• ७ मंसिर २०८१, शुक्रबार

करोडपतिको बास आश्रममा

blog

काठमाडौं, माघ ९ गते । कुनै बेलाका करोडपति रामबहादुर श्रेष्ठको दिन अचेल बेसहारा मानव बस्ने आश्रममा बित्छ ।

रामबहादुरको सानैमा आमा स्वर्गे भएपछि आठ वर्षको उमेरमा जन्मघर छोड्ने बाध्यता पर्‍यो । पैसा कमाउन सिन्धुपाल्चोकबाट काठमाडौं छिरेका श्रेष्ठको सङ्घर्ष होटलमा भाँडा माझ्ने काम गरेदेखि सुरु हुन्छ । त्यो बेला उहाँको कमाइ महिनामा ६५ रुपियाँ थियो ।

केही वर्षपछि कमाएको पैसा लिएर गाउँ फर्किए । करिब पाँच वर्ष गाउँमै किराना पसल व्यवसाय गरे र अझै राम्रो आयआर्जन गर्ने आशामा २०३६ सालमा घरेलु सिलाइबुनाइको कामतर्फ लागे ।

उहाँका अनुसार २०३८ सालसम्म सिलाइबुनाइको काम राम्रै चल्दै थियो, तर बिचमा मेसिन चोरी भयो । पसलको लगानीले जोडेको मेसिन चोरी भएपछि गाउँमा केही उद्यम भएन र फेरि काठमाडौं फर्कनुपर्‍यो ।

उहाँले भन्नुभयो, “एक जना घरेलु स्विटर बुन्ने मेसिन देखेपछि स्विटर बुनुँ बुनुँ लाग्यो । बजारमा सामान लिन आएको, मेसिन लिएर गएँ, सिलाइबुनाइतिर लागें तर मेसिन नै चोरी भयो । त्यहाँबाट केही उपाय भएन । काठमाडौं आएर एक जना साथीलाई भेटें ।”

साथीको सल्लाहमा काठमाडौंस्थित शङ्करदेव क्याम्पसमा क्यान्टिन सञ्चालन गर्ने निधो भयो । २०३८ देखि २०५० सालसम्म करिब ११ वर्ष क्यान्टिन चलाएँ । यो समयसम्म रामबहादुर आफ्नो जीवन निर्वाहमा मात्र सिमित थिएनन्, दुई, चार जना सहयोगी कामदार राखेर काम गर्ने भए ।

उहाँले भन्नुभयो, “एक जना साथीले २०३८ सालतिर शङ्करदेवमा क्यान्टिन गर्छस् त ? भने । पद्मकन्या क्याम्पसको एक जना त्यहाँ आइरहन्थे, चिनजान राम्रो भयो । २०५० मा टेण्डर हाल है भन्दा हुन्छ भनौं कि हुन्न भन्नेमा दुविधामा थिएँ । पछि टेण्डर हालें, पर्‍यो पनि ।”

त्यसपछि शङ्करदेवको क्यान्टिन एक साथीलाई जिम्मा लाएर पीके क्याम्पसमा २०५८ सालसम्म क्यान्टिन सञ्चालन गर्दा श्रेष्ठका दर्जनभन्दा बढी कामदार थिए ।

त्यो ताका चल्ने विक्रम टेम्पो र ट्याक्सी जोडिसकेका थिए । पाँच, सात वटा गाडीको साहु बनेपछि पीकेको क्यान्टिन छोडें । सरकारले विक्रम टेम्पो हटायो त्यसपछि माइक्रोबस निकालेँ र चलाएँ ।

उहाँले भन्नुभयो, “विक्रम टेम्पो जहाँ जहाँ चल्छ, त्यहाँ माइक्रो बस चल्यो । माइक्रो बस निकालें । २०५८ सालसम्म भक्तपुरमा घर बनाएँ । छ, सात वटा गाडी नै भयो अनि क्यान्टिन छोडें ।”

शङ्करदेव क्याम्पसमा नै रामबहादुरको जीवन साथीसँग भेट भयो । यस विषयमा उहाँले भन्नुभयो, “उनी पनि सिन्धुपाल्चोक चौताराको अलि अलि चिनेको । शङ्करदेव क्याम्पसमा आउँथिन् । विवाह गरियो तर, हालत यस्तो बनाइदियो । सम्पत्ति सबै खाइदियो ।”

एकै छानामुनि बस्ने, एकै थालमा खाने जीवन साथीले मुद्दा हालेपछि रामबहादुर विरक्तिएर छुट्टै बस्न थालेको बताउनुुहुन्छ ।

उहाँले भन्नुभयो, “भक्तपुरमा घर बनाउन पैसा पुगेन, तीन वटा माइक्रोबस बेचें । साढे तीन तलाको घर बनाएँ । माइक्रो चलाउँदा चलाउँदै श्रीमतीले मुद्दा हालेको रहेछ । गाडी पनि बेच्न लगायो म बेरोजगार भएँ ।”

घर भाडा महिनामा ५०, ६० हजार रुपियाँ उठ्थ्यो । श्रीमतीले भने अनुसार त्यसपछि कालीमाटीमा तरकारी बेच्न सुरु गरेको उहाँले बताउनुभयो । २०६२ सालदेखि कालीमाटीमा तरकारी बेच्दै आएका श्रेष्ठलाई २०७६ सालतिर सुगरले अचानक लडायो ।

घरपरिवारले खोजेनन् भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “कहाँ खोज्नु ? झन् मर्‍यो, ठिक्क पर्‍यो भनिराको होला ।”

उहाँका एक छोरी छन् । हाल उहाँ काठमाडौंस्थित मानव सेवा आश्रमको संरक्षणमा हुनुहुुन्छ । 

भिडियो : मनोजरत्न शाही र केशव गुरुङ

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।