• १३ असोज २०८१, आइतबार

टेबलटेनिसमा वंश र मुनमुन च्याम्पियन

blog

उपाधि विजेता मुनमुन कुन्डु (बायाँ) र वंश सिंघाल ।

टेबलटेनिसमा वंश च्याम्पियन

काठमाडौँ, माघ २० गते । होप्स टेबलटेनिस एकेडेमीका वंश सिंघालले छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार स्वर्ण जित्नुभएको छ । 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा वंशले आफ्नै क्लबका कृष्ण थापामगरलाई ११–७, ११–४ र ११–८ को सोझो सेटमा पराजित गर्नुभयो । महिला सिंगल्सको उपाधि पनि होप्सकै मुनमुन कुन्डुले जित्नुभएको छ । 

ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगितामा जम्मा नौ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा धरान एन्ड टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीकी पूर्व राष्ट्रिय च्याम्पियन गीता थापामगर, पुरुष ४० वर्षमाथि काष्ठमण्डप टेबलटेनिस एकेडेमीका चन्दन शाही र पुरुष ५५ वर्षमाथि भेडासिंह टेबलटेनिस क्लबका राजन सुब्बाले स्वर्ण जित्नुभयो । 

यु–१६ सिंगल्सको ब्वाइजमा धरानका श्रीराज वर्दान सिंह तथा गल्र्समा धरानकै श्रेया धर च्याम्पियन बन्नुभयो । श्रीराज र श्रेया प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित हुनुभयो । 

टिम इभेन्टको पुरुषमा होप्स तथा महिलामा चीनको लान्फाङ टेबलटेनिस क्लबले स्वर्ण जितेको छ । 

पुरुष/महिला सिंगल्स र टिममा शीर्ष तीनस्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार रुपियाँ पुरस्कार प्राप्त गरे । बाँकी स्पर्धामा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५/५ हजार रुपियाँ पुरस्कार प्राप्त गरे । 

वजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायतले पुरस्कार प्रदान गर्नुभयो । पाँचदिने प्रतियोगितामा तीन सय ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालबाट तीन सय ६४, भारतबाट २४ र चीनबाट दुई (महिला मात्र) खेलाडी सहभागी थिए ।