• १५ असार २०८१, शनिबार

खोरेत र पीपीआर रोगको जोखिममा गुल्मीका किसान

blog

रमेश विश्वकर्मा

गुल्मी, माघ ८ गते । लम्पी स्किन रोगका कारण सयौँको सङ्ख्यामा पशु गुमाएको पिडा सेलाउन नपाउँदै गुल्मीका किसानहरू खोरेत र पीपीआर रोगको जोखिममा परेका छन् । लम्पी स्किन रोगका कारण सयौँ पशुको मृत्यु हुँदा करोडौँको क्षति व्यहोरेका यहाँका किसानहरू अहिले खोरेत र पीपीआर रोगको जोखिममा परेपछि थप पीडा भोग्न बाध्य छन् । 

लम्पी स्किन रोगबाट यस जिल्लामा नौ हजार ४७७ पशु बिरामी भएकोमा ३९५ पशुको मृत्यु हुँदा गुल्मेली किसानको करिब दुई करोड रुपियाँको क्षति भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख हुमकान्त पाण्डेयले बताउनुभयो । गत पुस महिनामा गुल्मी दरबार गाउँपालिका–६, भलायचौरका किसानले कुल पुजाको लागि बली दिनको लागि बुटवलबाट खरिद गरी ल्याएका बोकाबाट खोरेत र पीपीआर सङ्क्रमण भएसँगै यहाँको विभिन्न क्षेत्रमा फैलिएको बाख्रामा पीपीआर र अन्य पशुमा खोरेत रोग देखा पर्न थालेको छ । बुटवलबाट ल्याइएका बोकाहरू गोठमा भएका अन्य पशुसँग सँगै बाँधेर राखिएको थियो । बोका गोठमा सँगै बाँधिएपछि करिब १४ दिनको अन्तरालमा त्यहाँ रहेका अन्य बाख्रा र भैँसी पनि बिरामी पर्न थाले ।

बिरामी भएका ती पशुहरूमा सुरुमा ज्वरो आउने र त्यसपछि मुखबाट ¥याल काढ्ने, घाँस नखाने, उभिन गाह्रो मान्ने, कमजोर हुने, उत्पादन घटाउने जस्ता लक्षणहरू देखिएपछि त्यहाँका कृषकले स्थानीय पशु स्वास्थ्य प्राविधिक दिलीप कँडेललाई सम्पर्क गरे । स्थानीय पशु स्वास्थ्य प्राविधिक कँडेलले चेक जाँच तथा उपचारको क्रममा यी लक्षणले १२ भैँसी जातका पशु र ३० बाख्रा जातका पशु बिरामी परेका थिए । पशुमा खोरेत र पीपीआरको सङ्क्रमण भएको जानकारी पाउन साथ गुल्मी दरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले रोग पहिचान र रोकथामका लागि भेटेरिनरी अस्पताललाई आग्रह गर्नुभयो । यहाँ बिरामी भएका पशुमध्ये सात बाख्रा जातका पशुको मृत्यु भयो । स्थलगत अध्ययन टोलीले रोगबारे जानकारी लिनुका साथै नमुना सङ्कलन र नमुनाको आरडीटी जाँचमा खोरेत रोग भएको पत्ता लगाएपछि निमित्त कार्यालय प्रमुख पाण्डेय र डाक्टर मदन भण्डारीसहितको टोली पुनः स्थलगत अध्ययनका लागि रोगको थप परीक्षणको गर्न टिस्यु नमुना सङ्कलन गरी पशु रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा पठायो । 

त्यस्तै, जिल्लाको काली गण्डकी गाउँपालिका–५, स्थित वल्लीमा पीपीआर रोगसँग मिल्ने लक्षण देखिएर पशु मर्ने गरेको जानकारी प्राप्त गरेसँगै जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री, भेटेरिनरी अस्पतालका निमित्त कार्यालय प्रमुख पाण्डेय र स्थानीय पशु सेवा शाखाको टोलीले स्थलगत अध्ययन गरी रोग निदानका लागि नमुना सङ्कलन गरेर पशु रोग अन्वेषण प्रयोगशाला काठमाडौँ र पोखरमा पठायो । यहाँ ११ बिरामी पशुमध्ये सात बाख्रा जातको मृत्यु भएको थियो । यहाँ पनि गत पुस महिनाको ७ गते बुटवलबाट कुलपुजाको लागि भेडा खरिद गरी ल्याइएको थियो । केही दिनपछि सँगै बाँधेको अन्य बाख्रा र छिमेकीको बाख्रा बिरामी परेको थियो । पशु रोग अन्वेषण प्रयोगशाला पोखरामा परीक्षण गरिएको सो रोग पोजेटिभ आएसँगै काली गण्डकी गाउँपालिकाका लागि ४ हजार ५०० डोज पीपीआर भ्याक्सिन पठाइएको निमित्त कार्यालय प्रमुख पाण्डेयले बताउनुभयो । 

उहाँले अन्य पालिकामा सङ्क्रमण नफैलियोस् भनेर समुदायमा जनचेतनासँगै उच्च सतर्कताका साथ लागिएको बताउनुभयो । रोग नियन्त्रणका लागि सङ्क्रमित क्षेत्रमा खोरेत रोग विरुद्ध रिङ् भ्याक्सिनेसनको लागि अभियान, किसानसँग छलफल तथा जानकारी आदानप्रदान सञ्चालन गरिएको बताउनुभयो । कार्यालयले यही वर्ष जिल्ला स्तरमा खोरेत रोग नियन्त्रण गर्न जिल्लाभर ५१ भ्याक्सिनेटर खटाएको छ । प्रदेश मार्फत ३२ हजार डोज खोरेत रोग विरुद्धको खोपको व्यवस्था गरिएको उहाँको भनाइ छ । अस्पतालका डा. मदन भण्डारीले खोरेत र पीपीआर दुवै भाइरल रोग भएको भन्दै यी रोगको कुनै पनि प्रभावकारी उपचार नभएको बताउनुभयो । खोप लगाउनु, सङ्क्रमित पशुसँगको लसपस कम गर्नुका साथै पशु ढुवानी बन्द गरी रोग रोकथाम तथा नियन्त्रण गर्नु उत्तम उपाय रहेको उहाँले बताउनुभयो । 

स्थलगत अध्ययनमा सहभागी हुनुभएका समन्वय प्रमुख द्रोणबहादुर खत्रीले भेटेरिनरी अस्पतालको रोग अनुसन्धानको लागि देखाएको अग्रसरता देखाएको भन्दै यस अध्ययनले लम्पी स्किन रोगले जसरी जिल्लाभरका पशु सङ्क्रमित नहुँदै रोग निदान तथा रोकथाम गर्न सक्ने हो भने क्षति कम गर्न सकिने बताउनुभयो । यसका लागी स्थानीय तह र प्रदेशको उचित समन्वय सहकार्यको आवश्यकता रहेको भन्दै किसानको समस्या समाधान गर्न र पशु पालक कृषकको क्षति कम गर्नको लागी जिल्ला समन्वय समिति जुनसुकै स्तरमा पहल गर्न हरदम तयार रहेको बताउनुभयो ।