• १४ असार २०८१, शुक्रबार

वार्षिक कार्ययोजना पारित गर्दै उपत्यका विशेष बैठक सम्पन्न

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २१ गते । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको प्रथम बैठक सम्पन्न भएको छ । पार्टीका पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यको प्रमुख आतिथ्य र विशेष प्रदेश कमिटी अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । 

बैठकले प्रदेश कमिटीमा १२ जना सदस्य मनोनीत गरेको छ । पदाधिकारी, विभाग प्रमुख र जिल्ला इन्चार्जसमेत गरी १७ सदस्यीय सचिवालय र सल्लाहकार परिषद् पनि गठन गरेको छ । त्यसैगरी बैठकले वार्षिक कार्ययोजना पारित गरेको छ । प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको कार्य विभाजन पनि गरेको छ । यस क्रममा नौवटा विभाग गठन  गर्नुका साथै एउटा कार्यदल बनाएको छ । 

वार्षिक कार्ययोजना अन्तर्गत जिल्ला कमिटी र इलाका कमिटीका अधिवेशनहरू सम्पन्न गर्ने, प्रदेश र इलाका स्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, मासिकरूपमा अन्तर्क्रिया आयोजना गर्ने लगायत छन् । बैठकले विभिन्न समसामयिक प्रस्तावहरू पारित गर्दै निजामती सेवा ऐन तत्काल जारी गर्न माग गरेको छ । ललितपुरको बालकुमारीमा दुई युवकको ज्यान जानेगरी राज्य पक्षबाट भएको गोली प्रहारको निन्दा र भर्त्सना गरेको छ । बैठकले राज्यलाई हानी नोक्सानी गर्नेगरी भएको भनिएको एनसेल विक्री प्रकरणको  पनि विरोध गरेको छ ।  

बैठकमा पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यले कमिटीको कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिनुभयो । इन्चार्ज शाक्यले उपत्यकामा विभिन्न पेसा व्यवसायमा रहेका पार्टी सदस्यहरूको कमिटी विशेष प्रदेश कमिटीको मिसन–२०८४ सफल पार्न विशेष भूमिका हुनेतर्फ ध्यानाकर्षण गराउनुभएको थियो । 

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी इन्चार्जहरू बिना श्रेष्ठ, गोविन्द दुवाल, सीता लामा र बालिका गिरी अतिथिका रूपमा उपस्थिति रहेको बैठकमा प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले प्रदेश कमिटीमा मनोनयन, सदस्यहरूको कार्य विभाजनलगायत छलफलका विषय सूचि प्रस्तुत गर्नुभएको थियो । सचिव मिलन धरेलले बैठक सञ्चालनका साथै सांगठानिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । 

त्यसैगरी उपाध्यक्ष विदुर कार्कीले प्रदेश कमिटीको प्रथम अधिवेशनको समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपसचिव उर्मिला सुनुवारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपत्यका विशेष प्रदेश कमिटीले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पका पीडितहरूको उद्धार, अस्थायी आवास निर्माणलगायत सहयोगका लागि पार्टी केन्द्रले खटाएको स्वयंसेवक टोलीमा आफ्नो सहभागिता जनाएको थियो । सो अनुसार जाजरकोटमा गएको टोलीले जाजरकोटको अति दुर्गम र दलितवस्ती रहेको नलगाड र जिउरीमा ८७ वटा घरटहरा (जस्तापाता प्रयोग गरी) निर्माण गरी भूकम्प पीडितहरूलाई हस्तान्तरण गरेको थियो ।

बैठकमा उपत्यकाको तर्फबाट स्वयंसेवक टोलीको संयोजन गर्नुभएका प्रकाश भट्टराईले जाजरकोटमा स्वयंसेवक परिचालनको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी पार्टीले गत २०८० मङ्सिर १४ गतेदेखि पुस १ गतेसम्म पुष्पलाल मध्यपहाडी लोकमार्गमा सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रामा उपत्यका विशेष प्रदेशको उत्साहजनक सहभागिता रहेको थियो । उपत्यका विशेष प्रदेश कमिटीले केन्द्रले तोकेको बाग्मती प्रदेशअन्तर्गत नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र ओखलढुङ्गाको हर्कपुरसम्म सहभागिता जनाएको थियो । स्वयंसेवकको रूपमा झुलाघाटदेखि चिवाभञ्ज्याङ्सम्मै महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएका उपसचिव जितेन्द्र श्रेष्ठले बैठकमा समृद्धि यात्रा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।