• २० वैशाख २०८१, बिहिबार

ऐतिहासिक पार्टीको अभियान

blog

राजनीतिक कालखण्डमा अनेक उतारचढाव भोग्दै आएको मुलुकको सबैभन्दा ठुलो पार्टी नेपाली कांग्रेसले स्थापनाको ७८ औँ स्थापना दिवस शुक्रबार मनाएको छ । हुकुमी जहानियाँ राणा शासनको अन्त्य गरेर प्रजातन्त्र स्थापनाको मूल उद्देश्यका साथ स्थापित कांग्रेसको ऐतिहासिक पृष्ठभूमि नियाल्दा ‘फुटेर होइन, जुटेर मात्र उद्देश्य अनुरूपको लक्ष्य हासिल गर्न सकिन्छ’ भन्ने पुष्टि भएको देखिन्छ । २००३ साल कात्तिक १५ गते मित्रराष्ट्र भारतको ऐतिहासिक सहर बनारसमा गरिएको एक भेलाले ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ को स्थापना गरेको थियो । यही जगमा उभिएर ‘नेपाली राष्ट्रिय कांग्रेस’ हुँदै ‘नेपाली कांग्रेस’ को स्थापना भएको इतिहासमा उल्लेख पाइन्छ । २००३ साल माघ १२ गते कलकत्तामा भएको प्रजातन्त्रवादीहरूको भेलाले ‘नेपाली राष्ट्रिय कांग्रेस’ को स्थापना गरेको थियो । राणा शासनविरुद्धमा जेहाद छेड्दै आएको यो पार्टी र २००५ साल साउन १ गते स्थापना भएको ‘नेपाल प्रजातन्त्र कांग्रेस’ बिच २००६ साल कात्तिक २७ गते एकीकरण भई ‘नेपाली कांग्रेस’ को स्थापना भएको विदित हुन्छ । समान उद्देश्यका यी दुई पार्टीको कलकत्तामा भएको संयुक्त अधिवेशनले एकीकरणलाई वैधानिकता प्रदान गरेको थियो । प्रजातन्त्रवादीहरूको एकीकृत शक्तिबाटै २००७ सालमा राणा शासनको अन्त्य गर्न सफलता मिलेको इतिहास साक्षी छ । 

नेपाली कांग्रेसले भोगेको ऐतिहासिक कालखण्डलाई नियाल्दा यसका संस्थापक नेताहरूको त्याग, तपस्या र समर्पण नै पार्टीको सबैभन्दा ठुलो शक्ति हो । प्रजातान्त्रिक मूल्य र मान्यतामा अडिग रहेर जनचाहना अनुरूप अगाडि बढेको पार्टीले प्रजातन्त्रको स्थापना, पुनस्र्थापना, राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापनाका अनेक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि अग्रमोर्चामा रहेर भूमिका खेल्न सक्षम नेपाली कांग्रेसले गणतन्त्रको संस्थागत विकास र सङ्घीयता कार्यान्वयनमा सबै राजनीतिक दललाई सँगै लिएर अगाडि बढ्ने उद्देश्य अनुरूप संसद्मा सबैभन्दा ठुलो पार्टी हुँदाहुँदै पनि सरकारको नेतृत्वको दाबी नगरेको राजनीतिक विश्लेषकहरूको भनाइलाई नकार्न सकिँदैन । 

करिब १० लाख सक्रिय सदस्य रहेको सबैभन्दा ठुलो पार्टीले आफ्नो जनाधार नखस्कियोस् भन्ने उद्देश्य अनुरूप ‘समुदायमा कांग्रेस’ नयाँ अभियान प्रारम्भ गरेको छ । कांग्रेसले शनिबारदेखि माघ २६ गतेसम्म यो अभियान सञ्चालन गर्ने भएको हो । त्यसो त प्रायः अन्य सबै पार्टीले आआफ्नो ढङ्गले जनतासम्म पुग्ने अभियान सञ्चालन गर्दै आइरहेका छन् । गत निर्वाचनमा देखिएको जनअभिमत तथा राजनीतिक पार्टीहरूप्रति बढ्दै गएको भनिएको वितृष्णाका कारण पनि राजनीतिक दलहरूले पार्टी शुद्धीकरण अभियान सञ्चालन गर्नु आवश्यक देखिएको विश्लेषकहरूको टिप्पणीप्रति राजनीतिक दलहरूको ध्यान जानु उत्तिकै अपरिहार्य छ । पार्टीको अस्तित्व एवं हैसियत स्थापित हुने भनेकै जनधरातलबाट हो । निर्वाचनको मुखमा मात्र जनताको घरदैलोमा मन जितेर मत पाउने अवस्था अबका दिनमा नरहने भएकाले पनि तल्लो तहसम्म पार्टीलाई क्रियाशील बनाउन यस्ता अभियान निरन्तर गर्न जरुरी देखिएको छ ।

बृहत् उद्देश्य अनुरूप कांग्रेसले समुदाय स्तरमा पुगेर प्रत्यक्ष साक्षात्कार गरी स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडा स्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सञ्चालन गरेको स्पष्ट पारेको छ । अभियानका क्रममा केन्द्रीय प्रतिनिधिलाई जिल्ला स्तरमा खटाइएको छ । केन्द्रीय प्रतिनिधिको समन्वयमा पार्टीका जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा स्थानीय तहका सबै वडामा प्रतिनिधि खटाइने तालिका तय गरिसकेको केन्द्रीय कार्यालयले जानकारी दिएको हो । कार्यालयका अनुसार अभियान मूलतः वडाकेन्द्रित तथा जनताका कुरा सुन्नेतर्फ केन्द्रित रहने भएको छ । माघ १६ गते सहिद दिवसका दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण प्रारम्भ गरिने कार्यक्रम छ । 

खटिएका केन्द्रीय प्रतिनिधिबाहेक पार्टीका केन्द्रदेखि वडा तहसम्म पदाधिकारी एवं सदस्य, विभिन्न भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई एक साथ परिचालन गर्न लागिएको यो नै सम्भवतः पहिलो अभियान हो । करिब डेढ दर्जन भातृसंस्था तथा अन्य शुभेच्छुक सङ्घ संस्था भएको पार्टीको अभियानले जनलहर ल्याउने अपेक्षा नेतृत्व पङ्क्तिले गरेको देखिन्छ । अभियानमा खटाइएका प्रतिनिधि जिल्ला तथा वडा स्तरमा हुने कुनै न कुनै श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा अनिवार्य सहभागी हुनुपर्ने केन्द्रीय निर्देशनलाई सकारात्मक रूपमा लिएको पाइएको छ । अग्रजको सम्मान र क्षमतावान्लाई जिम्मेवारी प्रदान गरेर अगाडि बढ्दा कांग्रेसको साख अझै वृद्धि गरी लोकतन्त्रलाई जन स्तरमा संस्थागत गर्न सहयोग पुग्नेतिर लाग्नु वाञ्छनीय छ ।