विष्णुप्रसाद पोखरेल
दमक, चैत २ गते । केही समयअघिसम्म जागिरका लागि लोक सेवाको तयारी गरिरहनुभएकी निशा डाँगीलाई एकाएक राजनीतिले तान्यो । पत्रकारितामा रुचि राख्ने डाँगी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभयो । अघिल्लो पटकको निर्वाचनमा २५ वर्षको उमेरमा रास्वपाबाट प्रतिनिधि सभामा समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभयो । उहाँ उतिबेला प्रतिनिधि सभाको सबैभन्दा कान्छी सदस्य बन्नुभएको थियो ।
उहाँलाई प्रत्यक्ष जनताबाट जितेर आउन मन थियो । पार्टीले उहाँलाई यस पटक झापाको क्षेत्र नं. १ मा उम्मेदवार बनायो । डाँगीका लागि नेपाली राजनीतिको परम्परागत धार र बुवा तथा हजुरबुवा उमेरका उम्मेदवारको बाहुल्य चिर्दै अगाडि बढ्नु त्यति सहज थिएन । तर पनि झापा–१ का जनताले उहाँमाथि अगाध विश्वास राख्दै मत दिए । ४५ हजार ६८० मतका साथ विजय हासिल गरेपछि २९ वर्षीय डाँगीको राजनीतिक उचाइ पनि चुलियो । अनि दोस्रो संसदीय यात्रा सुरु भएको छ ।
अघिल्लो पटक उहाँ प्रतिनिधि सभा सदस्य हुँदा झापामा हात्तीले पु¥याउने क्षतिलगायत समस्याका विषयमा बारम्बार चासो राख्दै समाधानका लागि प्रयास गर्दै आउनुभएको थियो ।
भद्रपुर नगरपालिका–२ की स्थायी बासिन्दा डाँगीको जन्म झापाकै भद्रपुरमा भएको हो । २०५३ साल मङ्सिर १६ गते बुवा भीमबहादुर र आमा देवीमाया डाँगीको कोखबाट जन्मिएकी डाँगीले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गर्नुभएको छ । उहाँसँग केही वर्ष पत्रकारिता गरेको अनुभव पनि छ । उहाँ भन्नुहुन्छ, “पत्रकारिताले मलाई समाजको भित्री पाटो र नागरिकका वास्तविक पीडा बुझ्न सघायो । परिवर्तनका लागि राजनीतिमा आउन त्यसैले पनि झक्झक्यायो ।”
आफ्नो निर्वाचन क्षेत्रको सीमा समस्या, हात्ती आतङ्कलगायतका समस्याबारे उहाँ जानकार हुनुहुन्छ । उहाँले मतदातासँग पनि बारम्बार एउटै कुरा भन्दै आउनुभएको छ, “हामी काम गर्न आएका हौँ, काम गरेर देखाउँछौँ ।”
उहाँले अघिल्लो कार्यकालमा रास्वपाको सचेतक रहँदा सदनमा युवाका मुद्दा, सुशासन र नीतिगत सुधारका लागि निरन्तर आवाज उठाउँदै आउनुभएको थियो । आफू र पार्टीलाई जनताले गरेको विश्वास तथा प्राप्त मतादेश इमानदार र सुशासनका लागि भएको आफूले बुझेको डाँगी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जनताको अपेक्षा अनुसार काम गर्ने अठोट छ । युवा, महिला तथा बालबालिका, असहाय सबै क्षेत्रको समस्या र भावना बुझेकाले पनि यो पटक मतदाताले अपार माया गरेका छन् ।”
सुर्खेतकी १६ वर्षीय इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाले उहाँलाई निकै पिरोलेको छ । उहाँ भन्नुहुन्छ, “बलात्कारपछि हत्या जस्तो जघन्य अपराधले समाजलाई स्तब्ध बनाएको छ । एक किशोरीले सुरक्षित रूपमा बाँच्नसमेत नपाउने अवस्था राज्यव्यवस्था र सुरक्षा प्रणालीका लागि गम्भीर चिन्ताको विषय हो । महिलामाथि हुने हिंसा, बलात्कार, हत्या जस्ता अपराध कुनै पनि अवस्थामा स्वीकार्य हुन सक्दैन । महिलाले भयरहित वातावरणमा सम्मानपूर्वक बाँच्न सक्ने वातावरण सुनिश्चित गर्नु राज्यको दायित्व हो ।”