• १३ साउन २०८१, आइतबार

कफी खेतीबाट विस्थापित हुँदै किसान

blog

पाकेको कफी देखाउँदै पाल्पाका किसान । तस्बिर : रेखीराम राना

तानसेन, माघ ९ गते  । पाल्पामा कफी खेती गर्ने किसान विस्थापित भएका छन् । कफीमा लाग्ने गभारो रोगलाई नियन्त्रण गर्न नसक्दा चार दशकदेखि कफी खेती गर्दै आएका किसान विस्थापित भएका हुन् । 

कफी खेतीमा लागेको सेतो गभारोको प्रकोप नियन्त्रण हुन नसक्दा पाल्पाका पाँच सयभन्दा बढी किसान विस्थापित भएका हुन् । हरेक वर्ष कफी खेती छाड्ने किसानको सङ्ख्या घट्दै गएको र हाल कफी खेती गर्ने किसान औँलामा गन्न सकिने किसानको भनाइ छ । 

कुनै बेला मुख्य नगदेबालीका रूपमा रहेको कफी खेतीबाट गभारोकै कारण किसान विस्थापित हुने अवस्था पुगेको पाल्पाका किसानको भनाइ छ । कफीमा लागेको गभारो नियन्त्रणका लागि दक्ष प्राविधिक नहुँदा किसान विस्थापित हुन बाध्य भएको तानसेन–६, बर्तुङका पुराना किसान रेवन्तबहादुर विष्टले बताउनुभयो । 

विसं २०३८ देखि निरन्तर रूपमा कफी खेती गर्दै आएका पाल्पाका किसान गभारो नियन्त्रणमा असफल हुँदा कफी खेती गर्न छाडेको उहाँले बताउनुभयो । कफी खेतीका लागि सरकारी तहबाट समेत ठोस सहयोग प्राप्त गर्न नसकेको पुराना किसान विष्टको भनाइ छ । 

एक दशकअघिसम्म जिल्लाको तानसेन, यम्घा, रुप्से, चापपानी, मदनपोखरा, बराङ्दी, भैरवस्थान, कुसुमखोला, देउराली, सत्यवतीमा कफी खेती हुने गरेको थियो । अहिले कफी खेतीबाट विस्थापित भएर केही गाउँमा मात्र किसान सक्रिय रहेका छन् । धेरै किसान कफी खेतीबाट विस्थापित भइसकेको रैनादेवी छहरा–५, मुझुङका किसान रामबहादुर कार्कीले बताउनुभयो । पाल्पाका किसानले लगाएको कफी खेतीमा सेतो गभारोको प्रकोप नियन्त्रण गर्न नसक्दा धेरै किसान विस्थापित हुन बाध्य भएको उहाँले बताउनुभयो । 

तीन दशकदेखि कफी खेती गर्दै आएका किसान अहिले अन्य खेतीमा लागेको उहाँले बताउनुभयो । पहिले कफी उत्पादन गर्ने किसान कफी खेती छाडेर सुन्तला, जुनार, कागती उत्पादनमा लागेका छन् । 

दशकअघिसम्म पाल्पाको कफी जापान, अमेरिका, कोरिया जस्ता देशमा निर्यात हुने गरेको थियो तर उत्पादन घटेपछि कफी निर्यातमा समस्या भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले जिल्लामा कफी खेती हरेक वर्ष घट्दै गएको जनाएको छ । पहिले व्यावसायिक खेती गर्ने किसानले अहिले निर्वाहका लागि कफी खेती गर्दै आएको ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष चौधरीले बताउनुभयो । 

उत्पादन घटेपछि कफी सङ्कलन केन्द्र बन्द भएका छन् । गत वर्ष जिल्लामा १६ टन मार्चमेन्ट र तीन टन सुक्खा चेरी उत्पादन भएको थियो । जिल्ला कफी व्यवसायी सङ्घका कार्यक्रम संयोजक कमल खनालले कफी खेती गर्ने किसान घटेपछि उत्पादनमा असर गरेको बताउनुभयो ।