सुजल श्रेष्ठ
प्युठान, चैत २ गते । जिल्लाको पहिचान भएको ‘प्युठानी रातो मुला’ को बिउ उत्पादन सुरु भएको छ। केही वर्षअघि सम्म प्युठानलाई चिनाउने यस विशेष रातो मुलालाई संरक्षण गर्दै विस्तार गर्नका लागि बिउ उत्पादन थालिएको हो।
नौबहिनी गाउँपालिका–५, डामृ मा छ रोपनी क्षेत्रफलमा बिउ उत्पादनका लागि खेती गरिएको छ। यसका लागि राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना (नार्क), परियोजना कार्यान्वय एकाइ प्युठान का प्रमुख चुमानसिंह गिरी ले जानकारी दिनुभयो, “नार्कबाट मुल बिउ ल्याएर यहाँ बिउ उत्पादन गर्न थालिएको हो। किसानलाई बिउ, मल, विषादी र प्राविधिक सहयोग उपलब्ध गराइएको छ।”
नौबहिनी गाउँपालिकाले सिँचाइको व्यवस्था गरेको छ भने किसानले उत्पादन गरेको बिउ खरिद गर्नका लागि काठमाडौँको एक कम्पनीसँग समझदारी गरिएको छ। अघिल्लो वर्ष पनि कार्यालयले २५ रोपनी क्षेत्रफलमा प्युठानी रातो मुलाको बिउ उत्पादनमा सहयोग गरेको थियो र बजार व्यवस्थापन समेत गरेको थियो।
रातो मुला स्वास्थ्यका दृष्टिकोणले लाभदायक रहेको मानिन्छ। बिउ उत्पादनले जिल्लाको पहिचान मात्र नभई स्थानीय कृषकको आम्दानीमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। कृषकहरूले बिउ उत्पादनसँगै यसलाई व्यवसायिक खेती र बजार व्यवस्थापनमा पनि प्रयोग गर्नुपर्ने बताउँछन्।