काठमाडौँ, पुस २५ गते। नेपाल रेडक्रस सोसाइटीले ७५३ पालिकामा शाखा विस्तार गर्ने भएको छ।
विपत् व्यवस्थापन, खानेपानी सरसफाइ, वातावरण र स्वास्थ्यलगायतका मानवीय क्षेत्रमा क्रियाशील रेडक्रसलाई समुदायको नजिक पुर्याउन पालिकास्तरमा विस्तार गर्न लागिएको हो। रक्तसञ्चार लगायतका विपन्न मानवीय सेवामूलक कार्यलाई थप प्रभावकारी बनाउन पालिका स्तरमै शाखा विस्तार गर्न लागिएको रेडक्रसले जनाएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सुदर्शन नेपालले भन्नुभयो, “नेपाल रेडक्रस सोसाइटीलाई हामी पालिकास्तरमा लैजाँदै छौँ। पालिकास्तरमा लगेपछि समुदायमा हुने अभियान र मानवीय सेवाका कामहरू अझ प्रभावकारी हुनेछ। नीतिगत तयारीमा हामी जुटेका छौँ।”
अध्यक्ष नेपालका अनुसार २०२० सालमा स्थापना भएको नेपाल रेडक्रस सोसाइटीको सात प्रदेश र ७७ जिल्ला शाखा रहेका छन्। देशभर एक हजार ५६४ उपशाखा र छ हजार ८३२ जुनियर युवा रेडक्रस सर्कल छन्। हालसम्म १२ लाखभन्दा बढी स्वयंसेवक परिचालित छन्।
विगत पाँच वर्षदेखि संस्था नवीकरणसमेत हुन नसकेर विवादमा अल्मलिएको रेडक्रस हाल कानुनी र वैधानिक रूपमा अघि बढिरहेको अध्यक्ष नेपालको भनाइ छ।
नवीकरण भएपछि संस्थाले नयाँ जीवन पाएको अध्यक्षको दाबी छ। कात्तिक १७ गते जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्प पीडित पाँच हजार परिवारलाई राहत वितरण, छ हजार परिवारलाई अस्थायी आवास निर्माणका लागि नगद सहयोग र चार हजार परिवारलाई बहुउद्देश्यीय नगद सहायता प्रदानलगायतको सहयोग गरिएको रेडक्रसले जनाएको छ।