• १३ साउन २०८१, आइतबार

नयाँ पदमार्गको पहिचान गर्न पदयात्रा

blog

टोड्के–धौलागिरी पदयात्रामा निस्केको टोली । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, माघ १३ गते । म्याग्दीको पर्यटकीयस्थल टोड्के हुँदै धौलागिरी आधारशिविर जाने नयाँ पदमार्गको पहिचान गर्न पर्यटन व्यवसायीसहितको टोली पदयात्रामा निस्केको छ । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको टोली र पर्यटन व्यवसायी, पत्रकार र पोर्टरसहित २० जनाको टोली म्याग्दीको टोड्केदेखि धौलागिरी आधारशिविर हुँदै मुस्ताङ जोड्न नयाँ पदमार्ग पहिचान गर्न निस्किएको हो । टोली शनिबार रघुगंगा गाउँपालिका –५ टोड्केबाट यात्रामा निस्किएको छ । 

पदयात्रामा निस्केको टोलीले टोड्के–धौलागिरी पदयात्रा मार्गको खोज, अध्ययन र अनुसन्धान गर्नेछ । टोलीलाई शनिबार बिहान गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले प्रस्थानविन्दु तय गरिएको टोड्केमा बिदाइ गर्नुभयो । 

टोलीलाई विदाइ गर्नुहुँदै मन्त्री थापाले टोड्के–धौलागिरी आधार शिविर हुँदै मुस्ताङ जाने पर्यटन पदमार्ग उपयोगी र पर्यटक आकर्षित गर्न सक्ने हुने बताउनुभयो । पहिचान भएको पदमार्गमा पूर्वाधार निर्माण र प्रचार–प्रसारका लागि गण्डकी प्रदेश सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । 

टोली पहिलो दिन शनिबार टोड्केबाट मालिकाधुरी हुँदै ठाडाखानी पुग्नेछ । दोस्रो दिन ठाडाखानीबाट कुइने, तेस्रो दिन कुइनेबाट घाँसीखर्क, चौंथो दिन घाँसीखर्कबाट सङ्गरथाला कछुवा ओडार, पाँचौ दिन कछुवा ओडारबाट धौलागिरी आधार शिविर, छैटौं दिन आधार शिविरबाट कालीबराह हुँदै मुस्ताङको लेते निस्कने टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले जानकारी दिनुभयो । 

मन्त्रालयका उद्योग–पर्यटनतर्फका सचिव कुमानसिंह गुरुङले सरकार, निजी क्षेत्रले प्रवद्र्धनमा सहयोग गर्ने भए पनि आफ्नो कला संस्कृति देखाएर पर्यटन विकासमा स्थानीयले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले नयाँ पदमार्ग विकास हुन सकेमा गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

टानका प्रथम उपाध्यक्ष आचार्यले मोटरबाटोको विकासले अन्य पदमार्ग समस्याग्रस्त रहेको अवस्थामा पर्यटन क्षेत्र जोखिममा परेको र अब नयाँ पदमार्ग विकास गर्न आवश्यक रहेको बताउनुभयो ।