• ११ मंसिर २०८१, मङ्गलबार

सुन्दर सहरमा घरबारविहीन

blog

अङ्ग्रेजीमा ‘मेरो नाम साइमन हो’ भन्दै एक्कासि एक जवान केटो हात अगाडि बढाउँदै मेरो अगाडि उभियो । मैले पनि नआएको हाँसो सोहोरेर ओठमा ल्याएँ र ‘हाई’, भनेँ । कताबाट हो, पसिनाको गन्ध आइरहेको थियो । मैले उसको ज्यानतिर हेरेँ, पहिरन अस्तव्यस्त थियो । उसको हातमा चुरोट सल्किरहेको थियो । उसले मुस्कुराउँदै सोध्यो, ‘तिम्रो नाम के हो ?’ मैले भनेँ, ‘बसन्ती’ । 

ऊ अकमक्क परेको मैले थाहा पाएँ । सायद मेरो नाम उच्चारण गर्न उसलाई गाह्रो भयो वा मैले बोलेको बुझेन । मैले फेरि तुरुन्तै मेरो नामलाई छोटो पारेर भनेँ, ‘बसु’ । ‘बसु, कति राम्रो नाम,’ भन्दै ऊ हाँस्यो । हातको सल्किरहेको चुरोट तान्यो र फेरि सोध्यो, ‘कहाँबाट आएको ?’ मैले भनेँ, ‘नेपालबाट, तिमीलाई नेपाल थाहा छ ?’ यति भन्दै म उसलाई नियाल्दै थिएँ । उसले सोधी हाल्यो, ‘कति भयो यहाँ आएको ?’ ऊ सोध्दै गयो । म भन्दै गएँ । सायद ऊ खुसी भयो होला । खुसी नै देखिन्थ्यो । मैले सोधेँ, ‘तिमी कहाँबाट आएको ?’ उत्तरमा उसले भन्यो, ‘म सान फ्रान्सिस्कोकै हुँ तर मेरो घर छैन । घरबारविहीन मानिस हुँ म ।’ 

म सान फ्रान्सिस्कोका सुन्दर बाटामा होमलेस (घरबारविहीन) हरू देखेर चकित परेकी थिएँ । सहरको सौन्दर्य नै यिनीहरूले कुरुप बनाई रहेको देखेँ । मेरो मनमा धेरै किसिमका प्रश्नको कैयौँ पटक उठान भयो । विश्वको नम्बर एक देशमा पनि होमलेस ? यो कसरी सम्भव भयो ? गरिब मुलुकका धनी मानिसहरू आएर लुक्ने देश हो यो । अर्काे मुलुकबाट यहाँ आएर झन् धनी बन्छन् उनीहरू तर यहाँकै मानिस होमलेस भएर हिँडेको देखेर मन कुँडियो । 

विश्वका दस सहरभित्र पर्छ, अमेरिकाको सान फ्रान्सिस्को । यो सहर सन् १७७६ जुन २९ मा पत्ता लागेको भनाइ छ । यस अनुसार यो सहर दुई सय सतचालीस वर्षको भयो । समुद्री व्यापारको केन्द्रको रूपमा यसको विकास भएको पाइन्छ । यहाँ ठुलो प्राकृतिक बन्दरगाह छ । यो सहर बन्दरगाहको प्रवेशद्वारमै फैलिएको छ । सान फ्रान्सिस्को सहर मात्रै नभएर सहर र काउन्टी दुवै हो । यो सहरमा सुरुमा युरोपेली र अमेरिकीहरूको मात्र पातलो बस्ती थियो रे । सन् १८४९ पछि यो सहरको आर्थिक उन्नतिले फड्को मारेको पाइन्छ । त्यसपछि यो सहर व्यावसायिक र नौसेनाको साथै वित्तीय केन्द्र बन्यो । सन् १९०६ मा सान फ्रान्सिस्कोमा ठुलो भुइँचालो गयो । त्यसपछि आगलागी भयो । यसले गर्दा सान फ्रान्सिस्को सहर ध्यस्त भयो तर चाँडै पुनर्निर्माण गरियो । पहिलेको भन्दा राम्रो र बलियो संरचना । अहिले यो सहर २० औँ शताब्दीको प्रमुख व्यापारिक सहरको रूपमा विस्तार भएको छ । विज्ञहरू भन्छन्– अबका दिनमा सान फ्रान्सिस्कोमा निकै शक्तिशाली भूकम्प आयो भने पनि यहाँका भवनहरूमा क्षति पुग्ने छैन तर घरका सिसाहरू फुटेर भुइँमा खसे भने त्यसलाई व्यवस्थापन गर्न गाह्रो हुने छ । 

यो  सहरवित्त र प्रविधिका लागि पनि महत्वपूर्ण केन्द्र मानिन्छ । यहाँ आवासको उच्च माग र सीमित उपलब्धताले गर्दा यो  सहर अमेरिकाको सबैभन्दा महँगो ठाउँहरूमध्ये एक मानिन्छ । विश्वको वित्तीय अवस्थामा यो सहर १६ औँ स्थानमा पर्छ । यति मात्रै होइन, यहाँ त होमलेसहरू पनि थुपै्र बस्ने रहेछन् । यस्तो विकसित ठाउँमा पनि यस्ता होमलेस कसरी भए होलान् ? कसरी यिनीहरूको उत्पत्ति भयो होला । मेरो मनमा यहाँका होमलेसलाई देखेर बारबार यही प्रश्न उब्जियो । गेरी, ट्रक र ओफरेलतिर त सडकैभरि होमलेस । युनियन स्क्वायरतिर पनि धेरै होमलेसहरू बस्ने रहेछन् । तिनलाई जहाँ पायो त्यहीँ दिसापिसाब गर्न, फोहोर गर्न, ठुलो स्वरमा गीत गाउन र बजाउन छुट छ । यतिसम्म सरकारको निर्देशन छ रे, “कसैले चोरी ग¥यो भने प्रतिकार नगर, बरु आफू सुरक्षित बस ।”

यहाँका होमलेसहरू बस्नका लागि आवासको व्यवस्था पनि गरिएको रहेछ तर आवासमा बस्न मान्दैनन् । बाटोमा बस्नु, हल्ला गर्नु, फोहोर गर्नु, उनीहरूको अधिकार भित्र पर्छ । बोल्ने कुरामा पनि उनीहरू नियन्त्रित हुन सक्दैनन् । गफ गर्ने मानिस भेटे भने उनीहरू घण्टौँ गफ गर्न पनि तयार हुन्छन् । बाटोमा हिँड्ने कमजोर मान्छेलाई जिस्क्याउन र तर्साउन पनि उनीहरू पछि पर्दैनन् । उनीहरूसँग कुकुर हुन्छ । कसैसँग त दुईटा पनि ।

प्रतिमहिना यहाँको सरकारले प्रतिहोमलेसका लागि एक हजार छ सय डलर दिन्छ । कुकुरका लागि पनि छुट्टै पैसा दिन्छ । पूर्ण रूपमा स्वास्थ्य उपचार गरिदिएको छ । जस्तोसुकै रोग लागे पनि निको नहुन्जेलसम्म औषधी गरी दिन्छ । यो पनि सहरमा होमलेस आकर्षित गर्ने बाटो मानेँ । गाँजा तान्न पाइने यो सहरमा प्रायः सबै होमलेस गाँजाका पारखी जस्ता नै देखिन्छन् । सबैको हातमा चुरोट छ । खुलमखुला लागुऔषधी खाइरहेका छन् भने कोही त अचेत अवस्थामा पल्टेका छन् । लागुऔषधीको उपलब्धता अलि बढी नै भएर होला होमलेसहरू यो ठाउँमा बढी आकर्षित भएका होलान् । 

यहाँ उमेर अनुसार होमलेसहरूको वर्गीकरण गर्दा १८ देखि २४ वर्ष उमेर समूहका १८ प्रतिशत, २५ देखि ३० वर्ष उमेर समूहका आठ प्रतिशत, ३१ देखि ४० वर्षका १८ प्रतिशत, ४१ देखि ५० वर्षका २२ प्रतिशत र ५१ देखि ६० वर्ष उमेर समूहका २५ प्रतिशत छन् । साठीदेखि माथिका पनि दस प्रतिशत छन् । प्रत्येक दिन एक न एक जना यस्ता मानिसको मृत्यु भइरहेको हुन्छ । सङ्ख्याको हिसाबले यहाँ सात हजार ७५४ जना होमलेस छन् । तीमध्ये तीन हजार ३५७ जना सेल्टरमा बस्छन् । यो भनेको होमलेसहरूको सङ्ख्याको ३.५ प्रतिशत हो । हुन त लसएन्जलस र न्युयोर्क पनि सबभन्दा धेरै होमलेस बस्ने सहरमा पर्छन् । 

होमलेसहरू यहाँको राजनीतिक दलका भोटर बैङ्क पनि हुन् । यिनीहरूको एकमुष्ठ भोट जुन पार्टीलाई गयो उसको जित सुनिश्चित हुने रहेछ । त्यसैले होमलेसहरूलाई हटाउन यहाँका राजनीतिक दल नै राजी नभएको जस्तो लाग्यो । अहिले सान फ्रान्सिस्कोको मेयर लण्डल ब्रिड भन्ने महिला छिन् । उनी यो  सहर (काउन्टी) की ४५ औँ मेयर हुन् । उनी पहिलो अफ्रिकी–अमेरिकी महिला मेयर हुन् । उनी काउन्टीकी आशाकी केन्द्र पनि हुन् । 

यहाँ होमलेसहरूको जनसङ्ख्या धेरै हुनुको मुख्य कारण आवास धेरै नै महँगो भएकाले हो । एक बेडरुम युनिटको प्रति महिनाको भाडा दुई हजार दुई सय डलर पर्न जान्छ । यो भाडा कमाइभन्दा माथिको हो । सानो आम्दानी भएकाहरूले यो रकम बेहोर्न सक्दैन । जनसङ्ख्या विस्तार, स्थिर ज्याला, बेरोजगारी, आवासको उच्च माग जस्ता कारणले नै घरवारविहीनको सङ्ख्या बढेको पाइन्छ । विश्वमा आएको आर्थिक मन्दीले पनि यो समस्या थप बल्झाएको छ । जहाँ पनि गरिबी नै घरवारविहीनताको मूल कारण हो । 

साइमन पनि यही गरिबीको चपेटाले थिचिएको होला सायद तर उसका हातपाखुरा काम गर्न सक्ने तन्दुरुस्त थिए । पढेको पनि हुँदो हो । त्यहीँको स्थानीय भएपछि त झन् के चाहियो र ? गफिँदा गफिँंदै उसको औँलामा च्यापेको चुरोट सकियो । उसले त्यहीँ फाल्यो, अनि भन्यो, “तिमी मसँग साथी बन्न सक्छौ ?” 

  

Author

बसन्ती शाही