• ८ कात्तिक २०८२, शनिबार

लागुऔषधसहित एक जना पक्राउ

blog

रमेश विश्वकर्मा
गुल्मी, कात्तिक ८ गते ।
गुल्मीको कालिगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालिगण्डकी करिडोर सडकखण्डमा प्रहरीले लागुऔषधसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गएराति बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको ध १ प ५५८२ नम्बरको १२५ सिसीको होण्डा साइन मोटरसाइकल आफैं पल्टिएपछि स्थानीयले उद्धार गर्ने क्रममा चालकको साथमा रहेको झोलाभित्र कालो प्लास्टिकमा राखिएको लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मोटरसाइकल चालक बाग्लुङ नगरपालिका–२ रुद्रपिपलका ३२ वर्षीय मनोज प्रधानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले जानकारी दिनुभयो । घटनाको जानकारी पाएपछि प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक रमबहादुर सारुको कमाण्डमा दुई जना प्रहरी टोली घटनास्थलमा पुगेका थिए ।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा थप छ जना प्रहरी टोली समेत खटाइएको थियो । प्रहरीले घटनास्थलबाट डायाजेपाम – ३० एम्पुल, फेनर्गन – ३२ एम्पुल, बुप्रेनोर्फिन – ३२ एम्पुल बरामद गर्नुका साथै मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर मेडिकल परीक्षण गराई हाल इलाका प्रहरी कार्यालय रिडी, गुल्मीमा हिरासतमा राखिएको जनाएको छ ।