• १२ साउन २०८१, शनिबार

तीन किताबखानाका सेवा तीनतिर

blog

काठमाडौँ, माघ १८ गते । राष्ट्रिय किताबखाना (निजामती) को आफ्नै प्रशासनिक भवन नहुँदा किताबखानाका तीन वटा कार्यालय तीनतिरबाट सञ्चालन हुँदै आएका छन् । २०७५ जेठ ४ गते सरकारले राष्ट्रिय किताबखाना (शिक्षक), राष्ट्रिय किताबखाना (प्रहरी) र राष्ट्रिय किताबखाना (निजामती) लाई एकीकरण गरी राष्ट्रिय किताबखाना बनाउने निर्णय गरेको थियो । गाभेर एउटै किताबखाना बनाइए पनि आफ्नै प्रशासनिक भवनको अभावमा अहिले पनि तीन वटा कार्यालय तीनतिरबाट सञ्चालन हुँदै आएका छन् । 

अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय शिक्षक किताबखाना र गृह मन्त्रालय अन्तर्गतको प्रहरी किताबखाना र राष्ट्रिय किताबखान (निजामती) लाई सङ्घीय ममिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत राखिएको छ । 

राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक वैकुण्ठनिधि शर्माले आफ्नै प्रशासनिक भवन नहुँदा नियमित सेवा प्रवाह गर्न कठिन भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “कानुनी रूपमा तीन वटा किताबखाना एकीकृत भएको छ । आफ्नै प्रशासनिक भवनको अभावमा व्यवहारमा एकीकृत स्वरूपमा सेवा प्रवाह गर्न कठिन भएको छ । अहिले साबिकै स्थानमा रहेका तीन वटै कार्यालयबाट सेवा प्रवाह भइरहेका छन् ।” 

अहिले राष्ट्रिय किताबखाना (निजामती) पुलचोकस्थित हरिहर भवन परिसरको प्रिफ्याब र सँगैको पशु सेवा विभागको भवनबाट, राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलबाट र राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौरबाट  सञ्चालन हुँदै आएका छन् । 

राष्ट्रिय किताबखाना (प्रहरी) का उपमहानिर्देशक शान्त अधिकारी भट्टराईले तीन वटै किताबखानालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत राखिए पनि काम भने आआफ्नै मन्त्रालय अन्तर्गत भइरहेको बताउनुभयो । 

सरकारले एउटै कार्यालय बनाउने निर्णय गरे पनि एकै ठाउँमा एउटै कार्यालय राख्ने आफ्नै प्रशासनिक भवनको अभावमा एकै ठाउँबाट सेवा सञ्चालन गर्न समस्या भएकाले अलग अलग स्थानबाटै सेवा प्रवाह भइरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मन्त्रालय एउटै तर अलग अलग स्थानमा कार्यालय सञ्चालन हुँदा सेवा सञ्चालन र प्रशासनिक नियन्त्रणमा समस्या भएको छ ।” 

निजामती किताबखाना २०७२ सालको भूकम्पअघि पुलचोकस्थित हरिहर भवनबाट सञ्चालन हुँदै आएको थियो । हरिहर भवनलाई भूकम्पले क्षति तुल्याएपछि निजामती किताबखाना पशु सेवा विभागको केही कोठा, हरिहर भवन परिसरका केही टहरा र साबिक किसान आयोग बसेको सानो भवनबाट सेवा प्रवाह गर्दै आएको निजामतीका महानिर्देशक शर्माले बताउनुभयो । 

आफ्नै भवन बनाउनका लागि गत आर्थिक वर्ष २०७९र८० मा भवन विभाग अन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइबाट भवन निर्माणका लागि प्रारम्भिक प्रक्रिया अगाडि बढे पनि काम अगाडि बढ्न सकेन । चालु आव २०८०/८१ मा किताबखानाको आफ्नै भवन बनाउने बजेट विनियोजन नभएको राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ ।