• ७ असार २०८१, शुक्रबार

जुनकिरी घट्दा किसानलाई समस्या

blog

काठमाडौँ, माघ १८ गते । साँझ बिहान जुनकिरीको उज्यालो नहुँदा किसानलाई समस्या परेको छ । यो सुन्दा अचम्म लाग्छ तर पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारीबालीमा क्षति हुन थालेपछि किसान मर्कामा पर्न थालेका हुन् । 

शङ्खेकिरा बढ्दा त्यसले किसानले लगाएको तरकारी र अन्नबालीमा ठुलो नोक्सानी पुर्‍याउँदै आएको छ । विज्ञहरूका अनुसार जुनकिरीको लार्भा अवस्थामा त्यसले शङ्खेकिरालाई खाने गर्दछ । लार्भा भनेको किराको असाध्यै बढी खाने अवस्था हो ।

प्राकृतिक आवासको नाश, कीटनाशक विषादीको बढ्दो प्रयोग र कृत्रिम प्रकाशले जुनकिरीको सङ्ख्यालाई कम गराउँदै छ । प्राकृतिक आवास नासिनु जुनकिरीको सङ्ख्यामा कमी आउने प्रमुख कारण हो । सिमसार र ओसिलो तथा झारपात भएको क्षेत्र जुनकिरीको प्राकृतिक बासस्थान हो । बढ्दो सहरीकरण, साँझ बिहानको धेरै प्रकाश, वन तथा बुट्यान क्षेत्र विनाश जस्ता कारणले जुनकिरी लोप हुँदै जान थालेको हो ।

कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ कीट विशेषज्ञ आरपी मैनाली जुनकिरीको पिलपिले बत्तीको उज्यालो मात्र नभई त्योभन्दा धेरै कृषिमा उपयोगिता रहेको बताउनुहुन्छ । जुनकिरीको सङ्ख्या घटेसँगै किसानको बालीमा शङ्खेकिराको प्रकोप बढेको उहाँले दाबी गर्नुभयो । 

जुनकिरीको लार्भा अवस्थामा शङ्खेकिरा मुख्य आहार हुने भएको र जुनकिरीको सङ्ख्या घट्दा शङ्खेकिराको सङ्ख्या बढिरहेको उहाँले उल्लेख गर्नुभयो । यो भनेको जङ्गलमा बाघको सङ्ख्या घट्दा मृग र खरायोको सङ्ख्या बढे जस्तै हो । जुनकिरीको सङ्ख्या घट्दा खेतबारीमा शङ्खेकिरा बढेको उहाँले स्पष्ट पार्नुभयो । 

जुनकिरीको बासस्थान चिसो र दलदले जमिन हो । बढ्दो सहरीकरण र जङ्गल नाश हुन थालेपछि जुनकिरीको बासस्थान खुम्चन थालेको छ । जसका कारणले जुनकिरीको सङ्ख्यामा क्रमिक रूपमा कमी आइरहेको छ । 

जुनकिरीले प्राकृतिक प्रकाश भएको समय र अरू रातको समयमा आफ्नो शरीरबाट आउने उज्यालोमा समागम गर्ने गरेका छन् । शरीरमा हुने रासायनिक प्रतिक्रियाले जुनकिरीले शरीरमा बत्ती बाल्छ । यसैको सहयोगले जुनकिरीले आफ्ना जोडीलाई आकर्षित पनि गर्छन् । अत्यधिक कृत्रिम प्रकाशले असर पार्दा जुनकिरीले समागम गर्न सक्दैनन् र तिनीहरूको सङ्ख्यामा कमी आइरहेको छ ।

जुनकिरी मात्रै होइन नेपालमा धेरै किराको सङ्ख्या घटिरहेको छ । किसानको सबैभन्दा नजिकको साथी माहुरीको सङ्ख्यामा कमी आउँदा त्यसले विभिन्न बालीको परागसेचनमा समस्या देखिएको छ । त्यसले कृषकको खाद्यान्न बाली मात्रै नभएर जङ्गलमा हुने कतिपय फल नै लोप हुने अवस्थामा पुगेको वैज्ञानिक मैनालीले जानकारी दिनुभयो ।

सरकारी निकायबाट नेपालमा किराको सङ्ख्या कति छ भनेर खोजी गरिएको छैन । सरकारी र गैरसरकारी निकायसँग किराको औपचारिक तथ्याङ्क नभए पनि एक दशकमा किरासम्बन्धी खोजीका क्रममा नेपालबाट २५ प्रतिशत किरा हराएका छन् । 

पर्यावरणको संरक्षण गर्नका लागि र खानेकुरा उत्पादन गर्न किराफट्याङ्ग्राको महत्वपूर्ण भूमिका रहने भएकाले यसको खोजी र अनुसन्धान आवश्यक रहेको विशेषज्ञ मैनालीले उल्लेख गर्नुभयो । 

कृषि वैज्ञानिक रेशमबहादुर थापाले संसारका ४० प्रतिशत किराको सङ्ख्या नाटकीय रूपमा घटिरहेको जानकारी दिनुभयो । उहाँले नेपालमा पनि २५ प्रतिशतले किराको सङ्ख्यामा कमी आएको जानकारी दिनुभयो । उहाँले मानिसको जीवनसँग किराको ठुलो सम्बन्ध रहने भएकाले किराको संरक्षणमा विश्व समुदाय नै एक हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । 

कृषि क्षेत्रका अनुसन्धानकर्ता कृष्ण धितालले जनावर, चरा र माछाको करिब ६० प्रतिशत खाना किरामै निर्भर हुने बताउनुभयो । किरा नभए चरा, चमेरा, भ्यागुता र माछा पनि हराउने भएकाले त्यसमा विशेष ध्यान पु¥याउन ढिला गर्न नहुने उहाँले उल्लेख गर्नुभयो ।