकर्मीलाई नसर्ने रोग सम्बन्धी क्षमता अभिवृद्धिका तालिम दिइरहेको डा. मरासिनीले जानकारी दिनुभयो । जसले गर्दा क्यान्सरको प्रारम्भिक चरणमै पहिचान र रोकथाम गर्न मद्दत गर्नेछ । 

सरकारले विपन्न नागरिक औषधी उपचार कोषबाट क्यान्सर पीडितका लागि एक लाखसम्मको औषधि उपचारको व्यवस्था गरेको छ । भने प्रदेश सरकारले पनि थप  एक लाखसम्मको उपचार सहायता प्रदान गर्दै आएको उहाँको भनाइ छ । 

चिकित्सकका अनुसार पहिलो चरणमा पत्ता लागे ९० प्रतिशत, दोस्रो चरणमा पत्ता लागे ७० प्रतिशत र तेस्रो चरणमा पत्ता लागे ५० प्रतिशत र चौथो चरणमा पत्ता लागे पाँच प्रतिशतको क्यान्सर निको हुन्छ ।  

सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न र बेचबिखनलाई नियमन गर्न बनेको ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८, सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली २०६८ लगायत निर्देशिका कार्यान्वयनमा छ । 

सरकारले पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमलाई पनि राष्ट्रिय खोप कार्यक्रममा राख्ने तयारी गरिरहेको छ । २०८० मा १० हजार किशोरीलाई एचपीभी खोप लगाइसकेको छ । स्क्रिनिङ तथा रोकथाम सम्बन्धी कार्य व्यवस्थित गर्न सरकारले पाठेघरको मुखको क्यान्सर रोकथाम सम्बन्धी निर्देशिका, २०८० समेत जारी गरिसकेको छ ।  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।