• २५ वैशाख २०८१, मङ्गलबार

बहुतले पार्किङको योजना अलपत्र

blog

काठमाडौँ, माघ १४ गते । काठमाडौँ उपत्यकाको दीर्घकालीन पार्किङ व्यवस्थापनका लागि सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषले अगाडि सारेको बहुतले मेकानिकल पार्किङ निर्माण आयोजना अगाडि बढ्न सकेको छैन । आह्वान गरिएबमोजिम प्रस्ताव नै नपर्दा आयोजना नै अलपत्र परेको हो ।

बहुतले पार्किङ निर्माण तथा सञ्चालनका लागि सरकारी, स्थानीय तह र गैरसरकारी सङ्घ संस्थाबाट प्रस्ताव माग गरेकामा सर्त अनुसार कसैबाट प्रस्ताव नपर्दा सो आयोजना अगाडि बढ्न नसकेको कोषको भनाइ छ । कोषले काठमाडौँ र ललितपुरमा सवारीसाधन बढी आवतजावत हुने ३६ वटा ठाउँमा पार्किङ निर्माणका लागि २०७८ माघ ७ गते १५ दिनको समय राखेर प्रस्ताव आह्वान गरेको थियो । 

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले पार्किङ निर्माणका लागि माग अनुसारको प्रस्ताव नआएकाले सो आयोजना अगाडि बढ्न नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “३६ वटा पार्किङ निर्माणका लागि प्रस्ताव आह्वान गरिएकामा चार वटाका लागि मात्र प्रस्ताव आएको थियो तर ती प्रस्ताव पनि माग अनुसारको मापदण्ड तथा सर्त पूरा नगरेकाले त्यसलाई अगाडि बढाउन सकिएन ।”

उहाँका अनुसार काठमाडौँको थापाथली, माइतीघर, टेकु र ललितपुरको धोबीघाटमा पार्किङ निर्माणका प्रस्ताव आए पनि माग अनुसारको प्रस्ताव नभएको तथा जग्गा विवादका कारण ती ठाउँमा समेत पार्किङ निर्माण प्रक्रिया अगाडि बढ्न सकेन ।” पार्किङ निर्माणका लागि कम्तीमा आठ आना जग्गासहित प्रस्ताव माग गरिएको थियो ।

कार्यकारी निर्देशक सापकोटाका अनुसार माइतीघर र थापाथली क्षेत्रमा पार्किङ निर्माणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रस्ताव पेस गरेको थियो । माइतीघर र थापाथली क्षेत्रमा पार्किङ निर्माणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रस्ताव पेस गरेकामा सो कम्पनीको बोर्ड बैठकबाट प्रस्तावित जग्गा पास हुन नसक्दा त्यसको काम अगाडि बढ्न सकेन ।

त्यसै गरी टेकुमा पार्किङ निर्माणका लागि इजी पार्किङ कम्पनीले कोरियाली कम्पनी डङ्याङ पिसी आइएनसीसँग मिलेर प्रस्ताव पेस गरेको थियो भने ललितपुर धोबीघाट क्षेत्रमा पार्किङ निर्माणका लागि ललितपुर महानगरपालिकाले प्रस्ताव पेस गरेको थियो । यी ठाउँमा पनि माग अनुसारको जग्गा उपलब्ध हुन नसक्दा थप प्रक्रिया अगाडि बढ्न नसकेको कार्यकारी निर्देशक सापकोटाको भनाइ छ । 

नगर विकास कोषले थापाथली, त्रिपुरेश्वर, कालीमाटी, टेकु, सोल्टीमोड, कलङ्की, कुलेश्वर, बल्खु, नयाँ सडक, ठमेल, नयाँ बजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, चाबहिल र मित्रपार्कमा बहुतले पार्किङ निर्माणका लागि प्रस्ताव माग गरेको थियो । 

त्यसै गरी लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, विशालनगर, भाटभटेनी, ज्ञानेश्वर, नक्साल, गैरीधारा, हाडीगाउँ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो र कुपन्डोलको मुख्य व्यापारिक क्षेत्रमा सो पार्किङ निर्माणका लागि प्रस्ताव माग गरिएको थियो ।