• २० वैशाख २०८१, बिहिबार

चिसो बढेपछि घाम ताप्दै चौरमा पढाइ

blog

लिङ्खिमको सिँवा माध्यमिक विद्यालयमा जाडो छल्न चौरमा पठनपाठन गरिँदै । तस्बिर: चन्द्र पन्दाक

ताप्लेजुङ, पुस २२ गते । चिसो बढेपछि हिमाली जिल्ला ताप्लेजुङमा विद्यार्थीहरू घाम ताप्दै चौरमा बसेर पढ्न थालेका छन् । अत्यधिक चिसो बढेपछि विद्यालयको खुला चौरमा घाम तापेर विद्यार्थीहरू अध्ययन गर्न थालेका हुन् ।

हिउँद यामको जाडोका कारण कक्षा कोठाभित्र चिसो हुने भएपछि विद्यार्थीहरू बाहिर चौरमा बसेर घाम ताप्दै पढ्न बाध्य भएका हुन् । शिक्षकहरू पनि चिसो अत्यधिक बढेकाले कक्षा कोठाभित्र पठनपाठन सञ्चालन गर्न निकै कठिन हुने गरेको बताउँछन् । घाम लागेको समयमा विद्यालयको खुला चौरमा पढाइ सञ्चालन गर्दा आनन्दसँग विद्यार्थीले पढ्न पाउने र शिक्षकलाई पढाउन पनि सहज हुने गरेको शिक्षकको भनाइ छ ।

कक्षा कोठाभित्र चिसोले पढ्न गाह्रो हुने भएकाले र बाहिर चौरमा बसेर घाम ताप्दै पढ्न थालेको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमस्थित सिँवा माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्र सागर चौलागाईंले बताउनुभयो । चौरमा बसेर घाम ताप्दै पढ्न पाउँदा चिसोको कुनै वास्ता नहुने गरेको उहाँले बताउनुभयो । 

चिसोका कारण विद्यार्थीको ध्यान पढाइतर्फभन्दा पनि जाडोमा कसरी बच्ने वा जोगिने भन्नेतर्फ गएको पाइएपछि घाम ताप्दै पढ्न र पढाउन बाध्य हुनुपरेको सिँवा माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतमले बताउनुभयो । प्रधानाध्यापक गौतमले खुला चौरमा घाम ताप्दै पठनपाठन गर्दा कक्षा कोठामा जस्तो प्रभावकारी भने नहुने बताउनुभयो । एकान्त वातावरण भएको ठाउँमा भन्दा बजार क्षेत्रका विद्यालयमा बाहिर चौरमा पठनपाठन सञ्चालन गरेमा त्यो प्रभावकारी नहुने उहाँको भनाइ छ ।

यस्तै चिसोले गर्दा कक्षा कोठाभित्र बालबालिका राखेर पठनपाठन गर्न निकै सकस हुने भएपछि बेलाबखत बाहिर चौरमा विद्यार्थी राखेर पठाउने गरिएको सिदिङ्वा गाउँपालिका–४ को सिंहदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक टेकबहादुर महतले बताउनुभयो । उहाँका अनुसार अहिलेको जाडो मौसममा चौरमा घाम ताप्दै पढ्न पाउँदा बालबालिकाहरू पनि खुसी हुने गरेका छन् 

यता जिल्लाका अधिकांश विद्यालय संरचनाहरू जस्तापाताले छाएको, र चिसो भुईँ भएकाले हिजोआजको मौसममा अत्यधिक चिसो हुने गरेको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन् । चिसोकै कारण कतिपय बालबालिका विद्यालय नै आउन छाडेका पनि विद्यालय स्रोतले जनाएका छन् । त्यस्तै चिसो बढेपछि हिमाली भेगका विद्यालयमा हिउँदे बिदा पनि दिन थालिएको छ । 

हिमाली क्षेत्रका विद्यालयहरूमा यसअघि नै जाडोको बिदा दिइएको छ । त्यस्तै चिसोकै कारण सदरमुकाम फुङ्लिङस्थित पाथीभरा बहुमुखी क्याम्पसले पनि आइतबार आजदेखि माघ १ गतेसम्मका लागि हिउँदे अर्थात् जाडो बिदा दिइएको क्याम्पस प्रमुख सजन पौडेलले जानकारी दिनुभयो ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।