• १२ साउन २०८१, शनिबार

जथाभावी फोहोर गर्ने कुकुरसहित मालिक छड्केमा

blog

काठमाडौं, पुस २७ गते । बिहान झिसमिसेमा कुकुरलाई सार्वजनिक सडक र स्थलमा फोहोर गराउने मालिकहरु कुकुरसँगै काठमाडौं महानगरपालिकाकोे फन्दामा परेका छन् । मर्निङ वाकमा निस्केका कुकुर मालिकहरुले जथाभावी सडकमा कुकुरलाई दिसापिसाब गराएर सहर प्रदूषित बनाएको हुनाले कुकुर र कुकुरमालिकलाई महानगर प्रहरीले एकाबिहानै पक्रेको हो । कुकुरमाथिको छड्के अभियान महानगरले सोमबारदेखि थालेको हो ।

काठमाडौंको धोवीखोला करिडोरमा बिहान कुकुरसँगै फेला पर्नु भएकी एक महिलाले यही नजिकै हो भनेर उम्कन खोज्नुभयो । तर हुँदैन कुकुर गाडीमा चढाउनुस् भनेर महानगर प्रहरीले भनेपछि उहाँ कुकुरसँगै गाडीमा चढ्नुभयो । अर्को कुकुर मालिकले, “कुकर पालेर के के न अपराध गरेजस्तो पक्रिएको हो, मान्छे मार्नेलाई समात्नुस न भनेर” महानगर प्रहरीलाई जवाफ फर्काउनुभयो । उहाँ जस्तै अन्य तीन जना कुकुर मालिकले पनि एक पटकलाई छाड्दिनुस् अब ल्याउँदैन भनेर बिन्ति बिसाएपनि फोहोर गरेर वातावरण प्रदूषण गराएको अभियोगमा उहाँहरु कुकुरसँगै महानगरको फन्दामा पर्नुभयो । कुकुर मालिकले कुकुर महानगरको जिम्मामा दिन नमानेपछि मालिकसँगै लैजानु गरेको महानगरले जनाएको छ ।

सडकमा कुकुर डुलाउँदा जथाभावी दिसापिसाब नगराउन बारम्बार अनुरोध गर्दा पनि त्यसमा कमि नआएपछि महानगरपालिकाले काठमाडौंका विभिन्न क्षेत्रमा छड्के हानेर कुकुरमालिकसहित कुकुरलाई पक्रन थालेको हो । महानगरका सह प्रवक्ता दिपक अधिकारीका अनुसार यसरी सहरमा घरपालुवा कुकुरबाट फोहोर नगर्न नगराउन भनिएको लामो समय भयो । उहाँले भन्नुभयो, “तर कुकुरमालिकहरुले त्यो अनुरोधलाई नटेरेपछि छड्के हानेर कुकुरसहित पक्रन परेको हो ।”

उहाँका अनुसार कसको कुकुरले सडकमा त्यसरी फोहोर गर्छ भनेर घरैपिच्छे परीक्षण गर्न सकिनेगरी कर्मचारी खटाउन सकिने अवस्था पनि रहेन ।  सडकपेटी र सार्वजनिक स्थलमा फोहोर नगराउनु भन्ने कुरा सुन्ने बिर्सने बानी पर्यो । त्यही स्मरण गराउनका लागि महानगरले झिसमिसेमै छड्के थालेको हो । त्यसरी प्रतिकात्मक रुपमा पक्राउ गरिएका चार वटा कुकुरसहितका मालिकलाई जनही एक हजार जरिवाना र आइन्दा सकडमा दिसा नगराउने नसहितमा छाडिएको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो । यसरी छड्के गर्ने जिम्मा महानगर प्रहरीलाई दिइएको छ । छड्के गरेर जरिवाना तिर्नुअघि सो गतिविधिको भिडियो बनाएर प्रसारित गरिएको छ । जसले अन्य कुकुर मालिकलाई सडक र सार्वजनिक स्थलमा फोहोर गर्न गराउनबाट सचेतना मिल्ने स्थानीयहरु बतानुहुन्छ । डुलाउन लगेका कुकुर मालिकहरुले आफ्नो घर तथा गेट अगाडि नै दिसापिसाब गराउँदा अन्य स्थानीय दिक्क रहेको बताउनुभयो । त्यसैले महानगरले थालेको कुकुरमाथिको छड्के अन्य स्थानमा पनि गर्न स्थानीयउले अनुरोध गर्न थालेका छन् ।

पहिलो पटक कुकुरसहित पक्राउ परेकाहरु दोस्रो पटक पनि पक्राउ परेमा दोब्बर जरिवाना लिइनेछ । यसरी जथाभावी फोहोर गर्ने गराउनेलाई एक लाख रुपियाँसम्म जरिवाना गराउन सकिने कानुनी प्रावधान महानगरपालिकाको रहेको छ ।