• २५ वैशाख २०८१, मङ्गलबार

श्रीमानलाई विदेशबाट घर फर्काउने सरिताको ट्रिक बन्यो तरकारी खेती

blog

खेतमा फलाएको काउली बजार लैजाने तयारी गर्दै आचार्य दम्पती । तस्विरः ठाकुरप्रसाद आचार्य

‘‘मल,बिउ,मजदुर लगायत सबै खर्च कटाएर ६ देखि ८ लाख सम्म बचत हुन्छ । परिश्रम गर्न सके राम्रो आम्दानी लिन सकिन्छ । पैसा कमाउनकै लागि विदेश जानुपर्दछ भन्ने छैन’’ आचार्यले भन्नुभयो । 

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, पुस २३ गते । ‘‘गाउँघरमा विदेश जाने लहर चल्यो । मेरो श्रीमान् पनि साथीहरूको लहलहैमा लागेर विदेश जानुभयो । मैले एक्लै कृषि पेसालाई थामेँ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थाल्यो । मेरो कमाई देखेर श्रीमान् विदेशबाट गाउँ फर्किनुभयो, अहिले सँगै कृषिमा रमाएका छौँ ’’ कृषक सरिताकुमारी शर्माले भन्नुभयो । अहिले सरिता र उहाँको श्रीमान् टेकनारायण आचार्य गाउँकै उदाहरणीय कृषक हुनुहुन्छ । 

म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ सल्यानकी कृषक सरिताका श्रीमान् आचार्य कृषि पेसा छाडेर दुबई जानुभयो । त्यहाँ सात वर्ष बिताउनुभयो । विदेश गएका श्रीमानलाई गाउँ फर्किन सरिताले निरन्तर दबाब दिनुभयो । आचार्य गाउँ फर्किएर अहिले कृषिमा पेसामा रमाउनुभएको छ । आफ्नै माटोमा पसिना पोख्ने हो भने पैसा कमाउन विदेश नै जानुपर्दछ भन्ने भनाइलाई आचार्य दम्पतीले गलत साबित गरिदिएका छन् । 

बाइस वर्षदेखि निरन्तर रूपमा ताजा तरकारी उत्पादन गर्दै आएका छौँ सरिताले भन्नुभयो, ‘‘यही कृषि पेसामा दुबै जना रमाउने हो ,कमाउने पनि हो, विदेश गए पनि दुःख नै हो । त्यहाँ पनि सुख छैन । त्यसैले मैले श्रीमानलाई गाउँ फर्काएँ ।’’ अहिले दुबै जना मिलीजुली कृषि पेसा गरेका छौँ यसैमा हाम्रो परिवार सन्तुष्ट छ उहाँले भन्नुभयो । यही पेसाबाट छोराछोरीलाई सहर बजारका राम्रा कलेजहरूमा पढाएको उहाँले बताउनुभयो । 

धेरै पैसा कमाउने लोभमा कृषि पेसालाई छाडेर विदेश पुगेको थिएँ, कृषक आचार्यले भन्नुभयो, ‘‘ अर्काको मुलुकमा श्रमको सम्मान नहुने रहेछ । विदेशमा गर्ने परिश्रम आफ्नै गाउँघरमा गर्नुपर्दछ भनेर फर्किए । त्यहाँ बस्न मनले मानेन । अहिले कृषि पेसाबाट राम्रो कमाई हुनुका साथै सम्मान पनि मिलेको छ ।’’ दुःखसुख  परिवारसँगै बस्न पाएका छौँ तरकारी बिक्री गरेर कमाई पनि राम्रो भएको छ आचार्यले भन्नुभयो । 

आचार्य दम्पतीले  सल्यानको फाँटमा तरकारी खेती गर्नका लागि दश रोपनी जमिन वार्षिक रूपमा पैसा बुझाउने गरी भाडामा लिनुभएको छ । भाडाको जमिन र आफ्नो गरी करिब १५ रोपनी क्षेत्रफल भएको खेतमा काउली, ब्रोकाउली, आलु र गोलभेँडा लगाउनुभएको छ । 

५ रोपनी खेतमा लगाएको काउली बिक्री गर्ने भएको छ । काउली टिपेर बजार लैजान आचार्य दम्पतीलाई यतिखेर भ्याईनभ्याइ छ । काउलीको बजारमा अहिले ४० देखि पचास रुपियाँ प्रतिकेजीमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । काउली बिक्री गरिसकेपछि बन्दा, गोलभेँडा र आलु बिक्रीका लागि तयार हुने उहाँको भनाइ छ । 

गाउँ फर्किएपछि पनि निरन्तर रूपमा १२ वर्षदेखि  तरकारी गरेको बताउने आचार्यले  वार्षिक रूपमा १२ देखि १५ लाख रुपियाँसम्मको तरकारी बिक्री गर्ने बताउनुभयो । ‘‘मल, बिउ, मजदुरलगायत सबै खर्च कटाएर ६ देखि ८ लाखसम्म बचत हुन्छ । परिश्रम गर्न सके राम्रो आम्दानी लिन सकिन्छ । पैसा कमाउनकै लागि विदेश जानुपर्दछ भन्ने छैन’’ आचार्यले भन्नुभयो । 

उत्पादित तरकारी बेनी, बागलुङ र पोखरासम्म पनि पुर्‍याउने गरेको उहाँले बताउनुभयो  । कृषि ज्ञान केन्द्रबाट कृषि औजारहरू अनुदानमा प्राप्त गरेकाले कृषि पेसालाई यान्त्रीकरण र आधुनिक बनाउन सहज भएको उहाँको भनाइ छ । कृषिलाई  प्राथमिकता दिएर स्थानीय तहले व्यावसायिक कृषि पेसा अपनाउने किसानलाई तालिम, कृषि औजार र कृषि पेसालाई आधुनिकीकरण गर्न सहयोग गर्नुपर्ने आचार्यको सुझाव छ ।