• २१ वैशाख २०८१, शुक्रबार

‘वास्तुकला परिवर्तनको स्वरूप देखाउन खोजिएको छ’

blog

काठमाडौँ,माघ ८ गते । विदेशी अग्ला टावर, आधुनिक प्रविधियुक्त घर र  डोल्पाको संस्कृतियुक्त घर । यी सबै केही बेरमा पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमा देख्न पाइन्थ्यो । 

विदेशमा बन्ने पुलहरूको डिजाइन, नेपाली कलात्मक मन्दिरको बनावट, नेपालमा बसाल्न सकिने सहरहरूको परिकल्पना सहितको डिजाइन र विभिन्न रङ्गले पोतेर बनाइएका विभिन्न कलात्मक वस्तुहरू क्याम्पसको हातामै थिए ।

पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीले कलेज परिसरमा वास्तुकला प्रदर्शनी गरेका छन् । विद्यार्थीले माघ ५ देखि ७ गतेसम्म कलेज परिसरमा प्रदर्शनी आयोजना गरेका हुन् । प्रत्येक वर्ष विद्यार्थीले वास्तुकला सम्बन्धी प्रदर्शनी आयोजना गर्दै आएका हुन् । यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिइएको कार्यक्रमका संयोजक सन्दीप शर्माले बताउनुभयो ।



भिडियो: केशब गुरुङ / मनोजरत्न शाही

यस प्रदर्शनीमा नेपालमा वास्तुकलाको पहिलेको अवस्था, अहिलेको अवस्था र भविष्यमा यसको स्वरूप कस्तो हुने भन्ने कुरा देखाउन खोजिएको छ । शर्माले भन्नुभयो, “यस प्रदर्शनीको मुख्य उद्देश्य नेपालमा आर्किटेक्चरको पहिलेको टे«ण्ड कस्तो थियो, अहिले कस्तो छ र अव भविष्यमा कस्तो हुनेछ भन्ने कुरा देखाउन खोजिएको छ ।”

यो प्रदर्शनी गर्नको लागि कुल १५ लाख लागत लागेको उहाँ बताउनुहुन्छ । यो खर्च विभिन्न दाताहरूबाट प्राप्त भएको हो । यो प्रदर्शनीले विज्ञान र कलालाई जोड्ने उहाँ बताउनुहुन्छ । 

आफूभन्दा तल्लो तहका विद्यार्थीका लागि केही ज्ञान प्राप्त होस भन्ने उद्देश्यले पनि यो प्रदर्शनी आयोजना गरिएको संयोजक शर्माले जानकारी दिनुभयो । 

यस प्रदर्शनीले वास्तुकलाको अवस्था कसरी परिवर्तन हुँदै आएको छ भन्ने कुरा देखाउन खोजिएको कार्यक्रम सचिव सलोनी खड्काले बताउनुभयो । उहाँका अनुसार यसमा इजिप्ट, ग्रिक आर्किटेक्चर हुँदै अन्तरिक्षमा कसरी वास्तुकला बनाउन सकिन्छ भनेर देखाउन खोजिएको छ । उहाँले भन्नुभयो, “यस प्रदर्शनीमा ग्रीक, इजिप्टको आर्किटेक्चरको साथै अन्तरिक्षमा पनि कसरी बस्ती विकास गर्न सकिन्छ भन्ने देखाउन खोजिएको छ ।”

यस प्रदर्शनी अवलोकन गरी वास्तुकला भनेको के हो र यसको प्रयोग कसरी भइरहेको छ  थाहा हुने खड्काको भनाइ छ । पुल्चोक कलेजका विद्यार्थीले यस प्रदर्शनीलाई ‘१५ औँ राष्ट्रिय आशा वास्तुकला प्रदर्शनी’ नाम दिएका छन् । करिब १५ हजार बढीले प्रदर्शनीको अवलोकन गरेको खड्काको भनाइ छ । जसमध्ये ६० प्रतिशत विद्यार्थीले अवलोकन गरेका छन् ।  

प्रदर्शनीमा विद्यार्थीले विभिन्न संरचनाको डिजाइन तयार गरेका थिए । उनीहरूले सहरमा प्रवेश गर्ने प्रवेशद्वार, पुल, विभिन्न टावर, बस्ती विकास लगायतका संरचना बनाएर राखेका हुन् । 

विद्यार्थीले पढेको कुरा व्यवहारमा उतार्न नसक्दा प्रतिभा लुक्ने डर हुने भएकाले व्यवहारमा उतार्नका लागि पनि यो प्रदर्शनी आयोजना गरेको उहाँको भनाइ छ । 

आर्किटेक्चरको क्षेत्रमा नेपालको हालको अवस्था राम्रो रहेका कारण अवसर पाए विदेशीले जत्तिकै नेपालका इन्जिनियरले पनि आर्किटेक्चर डिजाइन गर्न सक्ने उहाँको भनाइ छ । 


Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।