• ७ जेठ २०८१, सोमबार

हिमपात र वर्षा नहुँदा सुक्न थाले हिउँदे बाली

blog

वर्षा र हिमपात नहुँदा जिल्लाको छायाँनाथ रारा नगरपालिका –४ मा खेतबारीमै सुक्न थालेका हिउँदे बाली । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, पुस २९ गते । यस वर्षको हिउँदे याममा हिमपात र वर्षा नभएपछि हिउँदे बाली खेतबारीमै सुक्न थालेका छन् । हिमपात र वर्षा नहुँदा जिल्लाको बेँसीदेखि लेक क्षेत्रसम्म गरिएको हिउँदे बाली खेतबारीमै सुक्न थालेको हो । 

जिल्लाका चार पालिका छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका त्यसैगरी मुगमकार्मारोङ गाउँपालिकाका किसान आकाशेपानीको भरमा सिँचाइ गर्नुपर्ने भएकाले  सिँचाइको अभावले गहुँ, जौँ तरकारी लगायतका हिउँदे खेती खेतबारीमै सुक्न थालेको छायाँनाथ रारा नगरपालिका–२ का स्थानीय दानबहादुर हितानले बताउनुभयो । 

“यो समयमा गएका वर्षमा  वर्षा र हिमपात तीन पटकसम्म  भएको थियो, तर अहिले हिमपात भएको छैन, वर्षासमेत गत कात्तिक महिना यता भएको छैन, हिउँदेबाली खेतबारीमै सुक्न लागेका छन्” उहाँले भन्नुभयो । 

यस वर्ष मुगुमा कार्तिके बालीको फूल लाग्ने बेलामा भएको भारी वर्षाका कारण कोदो, सिमी, आलु उत्पादन घटेको अवस्थामा हिउँदेबालीको आकाशेपानीको भरमा  सिँचाइ हुन नपाउँदा  खेतमै सुक्न थालेपछि कृषक समस्यामा परेका छन् स्थानीय गोर्खबहादुर बुढाले बताउनुभयो । बुढाका अनुसार खेतमा लगाएका गहुँ, जौसँगै तरकारी खेतीमा सिँचाइ नहुँदा हामी किसान चिन्तित भएका छौँ ।

सिँचाइको अभावले र ढिला हिमपात हुँदा अन्नबालीको उब्जनी घट्ने भएकाले कृषकका लागि समयमै वर्षा र हिमपातको महत्त्व रहेको उहाँको भनाइ छ । यता कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख चन्द्रबहादुर शाहीले जिल्लाका अधिकांश जमिन आकाशेपानीको भरमा सिँचाइ गर्नुपर्ने बाध्यता भएकाले समयमै वर्षा र हिमपात नहुँदा उत्पादनमा ह्रास आउने आङ्कलन गर्नुभयो । 

कार्यालयको तथ्याङ्कअनुसार एक हजार ७८५ हेक्टर जमिनमा गहुँ ४३ हजार ७ सय ४८.५ मेट्रिक टन  उत्पादन त्यसैगरी जौ ५५ हेक्टर जमिनमा ६६ मेट्रिक टन उत्पादन भइरहेकोमा यस वर्ष भने झण्डै ३० प्रतिशत उत्पादन घट्ने सम्भावना  देखिन्छ’ कार्यालय प्रमुखले बताउनुभयो ।

शाहीका अनुसार मुगुमा २० प्रतिशत सिञ्चित जमिन छ भने ८० प्रतिशत असिञ्चित जमिन छ । त्यसमध्ये पनि आकाशे पानी तथा हिमपात नहुँदा लेकाली भेगमा ६० प्रतिशत घट्ने र तल्लो भागमा ४० प्रतिशत  घट्ने आङ्कलन गर्न सकिन्छ ।

समयमै हिउँ नपर्दा पानीका मूल सुक्ने, असिना पर्ने र त्यसले बालीनालीमा क्षति गर्ने भएकाले पनि जिल्लामा खेतीपाती गरी खाने किसान हिमपातको प्रतीक्षामा छन् । 

हिमपात नभएपछि मुगुका डाँडापाखाहरु कालापत्थर जस्तै देखिन थालेको स्थानीयको भनाइ छ । यतिबेला मुगुका हिमशृङ्खला, डाँडापाखा रारातालको मिलीछौर हिउँले सेताम्मे ढाकिनुपर्ने हिमपात नहुँदा कालापत्थर जस्तै नाङ्गिन थालेका छन् । 

पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यस वर्ष हिमपातमा ढिलाइ हुँदा हिउँ पग्लिएर हिउँको मात्रा घट्दैगएकाे छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष रूपमा पारेको स्थानीयवासीको भनाइ छ ।