राधा लुइटेल
फिदिम, वैशाख ८ गते । पाँचथरको फिदिममा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समितिको कबर्डहलमा सुरु भएको प्रतियोगिताको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपानेले सोमबार गर्नुभयो ।
जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने छ । प्रतियोगितामा खुला भेट्रान्स, सुपर भेट्रान्स, जनप्रतिनिधि तथा कर्मचारीको जोडीबिच पनि प्रतिस्पर्धा भइरहेको आयोजक समिति अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिनुभयो ।
प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट खेलाडीको सहभागिता रहेको छ । मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स डबल्स र मिक्स डबल्स गरी चार विधामा ५८ जना खेलाडी सहभागी भएका छन् । यस्तै खुला मेन्स डबल र मिक्स डबल बाहेक अन्य विधामा प्रदेश बाहिरका खेलाडीको उपस्थिति रहेको छ ।
प्रतियोगितामा विभिन्न विधाका विजयीलाई नगद राशिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। मेन्स सिंगल र वुमेन्स सिंगलतर्फ प्रथम हुनेले १५ हजार, द्वितीयले १० हजार तथा तृतीयले ५ हजार रुपियाँ प्राप्त गर्ने छन् ।
त्यसैगरी, भेट्रान्स डबल र सुपर भेट्रान्सतर्फ विजेता टोलीले ३० हजार, उपविजेताले २० हजार तथा तृतीय हुनेले ५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। मेन्स डबल र मिक्स डबलतर्फ क्रमशः प्रथम, द्वितीय र तृतीय हुने टोलीले २५ हजार, १५ हजार र ५ हजार रुपियाँसहित सम्मान प्राप्त गर्ने छन् ।
जनप्रतिनिधि र कर्मचारीको जोडी प्रतियोगितातर्फ पनि प्रथम हुने टोलीले ३० हजार, द्वितीयले २० हजार र तृतीयले ५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।