• ५ वैशाख २०८१, बुधबार

माघेसंक्रान्तिको रौनक : तराईदेखि पहाडसम्म

blog

काठमाडौँ,माघ १ गते  । आज माघ १ गते अर्थात् माघेसंक्रान्ति । सबै हिन्दु धर्मावलम्बीले यो पर्व धुमधामका साथ मनाउने गरेका छन् । विभिन्न शक्तिपीठमा गई नुहाई शुद्ध भएर पूजापाठ गर्ने चलन यस दिन छ । तातोपानीको कुण्डमा गई नुहाउँदा चर्मसम्बन्धी रोग निको हुने विश्वासका साथ कतिपय मानिसले माघीको अवसर पारेर तातोपानीको कुण्डमा नुहाउने गरेका छन् । यो दिन देवघाट, त्रिवेणीधाम, रिडी, शिवधाममा गएर स्नान गरी पूजा अर्चना गरिन्छ । यो पर्व तराईका थारू समुदायदेखि पहाडी भेगका सबै समुदायले आआफ्ना परम्परा अनुसार धुमधामका साथ मनाउने गरेका छन् । 

नेवार समुदायमा यस दिन नुहाएर तोरी अथवा तिलको तेल लगाउँदा वर्षभरि निरोगी भइने धार्मिक मान्यता रहेको छ । यस समुदायमा ‘घ्यः चाकु सँल्हु’ नामले माघेसंक्रान्ति मनाउने गरिन्छ । यो पर्व मनाउनुको वैज्ञानिक कारण रहेको संस्कृतिविद्को भनाइ छ । 

संस्कृतिविद् चुन्दा वज्राचार्यका अनुसार माघ महिनाको चाकु खाँदा शरीर तातो हुनुका साथै रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ । उहाँका अनुसार माघेसंक्रान्ति काँचो घिउ र चाकु खाँदा शरीरलाई तापसँगै शक्ति प्रदान गर्छ । वज्राचार्य भन्नुभयो, “उहिले उहिले बाक्लो लुगा सहजै नपाइने हुँदा जाडोयाममा बच्चा, वृद्धवृद्धा र सुत्केरीलाई चिसोले चाँडो समाउँथ्यो । त्यसैले हाम्रा पुर्खाले चाकु खाने चलन ल्याएका हुन् ।” 

यस समुदायमा बिहे गरेर गएकी छोरीलाई घर बोलाएर घरपरिवारसँग यो पर्व मनाइने गरिन्छ । वज्राचार्यले थप्नुभयो, “आमाको हातबाट टाउकोमा तेल लगाइन्छ । त्यसो गर्दा टाउको कहिल्यै पनि नदुख्ने मान्यता रहिआएको छ ।” 

संस्कृतविद् ओम धौभडेलले पुस महिनामा हुने यःमरी पुन्हीमा नेवार समुदायले चाकुको यःमरी खाने चलन छ । 

पोषणविद् डा. अरुणा उप्रेतीले चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्न सक्ने क्षमता विकास हुने जानकारी दिनुभयो । उहाँ बालबालिकादेखि बुढाबुढीलाई जाडो महिनामा चाकु खुवाउनुपर्ने सुझाव दिनुहुन्छ ।

बालबालिकालाई चिनीको साटो चाकु वा सक्खर दिन सके धेरै राम्रो हुने उहाँले बताउनुभयो । जाडो सुरु भएदेखि नै बालबालिकालाई दैनिक रूपमा चाकु खुवाउनुपर्ने सुझाव उहाँको छ । भक्तपुरका बौद्ध धर्मावलम्बीले यस दिन पञ्चबुद्ध जात्रा निकालेर चाकु दान गर्ने चलन छ ।

 यसरी बन्छ चाकु

टोखाका चाकु उत्पादक बुद्धकुमार श्रेष्ठलाई माघेसंक्रान्तिका लागि चाकुको माग धान्न भ्याइनभ्याइ छ । उहाँ भन्नुहुन्छ, “चाकु बनाउन १५ दिनअघिबाटै व्यस्त हुनु पर्छ ।” श्रेष्ठका अनुसार पहिले साधारण चाकुको मात्रै माग थियो । अहिले मसलादार र ‘स्पेसल’ चाकुको माग बढेको छ । मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ । विशेषमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइन्छ । यसले सामान्यभन्दा विशेष चाकुको मूल्य अलि महँगो हुने श्रेष्ठले जानकारी दिनुभयो ।

व्यवसायी श्रेष्ठका अनुसार कसौँडी आकारको तामाको भाँडामा सक्खर–पानी उमाल्ने र बाक्लो भएपछि त्यसलाई भाँडोमा खन्याइन्छ । चिसो हुन थालेपछि ढुङ्गाले कुट्नु पर्छ । त्यसपछि एउटा खम्बामा झुन्ड्याइएको किलामा अड्याएर सरसर तानिन्छ ।  

मगर समुदायको माघी  

आदिवासी जनजाति समुदायमध्ये सबैभन्दा ठुलो समुदाय मगरले माघेसंक्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । भाषाको हिसाबले बाह्र मगरात, अठार मगरात र काइकेई मगर भाषा बोल्ने गरिन्छ । सो समुदायले माघेसंक्रान्ति पर्वमा प्रकृति पुज्ने अवसरका रूपमा लिने गरिन्छ । प्राचीनकालमा मगर समुदायको कृषि र सिकारमा आधारित जीवनशैली थियो । त्यसैले माघी पर्वमा प्रकृतिको पूजा गरेर विशेष धुमधामका साथ मनाउने चलन रहेको बताइन्छ । 

माघ १ देखि चिसो विस्तारै हट्दै जाने भएकाले आफूलाई प्रकृतिसँग अनुकूलन गराउन भुइँमुनि फलेको कन्दमूल, सक्खरखण्ड, तरुल खाने प्रचलन मगर समुदायमा रहेको जानकारी मगर राष्ट्रिय सङ्घका नवीन रोकामगरले दिनुभयो । 

थारू समुदायको माघी 

माघीलाई थारू समुदायको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठुलो पर्वका रूपमा लिइन्छ । पुस मसान्तीमा घर घरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड–रक्सीका साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । माघीमा थारू समुदायभित्र ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुन्डिएको हुन्छ । माघीमा गाइने गीतलाई ‘धमार’ भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघेसंक्रान्तिको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ ।

प्रत्येक वर्षको माघ १ गते मनाइने यो पर्वमा गएका वर्षभरिमा गरिएका कामको समीक्षा गरिनुका साथै आगामी वर्षभरि गरिने कामका विषयमा छलफल र बाँडफाँट गर्ने गरिन्छ । विवाह भएर गएका दिदीबहिनीलाई घरमा बोलाउने, घरमा आउन नसकेको अवस्थामा बहिनीकै घरमा गएर सो कोसेली सँगसँगै आफूले सक्ने जति दक्षिणा दिने गरिन्छ ।