• १६ भदौ २०८१, आइतबार

सञ्चारकर्मी ठाकुरसिंह थारुकाे पार्टी महासचिव यात्रा....

blog

नागरिक उन्मुक्ति पार्टीका नवनिर्वाचित महासचिव ठाकुरसिंह थारु । तस्बिर: गजेन्द्र गुरुङ

खजुरा, माघ ३ गते । ठाकुरसिंह थारु अहिले ४९ वर्ष पुग्नुभयो । साबिकको मैनापोखर गाविस वडा नं. ३, बढैया (हाल बढैयाताल गाउँपालिका वडा नं. ५ मा वि.सं. २०३१ साल भदौ १४ गते बुवा भिखु थारु र आमा सीतारानी थारुको कोखबाट उहाँको जन्म भएको थियो ।

गत पुस २६, २७ र २८ गते कैलालीको टीकापुरमा भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनबाट थारु पार्टीको केन्द्रीय महासचिव पदमा निर्वाचित हुनुभएको छ । त्यसअघि थारु पत्रकारिता तथा पार्टी राजनीतिमा धेरै वर्षसम्म बाँकेमा क्रियाशील रहनुभयो ।

२०४९ सालमा शारदा माध्यमिक विद्यालय मैनापोखर बर्दियाबाट एसएलसी पास गर्नुभएका थारु उच्च शिक्षा अध्ययनका लागि त्यसपछि बाँकेको नेपालगन्ज आउनुभयो । नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट आईएल र बिएल अध्ययन सकेपछि २०५६ सालदेखि अधिवक्ता बनी कानुन व्यवसायी बन्नुभयो । साथसाथै पत्रकारिता पेसामा पनि संलग्न रहनुभयो ।

२०५६ सालबाट तत्कालीन अवस्थामा नेपालगन्जबाट प्रकाशित हुने दैनिक पत्रिका नेपालगन्ज एक्सप्रेसबाट पत्रकारिता जीवन सुरु गर्नुभएका थारुले हाम्रो संरचना, मध्यपश्चिम सन्देश हुँदै काठमाडौँबाट प्रकाशित हुने पत्रिका नयाँ पत्रिकामा काम गर्न सुरु गर्नुभयो । ५–६ वर्ष नेपालगन्जबाट नयाँ पत्रिकामा काम गरेपछि उहाँ २०७० सालतिर कान्तिपुर दैनिक पत्रिकामा नेपालगन्जलाई कार्यक्षेत्र बनाएर काम गर्न सुरु गर्नुभयो ।

कान्तिपुर दैनिकमा ०७९ सालसम्म उहाँले काम गर्नुभयो । कान्तिपुरमा उपसम्पादकसम्मको जिम्मा थारुले पाउनुभयो । पत्रकारितासँगै उहाँ नेकपा एमालेको पार्टी राजनीतिसँग जोडिएर विभिन्न जन वर्गीय सङ्गठनमा आबद्ध भई काम गर्नुभयो । एमालेको बाँके जिल्ला प्रचार विभाग सदस्यसँगै २०६१ सालमा उहाँ एमाले निकट पत्रकारको सङ्गठन प्रेस चौतारी नेपालको उपाध्यक्ष भएर काम गर्नुभयो ।

यस क्रममा उहाँ प्रेस चौतारीका तर्फबाट निर्वाचन लडेर पत्रकार महासङ्घ बाँकेको अध्यक्ष बन्नुभयो । यस क्रममा प्रेस चौतारीको केन्द्रीय सदस्यसम्म बन्नुभएका थारु २०६५ सालमा पुनरावेदन बार एसोसिएसन केन्द्रीय समितिको निर्वाचनमा एमालेका तर्फबाट प्रगतिशील प्यानलबाट एक्लो सदस्य पदमा निर्वाचित हुनुभयो ।

२०७९ सालको सङ्घीय र प्रदेश निर्वाचनका समयमा थारुले आफ्नो पार्टी सदस्यता बर्दिया सार्नुभयो र बर्दियामा पार्टीको जिल्ला सदस्यसहित प्रचार विभाग प्रमुखको समेत जिम्मेवारी निर्वाह गर्नुभयो । तत्कालीन पार्टी एमालेसँग केही मतभिन्नता राख्दै उक्त निर्वाचनको मुखमा नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नुभएका थारु लगत्तै सो पार्टीको क्रियाशील सदस्यदेखि केन्द्रीय सदस्यसम्म बन्नुभयो ।

२०७९ सालको सङ्घीय तथा प्रदेश निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले थारुलाई बर्दिया निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि टिकट दियो । उहाँ उक्त निर्वाचनमा होमिनुभयो । थारुले सो निर्वाचन जित्न त सक्नुभएन तर २३ हजार ९९२ मत प्राप्त गरी उल्लेख्य मत भने बटुल्न सक्नुभयो । निर्वाचनमा उहाँ पराजित हुनुभयो । उहाँसँग प्रतिस्पर्धामा उत्रिनुभएका नेपाली काँग्रेसका तर्फबाट सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका पूर्व सिँचाइ मन्त्रीसमेत रहनुभएका सञ्जय गौतमले ३० हजार ६११ मत प्राप्त गरी विजयी बन्नुभयो ।

गत पुस २६, २७ र २८ गते कैलालीमा सम्पन्न नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा ६१ जिल्लाका ८ हजार ५ सय सहभागी प्रतिनिधिमध्येबाट थारु पार्टीको महत्त्वपूर्ण पद महासचिव पदमा निर्वाचित हुनुभयो ।

तीन दाजुभाइमध्ये जेठो सन्तानका रूपमा जन्मनुभएका थारु सामान्य किसान परिवारको हुनुहुन्छ । उहाँका बुवाले अझैसम्म किसानी गर्दै आउनुभएको छ । उहाँका दुई दिदी र एक बहिनी हुनुहुन्छ । 

भौगोलिक तथा सांस्कृतिकसहितको पहिचान र समाजमा आधारित समाजवादको स्थापना गर्ने उद्देश्यले नागरिक उन्मुक्ति पार्टी रोजेको उहाँ बताउनुहुन्छ । “अरू राजनैतिक पार्टीहरूले सीमित नारामा मात्र उक्त कुराको वकालत गरेका छन्, तर सामाजिक सांस्कृतिक रूपान्तरणका लागि उक्त सिद्धान्तलाई कार्यान्वयन गर्ने भनेको यही पार्टीबाट मात्र सम्भव देखेँ ।” अधिवक्तासमेत रहनुभएका थारुले भन्नुभयो, “अब जीविकोपार्जनका लागि वकालत (कानुन व्यवसाय) र जनताको अधिकार प्राप्तिका लागि राजनीति नै मेरो मुख्य उद्देश्य हो ।”

“विगतमा लामो समयसम्म नेपालगन्जमा बसेर कानुन व्यवसाय र पत्रकारितालाई सँगसँगै अगाडि बढाएँ, कहीँकतैबाट ममाथि आर्थिक अपारदर्शिता, अपचलनलगायतका नकारात्मक दागहरू लागेनन्” उहाँले भन्नुभयो, “पत्रकारिताका माध्यमबाटै कैयौँ जनालाई न्याय दिलाउने काम गरेँ, त्यो पनि जनसेवा नै थियो । हिजो पत्रकारिताका माध्यमबाट जनताको सेवा गरेँ अहिले फिल्डमै उत्रिएर राजनीतिमार्फत जनताको सेवा गर्नका लागि सिपाही बनेको छु ।”

क्षेत्रीय पार्टीले कसरी समाज रुपान्तरण गर्न सक्छ त भन्ने प्रश्नमा थारुले भन्नुभयो,“रेसमलाल चौधरी जेलमा हुँदा जनताले यो पार्टीलाई झ्यास्सै विश्वास गर्न सकेका थिएनन् । निर्वाचनका बेलामा समाजमा अगुवा भएका व्यक्तिसमेत पाउन नसकेर उहाँको श्रीमती तथा बुवालाई पार्टीले उम्मेदवार बनाउन पुग्यो । यसरी हेर्दा पक्कै पनि बाहिर हेर्दा पारिवारिक तथा क्षेत्रीय पार्टी जस्तो देखिए होला ।” 

“तर, यो प्रथम महाधिवेशनले समावेशी रूपमा सबै जातजातिलाई स्थान दिएको छ । ५ सय १ जनाको केन्द्रीय समिति बन्दा थारु मात्र खोज्ने हो भने अल्पमतमा छौँ ।” उहाँले भन्नुभयो, “पार्टी सानो छैन, स्थापना भएको पहिलो वर्षमै देशभर ९९ जना जनप्रतिनिधि (वडा सदस्यदेखि सङ्घीय सांसद मन्त्रीसम्म)ले विजयी हासिल गरेका छन् ।”

लामो समयसम्म पत्रकारिता तथा कानुनी वकालत गरी जीवनको यो उमेरसम्म आर्थिक पारदर्शिता, इमानदारी तथा सामाजिक उत्तरदायित्व वहन गर्दै आएको बताउनुहुने थारुले राजनीतिमार्फत नै समाज रूपान्तरणका लागि जनताको सेवा गर्ने बताउनुहुन्छ ।

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।